खजुरा समृद्ध बनाउन बहस, आज सकिंदै खजुरा विकास सम्मेलन

घोषणपत्र जारी गर्दै आज सकिंदै खजुरा विकास सम्मेलन

नेपालगन्ज – बाँकेको खजुरा गाउपालिकाले बृहत् खजुरा सम्मेलनको आयोजना गरेको छ । गाउँपालिकाले योजना निर्माणमा टेवा पु¥याउने उद्देश्यले नै बृहत खजुरा सम्मेलनको आयोजना गरेको हो । बुधवार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेपछि आज बिहीबारसम्म चल्ने सम्मेलनमा विज्ञहरुले तयार पारेका विभिन्न बिषयका कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसमाथि छलफल शुरु भएको छ ।

खजुराबासीको सिकाई आदानप्रदान गर्न र खजुरा क्षेत्रका विषय विज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वहरुबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्य राखिएको खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले बताए । उनका अनुसार, सम्मेलनमा खजुरा घर भई विभिन्न क्षेत्रमा मानिसहरुको अनुभव र ज्ञान साटासाट गर्ने समृद्व खजुराको परिकल्पना समेत गरिनेछ । सम्मेलनमा देश तथा विदेशमा रहेका दुई सय ५० भन्दा बढी खजुराबासी नागरिकहरुको सहभागिता रहेको छ । ‘खजुरामा पहिलोपटक भएको सम्मेलनले नीतिगत रुपमा ठूलो टेवा पु¥याउनुका साथै समृद्ध खजुराको सपना पुरा गर्न कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ,’ गाउँपालिका उपप्रमुख एकमाया बिकले भनिन् ।

सम्मेलनमा विभिन्न १० जना विषय विज्ञहरुले तयार पारेको आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तिकरण खजुरा, खजुरामा कृषि, खेलकुद, गुणस्तरीय स्वास्थ्य सेवा लगायतका विषयमा कार्यपत्र प्रस्तुत र छलफल सहित कार्यपत्र पारित गरिने छ । ‘यहाँबाट आएका निष्कर्षलाई अबका आवधिक योजनाले सम्बोधन गर्दै अगाडी बढ्नेछ,’ गाउँपालिका प्रमुख कक्षपतिले दैनिक नेपालगन्जसँग भने ।

सम्मेलनमा देश तथा विदेशमा रहेका खजुराबासीहरु उपस्थित भएर यहाँको विकासको बारेमा प्रत्यक्ष रुपमा छलफल गरिरहेका छन् । सम्मेलनबाट खजुराबासीहरुले दिएको सुझावको आधारमा गाउँपालिकाले योजनाहरु अगाडि सार्ने आयोजक समितिका संयोजक भक्त बहादुर केसीले जानकारी दिए ।

‘बृहत खजुरा सम्मेलनले नयाँ उत्साह संचार गराएको छ,’ दिनभर सम्मेलनमा सहभागी राजनीतिकर्मी सतिश निरौलाले दैनिक नेपालगन्जसँग भने, ‘मुख्यमन्त्री पोखरेलले आफ्नो भनाइ राख्दै गर्दा सुझाएका केही कुराहरु खजुराले गम्भीर रूपमा ग्रहण गरेर अगाडि बढ्न सके हाम्रा सामु चुनौतीका पहाड भन्दा पनि बढी सहज र सरल फाँट नै देखिनेछन् ।’ निरौलाले ‘इजरायली मोडालिटीमा बसेका बस्ती छन् खजुरा सङ्ग भन्दै गर्दा आज इजरायल कहाँ पुगिसक्यो खजुराको स्थिति ज्यूँका त्यूँ छ अब हामीले हामी सङ्ग भएको साधन र स्रोतको उच्चतम प्रयोग गर्दै अगाडि बढ्नुको विकल्प छैन’ मुख्यमन्त्रीको भनाइमा केन्द्रीत प्रतिक्रिया दिए ।

भव्य उद्घाटनपछिको सत्र अझ महत्वपूर्ण ढंगले चलिरहेको खजुरा गाउँपालिकाका प्रेस सल्लाहकार दुर्गा रोकायले जानकारी दिए । बुधवार पहिलो दिन अर्थ र ब्यापार सम्बन्धी डोलबहादुर भण्डारीले प्रस्तुत गरेको कार्यपत्र माथी टिप्पणी डा.घनश्याम गौतम टिप्पणी गरे । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्राध्यापक भण्डारी स्थानीय क्याम्पसमा समेत प्राध्यापन गर्छन् । हाल अमेरिकामा प्राध्यापन गरिरहेका डा. गौतम खजुराकै जनता मा.बि.बाट माध्यमिक शिक्षा पुरा गरेका खजुराबासी हुन् ।

स्थानीय उद्योगपति उत्तमराज घिमिरेले अध्यक्षता गरेको पहिलो सत्र स्थानीय बजार र अर्थतन्त्रमा बहस केन्द्रीत रह्यो । खजुरामा कसरी राष्ट्रिय पूँजीपतिहरुलाइ भित्र्याउन सकिन्छ ? भण्डारीको कार्यपत्रको सरोकारमा खजुराबाट उद्योगी ब्यबसायीलाई पलायन हुन नदिन के गर्न सकिन्छ भन्ने चिन्ता थियो । पहिलो उक्त सत्रमा खजुराको आर्थिक बिकासका लागि व्यापार व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने बारे कार्यपत्रमै रहेर पत्रकार शरण कर्माचार्य, राजनीतिकर्मी सतिश निरौला लगायतका सहभागीले बिचार राखेका थिए ।
प्रतिष्ठित अधिकारकर्मी प्रकाश उपाध्यायले बिकासमा जनसहभागितालाई आफ्नो कार्यपत्रबाट ‘सेन्सेटाइज’ गरे । उपाध्यायको प्रस्तुतिमा सुशासन विद् मीन बहादुर मल्लले टिप्पणी जमेर टिप्पणी गरे । स्थानीय अमेरिकाबाट सम्मेलनकै लागि खजुरा आइपुगेका तेजप्रसाद गौतमको अध्यक्षतामा भएको यो सत्रमा सहभागीहरुले निकै चासोपूर्वक सुझाव दिएका थिए । स्थानीय वरिष्ठ राजनीतिकर्मी बेदनीधि प्याकुरेलको अध्यक्षतामा भएको अर्काे सत्रमा बहुचर्चित ‘ग्रीन सिटी’ मा बहस गरियो । अस्ट्रेलियाको एडेल्डियामा पिएचडी गर्दै गरेका खजुराका स्थानीयवासी जीत बहादुर चन्दले ग्रीन सिटी सम्बन्धि अवधारणा पेश गरे । चन्द विषय विज्ञ हुन् ।

‘सोंच ठुलो कुरा हो, साँच्चिकै समृद्धिको यात्रा तय गर्दा बौद्धिक वर्ग तथा विज्ञमाथिको आशा भरोसा पक्कै सार्थक हुनेछ,’ विषय विज्ञका रुपमा सम्मेलनमा सहभागी पत्रकार टिएस ठकुरीले भने, ‘समृद्धिको बाटो यसरी नै पहिल्याउने हो ।’ खजुरा गौघाटका ठकुरी आज खेलकूद र सिर्जनामा कार्यपत्र प्रस्तुत गर्दैछन् । उनीसँगै आज ७ वटा कार्यपत्र प्रस्तुत हुने आयोजक समितिका सदस्य सचिव किरण ढकालले जानकारी दिए । ज्ञानोदय नमुना माविका प्राधानाध्यापक ऋषिराम सापकोटा शैक्षिक कार्यपत्र प्रस्तुत गर्नेछन् । अधिवक्ता इमान सुनारले समावेशीकरणका संवैधानिक व्यवस्था कार्यान्वयन, चरित्रा शाह भण्डारीले ग्रामीण विकासका लागि महिला सशक्तिकरण र सिद्धार्थ अस्पतालका प्रवन्ध निर्देशक धनिराम ओलीले नागरिक स्वास्थ्यका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । ‘सबैको निष्कर्षलाई खजुरा घोषणापत्र – २०७६ का रुपमा डकुमेन्टेशन गरिनेछ,’ गाउँपालिका प्रमुख कक्षपतिले दैनिक नेपालगन्जसँग भने । खजुराका राजनीतिक सल्लाहकार भीम ओलीले खजुरालाई समृद्ध बनाउन थालिएको बहसमै टेकेर स्थानीय सरकार अगाडी बढ्ने विश्वास गरे । ‘बाँकेमा खजुरा यसरी अगाडी बढ्दैछ भन्ने सन्देश सम्मेलनले उजागर गरेको छ,’ ओलीले दैनिक नेपालगन्जसँग भने, ‘सम्मेलनले थप दिशा निर्देश गर्नेछ ।’
सम्मेलनको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले १५, २० वर्षसम्म गर्ने कामको योजना बनाउनुपर्ने सुझाव दिए । गाउ“पालिका भित्र रहेका विभिन्न कामहरुलाई १५– २० वर्षसम्म कसरी अगाडि बढाउने भन्ने कुरामा सम्मेलन केन्द्रित हुनुपर्नेमा सुझाव दिंदै मुख्यमन्त्री पोखरेलले भने, ‘त्यसो हुन सकेमात्र समृद्व खजुरा सम्भव छ ।’

सम्मेलनमा आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तिकरणमा खजुरा, खजुरामा कृषि ः समृद्ध खजुराको आधार, गुणस्तरीय र प्राविधिक शिक्षाको मार्गरेखा, गुणस्तरीय स्वास्थ्य सेवा र खजुरा, समावेशी खजुरा, खेलकुद र सिर्जनशील खजुरा विषयमा कार्यपत्र प्रस्तुत र त्यसमाथि टिप्पणी हुँदैछन् । खजुरामा पहिलो पटकभएकोे सम्मेलनमा खजुरा गाउँपालिकाका जनप्रतिनिधि, खजुरा क्षेत्रबाट संघीय तथा प्रदेशमा प्रतिनिधित्व गर्ने सदस्य, विषय विज्ञ, प्राज्ञ तथा विभिन्न पेशामा लागेका पेशाकर्मीहरुको सहभागिता रहेको प्रेस सल्लाहकार रोकायले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया