नेपालगन्ज
विद्युतीकरण सुरु भएको झण्डै १० बर्षपछि कोहलपुर–धामपुर ३३ केभी प्रसारण लाइनको आज बिहीबार परीक्षण गरिने भएको छ । उक्त क्षेत्रमा वन क्षेत्रको अवरोधका कारण पोल गाड्ने र तार तान्ने काम ९ बर्षसम्म हुन सकेको थिएन । गत बर्ष साउनमा मन्त्री परिषद्को निर्णयबाट वन क्षेत्रको रुख काट्ने निर्णय भएपछि विद्युतीकरणको कामले तिव्रता पाएको थियो ।
‘लामो प्रयासपछि बिहीबार धामपुरको सब स्टेशनसम्म विद्युत लाइनको परीक्षण हुन लागेको हो’, प्रतिनिधिसभा सदस्य महेश्वर गहतराजले भने, ‘राप्तीसोनारी तथा नरैनापुरका विभिन्न वडामा पनि विद्युतीकरणको काम भैरहेको छ ।’
नेपाल विद्युत प्राधिकरणले प्रदेश ५, डिभिजन कार्यालयले परीक्षणको तयारीबारे जानकारी गराएको छ । प्राधिकरणले ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि बिहीबारदेखि ११ हजार भोल्ट करेन्ट प्रवाह हुने सर्वसाधारणलाई सूचित गरेको हो ।
‘बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अन्तर्गत राप्ती नदीदेखि धामपुर सबस्टेसन खण्डमा पर्ने कुण्डा–डाडाचेप्री–गुलेरीचोक–ढेलैयाचोक–आलीनगर–गोडधोई– जुरपनिया–धामपुर तथा धामपुर सबस्टेसन भित्रको क्षेत्रमा लाइन निर्माण भइरहेको छ’, प्राधिकरणले भनेको छ । ‘त्यसैले उक्त क्षेत्रको विद्युतीय तार, पोल, स्टे आदिमा चढ्ने, तार छुने कार्य नगर्न÷नगराउन हुन अनुरोध छ’, प्राधिकरणले परीक्षणका क्रममा अप्रिय घटना हुन नदिन सर्वसाधारणलाई जारी गरेको सूचनामा उल्लेख छ ।
बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिका क्षेत्रमा विद्युत विस्तारको अभियान बनकै कारण पछिल्लो ९ वर्ष देखि प्रभावित हुँदै आएको थियो । गत बर्ष साउन १४ गते बसेको मन्त्रिपरिषदको बैठकले कोहलपुरबाट धामपुरसम्म ३३ केभी प्रसारण लाइनको अनुमति दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम विद्युत प्रसारण लाइन बनाउनका लागि आवश्यक रुखहरु काटिएका थिए ।
८० सरकारको र २० प्रतिशत जनताको अनुदान रकमबाट २०६६ सालदेखि विद्युत विस्तार कार्य थालिएकोमा अझै सम्म विद्युत विस्तार हुन सकेको थिएन । ‘अब छिट्टै राप्तीपारीका बासिन्दाले विद्युत बाल्न पाउने छन्’, सांसद गहतराजले भने, ‘विद्युत उपभोग गर्न धेरै कुर्नु पर्दैन ।’
कोहलपुरबाट धामपुर सम्म ३३ हजार केभी त्यहाँबाट ११ हजार केभी नरैनापुर सम्म प्रशारण गर्ने योजना रहेको छ । सो कार्यका लागि राप्तीपारिका बासिन्दाले दर्जन पटक ज्ञापन पत्र र ध्यानाकर्षण पत्र बुझाएका थिए । धर्ना प्रदर्शन भयो तर राप्तीपारि विद्युत पुगेको थिएन । विद्युत विस्तारका लागि सोनारी बघौडा ग्रामीण सामुदायिक विद्युतीकरण विकास मूल समिति गठन गरि स्थानीय स्तरबाट ३ करोड ३८ लाख ४७ हजार ८ सय ७७ रुपैया“ जम्मा भएको थियो ।
नेपाल सरकारको ८० प्रतिशत र समुदायको २० प्रतिशत लगानीमा राप्तीपारि ३३ हजार केभी विद्युत लाईन जडान गर्ने निर्णय भएपछि गुरुओम उष्मा प्रालिले विद्युत विस्तारको ठेक्का प्राप्त गरेको थियो ।
राप्तीपारी विद्युतीकरणकालागि प्राधिकरणले बैजापुरको धामपुरमा सबस्नेशन निर्माण गर्न, कोहलपुर धामपुर ३३ केभी प्रसारण लाइन बिस्तार गर्न र गाउँगाउँमा विद्युतीकरणका लागि छुट्टाछुट्टै ठेक्का लगाएको थियो । धामपुर सबस्टेशनको काम पूरा भएपनि प्रसारण लाइन र विद्युतीकरणको काम भने अधुरै छ । प्रसारण लाइन बिस्तारका लागि उष्मा÷गुरुओम÷धुलिखेल जेभीले २०६६ पुस ३ गते ४ करोड १८ लाखको ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता अनुसार काम नगरेपछि गत बैशाख १४ गते प्राधिकरणले ठेक्का रद्द गरेको थियो ।
ठेक्का रद्द भएपछि ठेकेदार राजेन्द्र मिश्रले उच्च अदालत नेपालगन्जमा हालेको रिट पनि खारेज भैसकेको छ । ठेकेदारले मुद्दा खारेज भएपछि गत साउन पछि पनि केही समय काम अवरुद्ध ३३ केभी प्रसारण लाइनको कामलाई प्राधिकरणले प्राथमिकता दिएर अघि बढाएको थियो । सोनारी बघौडा सामुदायिक ग्रामीण विद्युतीकरण समितिले समेत सम्झौता अनुसार काम नभएको भन्दै प्राधिकरण विरुद्ध अर्को मुद्दा दर्ता गरेको थियो ।