अमर सुनार
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दैलेखका पार्टी अध्यक्ष रबिन्द्रराज शर्मा र सचिव प्रेमबहादुर कटुवालले एकलकाटे निर्णयबाट स्थानीय तहका पार्टी कमिटी गठन गरेको भन्दै असन्तुष्ट समूहले शनिवार समान्तर कमिटी गठन गरिएको छ ।
पार्टी एकीकरण अघि पूर्व एमाले र पूर्व एमाओवादीका तत्तत् कमिटीका प्रमुखहरुलाई पालिका संख्यामा समानताको आधारमा अध्यक्ष र सचिवको जिम्मेवारी दिने बाँकी सबैलाई सदस्यमा राख्नुपर्नेमा अध्यक्ष र सचिवले आफूखुशी नामावली तयार पारेको असन्तुष्ट पक्षको आरोप छ ।
जिल्ला कमिटीको निर्णयबाट गर्नुपर्ने विधि र प्रक्रिया पूरा नगरेको भन्दै कात्तिक ५ गते घोषणा र पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा जिल्लामा भएर पनि दुई जना पार्टी सदस्य, १५ जना प्रदेश कमिटी सदस्यहरु समेत अनुपस्थित हुनुहुन्थ्यो ।

‘अध्यक्ष र सचिवको रबैया र बलमिच्याईंको अहिले बिरोध नगरे उहाँहरुले पार्टी ध्वस्त गराउन सक्ने भएकोले बिरोधको कार्यक्रम गर्नु परेको हो’ असन्तुष्ट समूहका नेता प्रेमबहादुर बुढा टिप्पणी गरे । नेकपाका जिल्ला नेता छबि सुवेदी नेतृत्वले पार्टी नीति ठीक ढंगले लिन सके मात्र जनताको हितमा काम गर्न सकिने बताए ।
पार्टी केन्द्रले बनाएको अपानि मिचेर जिल्ला कमिटीमा रहेका व्यक्तिलाई जिम्मेवारी दिइएको गलत कार्यको असन्तुष्ट समूहले विरोध गरेको नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य टेकबहादुर खाँडले प्रष्ट्याए ।
नेकपाका कर्णाली प्रदेश कमिटीका अर्का सदस्य एवं प्रतिनिधिसभा सदस्य पार्वती बिशुन्केले पार्टी जिल्ला नेतृत्वले स्वच्छिक तरिकाबाट जिम्मेवारी दिइएका व्यक्तिको बिरोध नभई प्रक्रियाको मात्र बिरोध गरिएको बताइन् ।

जिल्ला कमिटी बनाउदाको विवाद नसुल्झिंदै स्थानीय तहको घोषणा गरिएको भन्दै अव जिल्ला कमिटी र स्थानीय तहका कमिटी सबैको सहमतीमा गठन गर्न सहयोग पु¥याइदिन पार्टी केन्द्रीय कमिटीलाई अनुरोध गरी पठाइएको नेकपाका कर्णाली प्रदेश कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले जानकारी दिए ।
कात्तिक ५ गते भएको स्थानीय तह कमिटी घोषणा कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रबिन्द्रराज शर्माले नयाँ घोषित कमिटीको आफूहरु मेरुदण्ड बनेर उभिन तर्क राखेका थिए ।
शनिवार पनि ११ स्थानीय तह, ४ प्रदेश क्षेत्र र २ संघीय निर्वाचन क्षेत्रका छुट्टै कमिटी घोषणा गरिएको बिषयलाई लिएर स्थानीय तहमा यसअघि घोषित गरिएको वा असन्तुष्ट समूहले घोषणा गरेका कुन कमिटी बैद्यता हुने भन्ने बारे अन्यौल सिर्जना भएको छ ।
५ गतेको कार्यक्रमको तुलनामा शनिवार पार्टी कार्यालयमै समानान्तर कमिटी घोषणा कार्यक्रममा पार्टी कार्यकर्ताको बाक्लो उपस्थिति थियो । माधव नेपाल समूहका नेताहरुको सहभागिता रहेको यो समूहमा पूर्व एमाओवादीका नेताहरुको पनि समर्थन छ ।
पूर्व एमाले र पूर्व एमाओवादीबाट १ सय ४५ सदस्यीय जिल्ला कमिटी नामावली तयार पार्दा पार्टी अध्यक्ष शर्माले मापदण्ड नपुगेको व्यक्तिहरुको नाम गएको जेठमा जिल्ला कमिटीमा राखेको विवादले ४ महिनापछि ७ जनाको नाम हटाउन लगाएर बाँकी सदस्यहरुको भदौ पहिलो साता सपथ भएको थियो ।
जिल्ला कमिटी विस्तारमा अध्यक्ष शर्माले आफूखुशी गरेको भन्दै उनी सम्वद्ध केपी समूहका नेता समेत असन्तुष्ट भएको बेला सचिव प्रेम कटुवालले पूर्व एमाओवादीलाई विवादमा नपार्न दिएको दवाव र कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरख बोगटीको पहलमा विवाद सुल्झिएको थियो ।
त्यतिबेला शान्ति शर्मा, यामनारायण उपाध्याय, नरेन्द्र शाही, रबिन्द्र शाही, चन्द्रप्रसाद दाहाल, शेरबहादुर रावत र रामचन्द्र शर्मालाई त्यतिबेला जिल्ला कमिटी सदस्य पदमा सपथ ग्रहण रोक्ने लिखित निर्णयपछि भदौ ७ गते बाँकी सदस्यहरुको सपथ भएको थियो ।
जिल्ला कमिटी गठनमा हस्तक्षेप बिरुद्ध त्यतिबेला अन्तरसंघर्षमा उत्रिएको कर्णाली प्रदेश कमिटीका सदस्य अम्मरबहादुर थापाका साथमा त्यो बेलाको तुलनामा अहिले स्थानीय तह कमिटीको नामावली घोषणा विवादमा समर्थक संख्या ह्वात्तै बढेको छ ।