एक बर्षदेखि रोकिएको जडिबुटी अब भारत निर्यात हुने

देबेन्द्रराज पौडेल / नेपालगन्ज :
भारतको कानुनका कारण झण्डै एक बर्षदेखि अवरुद्ध जडिबुटी निकासी अब सुचारु हुने भएको छ । गत बर्ष मंसिरदेखि ठप्प रहेको जडिबुटी गत असोज पहिलो साता भारत सरकार गरेको निर्णयका कारण पुनः निकासी हुने भएको हो ।


जडिबुटी व्यवसायी संघ अध्यक्ष मो. याकुव अन्सारीले भारत सरकारको निर्णयका कारण अब रोकिएका जडिबुटी पुनः निकासी हुने सुनिश्चित भएको बताए । यद्यपि, नयाँ सूचिमा कुन–कुन जडिबुटी रहेका छन् भन्ने बारे जानकारी लिन बाँकी नै रहेको अध्यक्ष अन्सारीले बताए । ‘संघलाई सूचि प्राप्त भएको छ, बाहिर भएकाले हेर्न पाएको छैन, तर जडिबुटी निकासी निश्चित छ’, अध्यक्ष अन्सारीले भने ।


नेपालगन्ज नाका हुँदै निकासी हुने सबै जडिबुटी भारत सरकारको नयाँ सूचिमा रहेको जडिबुटी व्यवसायी संघका पूर्व सल्लाहकार रविन्द्रनाथ शुक्लले जानकारी दिएका छन् । ‘टिमुर, रिठ्ठा, चिराइतो, पदमचाल, पखनवेद जस्ता जडिबुटी निकासीमा रहेको अवरोध अब हट्नेछ’, शुक्लले भने ।


गत बर्ष भारत सरकारले नयाँ नीति लागु गरेपछि नेपालगन्ज नाकाबाट भारत निकासी हुने जडिबुटी ठप्प भएको थियो । भारत सरकारले क्वारेन्टाइन सम्बन्धी नयाँ नीति लागु गरी जारी गरेको सूचिमा नेपालगन्जबाट निकासी हुने २६ वटा जडिबुटी मात्र परेका थिए ।

त्यसमा पनि कतिपय जडिबुटीको वैज्ञानिक नाम फरक परेका कारण भारत निकासी हुन सकेको थिएन । जसका कारण नेपालका जडिबुटी व्यवसायीको गोदाममा रहेको जडिबुटी सड्ने र गुणस्तरहीन हुने अवस्थामा पुगेको जडिबुटी समस्या समाधान समितिका सदस्य टंक प्रसाद शर्माले बताउँछन् । नेपालबाट ८६ किसिमका जडिबुटी भारत निकासी हुने गरेको जडिबुटी व्यवसायी संघले जानकारी दिएको छ ।
भारत सरकारको नीतिका कारण नेपालगन्ज नाकाबाट निकासी हुँदै आएका पषावेद, कुरिलो, आमला, पदमचाल, चिराइतो, मलवेद, अतिष, कालादाना र सिकाकाई लगायतका जडिबुटी गत मंसिरदेखि निकासी ठप्प रहेको थियो ।


‘भारतीय क्वारेन्टाइन सम्बन्धी आदेश २००३ अनुसार अनुसूचि ७ मा सूचिकृत जडिबुटीहरु मात्र निर्यात गर्न पाइन्छ’, नेपाल जडिबुटी व्यवसायी संघका जडिबुटी समस्या समाधान समितिका सदस्य शर्माले भने, ‘नेपालबाट निकासी हुने अधिकांस जडिबुटी अनुसूचि ७ मा सूचिकृत नभएको र भएका पनि वैज्ञानिक नाम फरक भएकाले निकासीमा ठप्प भएको थियो ।’ अब भने भारतीय क्वारेन्टाइनले वैज्ञानिक नाम फरक परेकाहरुको सूचिमा फेरबदल गरेको जानकारी पाएको शर्माले बताए । ‘निर्णय भएपनि नेपालबाट निकासीका लागि केही समय लाग्नेछ’, उनले भने, ‘भोलि नै निकासीको अवस्था छैन ।’ शर्माले भारत सरकारले गरेको पछिल्लो निर्णय अनुरुपको सूचि रुपैडिहा स्थित क्वारेन्टाइन कार्यालयमा पुगेपछि कार्यान्वयनमा आउने र त्यसका लागि केही समय लाग्न सक्ने बताए ।


त्यसो त भारतले सन् २००३ मा नै क्वारेन्टाइन सम्बन्धी कानुन ल्याएको थियो । तर, ड्राइ मेडिसिन हब्सको नाममा नेपाली जडिबुटी भारत निर्यात भैरहेको थियो । ‘भारत सरकारले ड्राइ मेडिसिन हब्सलाई हटाइदिएपछि समस्या सुरु भएको हो’, जडिबुटी व्यवसायी रविन्द्र नाथ शुक्लले भने, ‘भारतीय क्वारेन्टाइनले त्यहाँको सरकारको निर्णय बमोजिम कडाई गरेपछि गत मंसिरदेखि निकासी बन्द हुन पुगेको थियो ।’


