खजुरालाई मेडिकल, एजुकेशन र एग्रीकल्चर हब


‘खजुरालाई मेडिकल, एजुकेशन र एग्रीकल्चर हबका रुपमा विकास गरेर जाने कुरालाई सम्मेलनले दिशा निर्देश गरेको छ’

नेपालगन्ज -बाँकेको खजुरा गाउँपालिकाले कम्तिमा १५ वर्षको योजना बनाएरमात्र विकासका पूर्वाधारमा आफुलाई अगाडी बढाउने भएको छ । ‘केन्द्र सरकार, प्रदेश सरकारका अध्यावधिक योजनामा सहयोग पुग्ने गरि खजुराले १५ वर्षे योजना तय गर्नेछ,’ विहीवार बृहत खजुरा सम्मेलन समापन गर्दै गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले भने, ‘खजुरा योजनाबद्ध विकासको चरणमा प्रवेश गरेको छ ।’


बुधवारबाट जारी खजुरा विकास सम्मेलन विहीवार सकिएको हो । २१ बूँदे खजुरा घोषणापत्र जारी गरि सकिएको सम्मेलन समापनपछि सम्मेलन पूर्णतः सफल भएको जानकारी दिंदै खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले भने, ‘‘यसैमा टेकेर अबको खजुरा निर्माण हुन्छ ।’ ‘खजुरालाई मेडिकल, एजुकेशन र एग्रीकल्चर हबका रुपमा विकास गरेर जाने कुरालाई सम्मेलनले दिशा निर्देश गरेको छ,’ कक्षपतिले भने । त्यसका लागि आधारभूत पुर्वाधार रहेकाले प्रचुर सम्भावनामा अगाडी बढ्ने कक्षपतिको भनाइ छ ।


बुधवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेको सम्मेलनमा दुई दिनसम्म विभिन्न क्षेत्रका १० जना विषय विज्ञले कार्यपत्र प्रस्तुति र टिप्पणीसँगै २ सयबढी सहभागीबीच व्यापक बहस गरिएको थियो । ‘कार्यपत्रहरु, कार्यपत्रमाथि गरिएका टिप्पणीहरु र आएका सुझावलाई तत्कालिन, मध्यकालिन र खजुरा गाउँपालिकाले निर्माण गर्दै रहेको दीर्घकालिन गुरुयोजना (मास्टर प्लान) मा समावेश गरि अगाढि बढ्ने सम्मेलन घोषणा गर्दछ,’ घोषणापत्रको २१ औं बूँदा पढ्दै प्रमुख कक्षपतिले भने ।


प्रतिनिधि सभा सदस्य नन्दलाल रोकाय, प्रदेश सभा सदस्यद्वय आइपी खरेल र बाबुराम गौतम समेतको सहभागितामा भएको सम्मेलन समापनमा गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम ओलीले खजुरा क्षेत्रका प्रत्येक जनप्रतिनिधिले २१ बूँदे घोषणापत्रलाई खजुरा विकासको साझा दस्तावेजका रुपमा अपनत्व ग्रहण गरेर अगाडी बढ्न सुझाव दिए ।


खजुराको बिकास र समृद्धिको यात्रामा सबैको साथ, समर्थन सुझाव सहित अघि बढ्ने संकल्प प्रस्ताव पारित गरेको सम्मेलनले घोषणापत्रमा भनेको छ, ‘समृद्ध खजुरा, हाम्रो चाहना’ का लागि एकाकार हँुदै नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयन गर्ने प्रण गर्दछ ।’ देशविदेशबाट आएका विभिन्न विज्ञ समेतको सहभागितामा झण्डै २४ घण्टाको नियमित बहस, छलफल अन्तक्र्रिया पछि जारी खजुरा घोषणापत्रले खजुरा समृद्धिको मुख्य आधार कृषिलाई मान्दै ‘हरित खजुरा शहर’ बनाउने अभियानमा प्रतिवद्धता जनाएको छ ।
‘यो सम्मेलन ,रोजगारीका लागि उद्दमशीलतालाई बढाउन खजुरा ब्रान्ड स्थापित गर्न प्रतिबद्ध छ,’ खजुराको आर्थिक विकासका लागि लघु तथा मझौला उद्योग ग्राम निर्माण गर्दै रोजगारीका पर्याप्त अवसरहरु सिर्जना गर्ने दिशामा केन्द्रित हुने प्रण गरेको घोषणापत्रमा भनिएको छ । ‘यसैलाई टेकेर आफ्नो आगामी दीर्घकालीन योजना बनाउने काम अगाडी बढिसकेको छ,’ गाउँपालिका प्रमुख कक्षपतिले दैनिक नपालगन्जसँग भने ।


समावेशी, वातावरणमैत्री, लैगिंक, अपांगमैत्री सहितको आर्थिक विकासका आयामहरुलाई प्रवद्र्धन गर्ने भौतिक पूर्वाधारको निर्माणको संकल्प प्रस्ताव पारित गरिएको खजुरा घोषणापत्रमा ‘विकास आयोजना, कार्यक्रम तथा अभियानहरुमा जनताको अधिकतम, निर्णायक, सक्रिय सहभागिता सुनिश्चित हुने उपायहरु अवलम्बन होस् भन्ने मान्यतामा’ प्रतिवद्धता जनाइएको छ ।


खजुरालाई शैक्षिक हब बनाउने प्रण गरिएको सम्मेलनमा मानवीय श्रोतलाई सिपमुलक बनाउनका लागि प्राविधिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकता दिने घोषणा गरिएको छ । ‘शिक्षा क्षेत्रमा रहेका समस्याहरुको सम्बोधन, विद्यालय विचमा छाड्ने र विद्यालय बाहिर रहेका विशेष व्यवस्था गर्न प्रतिवद्ध छ,’ घोषणापत्रमा भनिएको छ, ‘यो सम्मेलन खजुरा समृद्धिको आधार गुणस्तरिय र पहुँचयोग्य स्वास्थ्य सेवामा सुधार प्रति प्रतिवद्धता व्यक्त गर्दछ ।’


सामाजिक कुरिती, बाल विवाह, दाइजो प्रथा, घरेलु हिंसा, महिला माथि हुने सबै प्रकारका हिंसा, जातीय विभेद, छुवाछुतको अन्त्यका लागि प्रतिवद्धता व्यक्त गरिएको सम्मेलनमा महिलाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक रुपमा सशक्त बनाउन प्रतिबद्धता जनाइएको छ ।
सम्मेलनमा खजुरा क्षेत्रका खेलाडीहरुको प्रतिभाको पहिचान र सम्मान गर्दै खेलकुद जगतलाई नीति, संरचना र कार्यक्रममा समेटि अगाडि बढ्न प्रतिवद्धता समेत जनाइएको छ । ‘यो सम्मेलन खजुरा क्षेत्रका पछाडी परेका पारिएका वर्ग, क्षेत्र र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन प्रतिबद्ध छ,’ अध्ययन अनुसन्धान, अन्वेषण र सिर्जनशिलतालाई सुश्चितताका लागि प्रतिवद्ध रहेको भन्दै घोषणापत्रमा भनिएको छ, ‘यो सम्मेलन समावेशी, पारदर्शि, प्रभावकारी, मितब्ययी, जवाफदेहि, उत्तरदायि शासन प्रतिबद्ध रहदै गुणस्तरीय तथा सुलभ सेवा प्रदानका लागि प्रतिवद्ध छ ।’


विश्वका विभिन्न मुलुकमा रहेका खजुरावासी नेपाली समेतको सहभागितामा भएको सम्मेलनले खजुराको समृद्धिका लागि गैरआवसीय खजुरेलीहरुको विज्ञताको उपयोग साथ सहयोग लिने भएको छ । ‘यस क्षेत्रमा रहेका विषय विज्ञ सहित सम्पूर्ण मानव संसाधनको अधिकतम उपयोग गरिनेछ,’ घोषणापत्र पढ्दै गाउँपालिका प्रमुख कक्षपतिले भने, ‘देश विदेशबाट यो सम्मेलन प्रति निकै चासो रहेकाले सबैको सहयोग पाइनेमा आशावादी छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया