चलखेल गर्दै आयातकर्ता, कारबाहीको माग

नेपालगन्ज – बाँकेको खजुरा – ३ बी गाउँका युवा किसान भोजेन्द्र बस्नेत धान स्याहार्न व्यस्त रहँदा नजिकैकी किसान ललीता वली छाक टार्ने तनावमा भावविव्हल भेटिइन् । १ सय २५ दिनमा पाक्ने र राम्रो आम्दानी हुने आशमा लगाएको धान बालानै नलागी काट्ने अवस्था आएपछि वली तनावमा परेकी हुन् ।


नेपालगन्ज र खजुराका विभिन्न भेटनरीबाट प्रति केजी ३ सय ३० मा खरिद गरेर ६ कठ्ठामा लगाएको गरिमा ब्राण्डको शंकर धान १ सय ५२ दिनमा पनि बाला नलागे पछि आफैपनि हरियो वालीमा ट्याक्टर चलाएका प्रदेशसभा सदस्य आइपी खरेलले भने, ‘भक्कानिएर रुने अवस्थामा भेटिन्छन् किसानहरु ।’


प्रदेशसभा सदस्य खरेलले आफुले लगाएको धानवाली अस्वाभाविक अवस्थामा देखिएपछि कृषि ज्ञान केन्द्र नेपालगन्जका कृषि प्राबिधिकहरुलाई पनि बोलाएर धान खेत देखाए । कृषि प्राविधिकहरुले धानको बिउ नक्कली भएको बाला नलाग्ने बताए पछि १ सय ५२ दिन पछि धान मासेर तोरी छरेका हुन् । ‘उहाँले ट्याक्टर लगाएपछि हामी झस्कियौं,’ एकै दिनजसो धान लगाएका अर्का स्थानीय अगुवा किसान कर्णबहादुर मल्लले दैनिक नेपालगन्जसँग भने, ‘१६० दिन भयो बाला देखापरेको छ तर रसविहीन भएकाले धान लाग्ने अवस्था छैन ।’


बिउ बिक्री कम्पनी, क्वारेन्टाइन कार्यालयको मिलेमतोमा बाँके र बर्दियाका किसानहरुलाई नक्कली धानको बिउ बितरण गरेर ठगि गरिएको हुनसक्ने भन्दै प्रदेश सभा सदस्य खरेलले छानबिन गरेर दोषी माथी कारबाही र किसानहरुलाई क्षतिपूर्ति दिने ब्यबस्था मिलाउन माग गरेका छन् । ‘उत्पादनका आधारमा किसानलाई क्षतिपूति दिनुको विकल्प छैन,’ खरेलले दैनिक नेपालगन्जसँग भने, ‘प्रदेश र संघीय सरकार समक्ष यसबारे आवाज पु¥याएको छु ।’ नेपाल सरकारले सूचीकृत गरि आयात इजाजत दिएको बिउ भएकाले सरकारी निकाय यसमा जिम्मेवार हुनुपर्ने खरेलको भनाइ छ । गरिमा २०७२ सालमा नेपाल सरकारले सूचिकृत गरेको धानको बिउ हो । गरिमा धान करीव ९० देखि ९५ दिन भित्र पसाएर १ सय २५ दिनमा तयार हुनु पर्ने हो तर बाँके खजुराका कतिपय किसानका खेतमा बाला नलागेपछि समस्या बाहिर आएको हो । ‘१० कठ्ठामा लगाएको धानमा एक दाना लागेन,’ गतवर्ष २० क्वीन्टल धान भित्र्याएको सम्झँदै स्थानीय किसान कौशिल्ला चन्दले खेतमा धानवाली देखाउँदै दैनिक नेपालगन्जसँग भनिन्, ‘धान लगाएको १ सय ६० दिनमा धानको वाला देखापरेपनि भित्र फोस्रो छ ।’


गरिमा छाडेर गोरखनाथ धान लगाएका बस्नेतले अघिल्ला वर्ष समस्या नदेखिएको बताए । ‘यही वर्षपनि पहिलो लटका गरिमा धान रोपेको खेतमा वाला लागेको छ,’ मल्लले पछिल्लो पटक ल्याइएको बिउमा समस्या देखिएको पीडा सुनाउँदै भने, ‘गरिमाका नाममा नक्कली बिउ बेचिएको हुनुपर्छ ।’


संगै जोडिएको खेतमा दुई साता पछाडि रोपेको धान पाकेर छिमेकीहरुले काटेर धान खेतमा तोरी छर्ने तयारी गर्दा समेत धानमा बाला नलागे पछि गरिमा धान रोपेका किसानहरु रुनु न हाँस्नुको अबस्थामा पुगेका छन् । मल्ल र चन्दका छिमेकी चन्द्र बहादुर बस्नेत आफुले भन्दा पहिले रोपेको धानमा अहिले सम्म बाला नलागेको देखेर अचम्ममा परेका छन् । बस्नेतले अनाहकमा किसानले दुख पाएको बताए ।


बाँके, बर्दिया र दाङमा किसानले रोपेको गरिमा जातको धानमा दाना नलागे पछि प्रदेश ५ सरकारी कि कृषि मन्त्री आरती पौडेलले बर्दियाको राजापुर पुगेर गरिमा धान रोपेको क्षेत्रको स्थलगत भ्रमण गरिन् । भ्रमण पछि मन्त्री पौडेलले बाला नलाग्ने गरिमा धानको बिक्री बितरणमा संलग्नलाई कारबाही गरेर किसानहरुलाई क्षतिपूर्ति दिलाउने प्रतिबद्धता जनाएकी छन् । मन्त्री पौडेलले बाला नलाग्ने गरिमा धानको बिक्री बितरणमा संलग्नलाई कारबाही गरेर किसानहरुलाई क्षतिपूर्ति दिलाउने बताएपनि किसान भने नक्कली धान बिक्रीमा संलग्नहरु माथि कारबाही पनि माग गरिरहेका छन् ।


बील नदिन उर्दी

गरिमा नामको नक्कली बिउ बेच्ने दाङको सनराइज एग्रीकल्चरले नेपालगन्ज, खजुरा र बर्दियाको भुरीगाउँस्थित एग्रोभेटबाट बिक्री गरिएका धानमा बाला नलागेपछि बिक्रेतालाई बिल दिन रोक लगाएको छ । ‘ब्यवहारिक रुपमा चिनेका पसलबाट बिउ लिएकाले बिल लिइएन, अहिले समस्या पर्दा बिल दिन मानेनन्,’ खजुराको एउटा एग्रोभेटबाट बिउ लिएका किसान कर्ण बहादुर मल्लले भने, ‘बिलको महत्व अब बुझियो ।’ किसानले क्षतिपूर्ति र कारबाही माग गर्न बिल आवश्यक हुन भएकाले कारबाहीबाट जोगिन लमही – ३ दाङस्थित सनराइजले बिल दिए डिलर बन्द गर्ने धम्की दिएको सम्बद्धको भनाइ छ ।
‘५ करोड बराबरको बिउ सनराइजले यस क्षेत्रमा बेचेको देखिन्छ,’ किसानलाई क्षतिनपूर्ति र दोषीलाई कारबाही गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै सत्तारुढ नेकपा बाँकेका अध्यक्ष समेत रहेका प्रदेश सभा सदस्य आइपी खरेलले भने, ‘किसानका पीडामा मलहम लगाउने भन्दा माथिमाथि मिलाएर जोगिने दाउमा लागेको देखिएको छ, कुनै हालतमा छाडिन्न ।’

प्रतिक्रिया

प्रतिक्रिया