भारत सरकारले जडिबुटी व्यवसायीको अनुरोधमा ६ महिना व्यवस्थापनका लागि समय दिएपनि नेपाल तर्फबाट ठोस पहल हुन नसक्दा जडिबुटी निकासी रोकिन पुगेको व्यवसायीहरु बताउँछन् । भारत सरकारले सन् २००३ मा जडिबुटीका सम्बन्धमा नयाँ ऐन ल्याएपछि नै नेपाल सरकारले जडिबुटी सूचिकृत गर्नका लागि प्रक्रिया पूरा गर्नु पथ्र्यो । ‘तर, १६ बर्ष सम्म सरकारले वेवास्ता गरेको परिणाम अहिले व्यवसायीहरुले भोग्नु पर्यो’, जडिबुटी व्यवसायी भन्छन् ।


नेपालको प्लान्ट क्वारेन्टाइन जडिबुटीका सम्बन्धमा जिम्मेवार निकाय हो । ‘नेपाली क्वारेन्टाइनले कुन कुन जडिबुटी कुन कुन रुपमा पठाउन खोजेको हो त्यसको डिटेल (पेस्ट रिक्स एनलाइसिस–पिआरए) भारतीय क्वारेन्टाइनमा पठाउनु पर्ने हो’, जडिबुटी व्यवसायी भन्छन्, ‘तर, नेपालबाट त्यसमा चासो दिइएन, व्यवसायीका कुरा सुनिएन र निकासी बन्द भएको थियो ।’


भारतले सूचिकृत गरेका जडिबुटीमा नेपालबाट निकासी हुने जडिबुटीको नाम थियो । तर, त्यसको वैज्ञानिक नाम भने फरक पर्यो । ‘नेपालबाट निकासी हुने टिमुर जन्थोजाइलम अरमेटम हो तर भारतले सूचिकृत गर्दा जन्थोजाइलम वन्जियानम उल्लेख गर्योֹ’, सूचिकृत जडिबुटी समेत निकासी गर्न नसक्नुको उदाहरण दिंदै जडिबुटी व्यवसायी भन्छन् । रिठा, तेजपत्ता, कुट्की जस्ता जडिबुटीको सूचिकृत नाम फरक पर्दा संकलन भएका जडिबुटी समेत व्यवसायीले गोदाममै थन्क्याउन बाध्य भएका थिए ।


गत मंसिरदेखि जडिबुटी नेपालगन्ज नाकाबाट निकासी हुन सकेको छैन । यसले राजश्वमा समेत प्रतिकुल प्रभाव पारेको छ । गत आ.व.मा २७ लाख केजी मात्रै जडिबुटी निकासी भएको थियो ।
नेपालगन्ज नाकाबाट मात्रै भारत तर्फ बार्षिक लाखौं किलो जडिबुटी निकासी हुने गरेको छ । तर, भारत सरकारले क्यारेन्टाइन सम्बन्धी आदेशमा कडाई गरेपछि निकासी ठप्प हुन पुगेको थियो ।


आ.व. २०७०÷०७१ देखिको तथ्यांक हेर्ने हो भने नेपालबाट बार्षिक ४० लाख बढी जडिबुटी निकासी हुने गरेको देखिन्छ । तर, गत आ.व.मा भारतको अवरोध पछि २७ लाख ५४ हजार २ सय किलो मात्रै जडिबुटी भारत तर्फ निकासी भएको छ ।


नेपालगन्ज नाकाबाट आ.व. २०७३÷०७४ मा ४० लाख ५० हजार ६ सय ४७ केजी जडिबुटी भारत तर्फ निकासी भएको छ । तर, आ.व. २०७४÷०७५ मा त्यो परिणाम घटेर २७ लाख ५४ हजार २ सयमा झरेको छ ।
त्यसअघि आ.व. २०७२÷०७३ मा ४६ लाख ३८ हजार २ सय १५, आ.व. ०७१÷०७२ मा ४६ लाख ९ हजार २ सय ८७, आ.व. २०७०र७१ मा ४७ लाख ३५ हजार ६४ केजी जडिबुटी नेपालगन्ज नाकाबाट मात्रै निकासी भएको छ ।


जडिबुटीमा निकासीमा अवरोध आएपछि देशभर १० हजार मेट्रिक टन जडिबुटी थन्किएको जडिबुटी व्यवसायीहरु बताउँछन् । ‘नेपालगन्जमा मात्रै निर्यात गर्न ठिक्क पारिएको १ हजार ५ सय मेट्रिक टन गत मंसिरसम्म नै रोकिएको थियो’, जडिबुटी व्यवसायी भन्छन्, ‘यसले अर्बौ रुपैयाँ नोक्सानी ब्यहोर्नु परिरहेको छ ।’ निकासी रोकिएपछि व्यवसायीले जडिबुटी खरिद र संकलन गर्न नै छाडिसकेका थिए । जडिबुटी निकासी अवरुद्ध हुँदा रोजगारी र वैदेशिक मुद्रा आर्जनमा समेत असर परेको व्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया