जुवा विरुद्ध उत्रियो प्रहरी , कारवाहीका डरले रोकिएन जुवा

देबेन्द्र पौडेल / नेपालगन्ज :
जिल्ला प्रहरी कार्यालय बाँकेले यसपटक जुवा विरुद्ध विगतमा भन्दा कडाई गर्यो । दशैंका बेला पर्व लक्षित सुरक्षा कार्यक्रम सार्वजनिक गर्दा नै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले हारजितका रुपमा जुवा खेल्ने कार्य नियन्त्रणका लागि निगरानी बढाउने बताएका थिए । दशैंमा मात्रै बाँके प्रहरीले पाँच वटा जुवा खाल फेला पारेको थियो । बाँके प्रहरी प्रवक्ता, डिएसपी शिव बहादुर सिंहका अनुसार, जुवा खाल खोज्न साधा पोशाकमा प्रहरी परिचालन गरिएको थियो ।

प्रहरी कडाईका वावजुत लुकिछिपी हुने जुवा भने रोकिएन । बुधबार मात्रै बाँके प्रहरीले नेपालगन्जको सोनारमण्डीमा छापा मारेर ८ जनालाई तास खेलिरहेको अवस्थाबाट नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता सिंहले उनीहरुबाट ६७ हजार रुपैयाँ बरामद गरेको जानकारी दिएका छन् । ‘नियन्त्रणमा परेकाहरु विरुद्ध अनुसन्धान गरी मुद्दा दायर हुनेछ’, उनले भने ।

इलाका प्रहरी कार्यालय कोहलपुरले दशंैमा तीन वटा जुवा खाल फेला पारेको थियो । तिहारको अवधीमा थप दुई ठाउँबाट जुवाडे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।

इप्रका कोहलपुरका अनुसार, गत सोमबार ९ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गर्यो । कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेण्टल अस्पताल रहेको भवनको तेस्रो तलामा जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अछाम, कोहलपुर र नेपालगन्जका उनीहरुलाई ३ लाख ३९ हजार ४ सय ५० नगदसहित नियन्त्रणमा लियो ।

तिहारको टिकाका दिन पनि इप्रका कोहलपुरले ८ जना जुवाडीलाई रंगेहात पक्राउ गर्यो । बैजनाथ गाउँपालिका वडा नं. ४ मा जुवा खेलिरहेको थाहा पाएपछि प्रहरीले घेरा हालेर उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुसँग ६६ हजार २ सय ६५ रुपैयाँ समेत प्रहरीले बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसी हेम बहादुर शाहीले नियन्त्रणमा लिइएकाहरुलाई कानुन बमोजिम कारवाही गर्ने बताएका छन् ।

प्रहरीले ठूला जुवा खालमा भेटिएकालाई पक्राउ गरेर मुद्दा दायर गर्ने गरेको छ । स–सानो समूहमा सानो परिणाममा जुवा खेलेको भेटे सम्झाएर छाड्ने गरेको छ । कतिपय ठाउँमा प्रहरीको गस्ती देख्ने बित्तिकै पनि जुवाडीहरु भाग्ने गरेका छन् । यसअघि नगर बाहिर भित्री गाउँहरुमा खुलेआम जुवा खेल्ने गरेको भएपनि यसपटक भने त्यसमा कमी आएको छ । खोरखोडे जस्ता जुवा सडक छेउमै खेलाइने गरेपछि यसबर्ष प्रहरी कडाईका कारण कमी आएको छ ।

बाँके प्रहरी प्रवक्ता डिएसपी सिंहले मनोरञ्जनकै नाममा भएपछि हारजित हुने गरी जुवा खेल्नेहरु कारवाहीको दायरामा आउने बताएका छन् । जुवा खालमा भेटिएकाहरुलाई मुद्दा चले जरिवाना र कैदसम्मको सजाय हुने व्यवस्था छ । अधिवक्ता लोक बहादुर शाहले मुलुकी अपराध संहिता २०७४ को दफा १२५ बमोजिम जुवाका लागि कानुनले दुई प्रकारको सजाय तोकेको बताउँछन् । ‘पहिलो पटकमा ३ महिनासम्म कैद वा १० हजारसम्म जरिवाना र दोस्रो पटकमा १ बर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुनसक्छ’, अधिवक्ता शाहले भने ।

प्रतिक्रिया

प्रतिक्रिया