देबेन्द्र पौडेल
बालविवाह विरुद्धको अभियान
बाँकेका आठ वटै स्थानीय तहमा किशोरी सञ्चालन गठन गरिएको छ । बालविवाह न्यूनीकरण तथा बालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर गठन गरिएका किशोरी क्लबहरु अहिले आफुले बालविवाह बारे बुझ्दै स्थानीय तहमा त्यसबारे जनचेतना जगाउँदै छन् ।
बाल विवाहबारे जानकारी दिन आयोजना हुने विभिन्न कार्यक्रमहरुबाट सिक्दै बालिकाहरुले आफ्नो गाउँ, टोलमा त्यसको प्रचार गरिरहेका छन् । बाँकेमा प्लान इन्टरनेशनल र स्याकले त्यसका लागि सघाएको छ । प्लान र स्याककै अग्रसरतामा बाँकेका स्थानीय तहमा किशोरी क्लब गठन भएका छन् । संस्थाले उनीहरुलाई बाल विवाहको प्रतिकुल प्रभावबारे प्रशिक्षण मात्रै दिएको छैन उनीहरुको क्षमता अभिवृद्धिका लागि कार्यक्रम नै बनाएर विभिन्न गतिविधिहरुमा संलग्न गराउँदै आएका छन् ।
‘किशोरी क्लबमा आबद्ध भएपछि हामीले धेरै कुरा जान्ने अवसर पाएका छौं’, प्लान इन्टरनेशनल र स्याकले बुधबार राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरेको परियोजना अनुगमनका क्रममा किशोरीहरुले भने, ‘हामीले बुझेका कुरा आफ्ना घर, छिमेकमा पनि बुझाइरहेका छौं ।’
सुरुमा संस्थाको सहयोगमा क्रियाशिल किशोरी क्लब अब सक्षम हुँदै गएका छन् । उनीहरु आफ्ना अधिकार के हुन् र त्यसका लागि कहाँ गएर आफ्ना बोल्नुपर्छ भन्नेमा पनि सचेत हुँदै गएका छन् । ‘किशोरी बुझ्ने हुँदै जाँदा किशोरी विरुद्ध हुने कानुन विपरितका घटना रोक्न तथा न्यायका लागि पहल गर्न सहज हुँदै गएको छ’, राप्तीसोनारी गाउँपालिका वडा नं. ७ मा बालविवाह रोकथाम परियोजना अनुगमनका लागि पुगेकी प्लान इन्टरनेशनलकी आशा बुढाले भनिन् ।

स्याकले राप्ती सोनारी गाउँपालिकामा समावेशी किशोरी क्लब गठन गरेको छ । उक्त क्लब गत बर्ष माघमा गठन गरिएको हो । जसमा २० जना किशोरी आबद्ध छन् । क्लबका लागि राप्तीसोनारी गाउँपालिकाको वडा नं. ७ ले वडा कार्यालयमा एउटा कोठा उपलब्ध गराएको छ । जसमा किशोरी क्लबको नियमित बैठक बस्दै आएको छ । प्लानको सहयोगमा स्याकले त्यहाँ रहेका किशोरी क्लबका लागि तालिमदेखि खेलकुदका सामाग्रीदेखि कम्प्युटर सम्म उपलब्ध गराएको छ । किशोरी क्लबमा आबद्ध भएकाहरु समूहमा कम्प्युटर सिक्ने गर्दछन् । किशोरीहरु गाउँमा कसैको बालविवाह भएर त्यसलाई रोक्नका लागि योजना बनाउँछन्, बाल विवाह विरुद्ध जनचेतनामूलक र्याली, सडक नाटक देखि जनप्रतिनिधिसम्मलाई भेटेर झक्झक्याउँछन् ।
गत बर्ष गठन भएको समावेशी किशोरी क्लबले पाँच वटा बालविवाह रोकिसकेको छ । त्यति मात्रै होइन आफ्नै उमेर नपुग्दा पनि उनीहरुले अभिभावकलाई उमेर नपुगी विवाह गर्न हुँदैन भन्नेमा सम्झाउन सफल भएका छन् । राप्तीसोनारी–७ मा रहेको पालिका स्तरीय समावेशी किशोरी क्लबकी आशा बुढामगरले जनचेतनाले समाजमा बालविवाह गर्नु हुँदैन भन्ने सन्देश दिनसक्ने भएकाले आफुहरुले जनचेतनाका गतिविधिलाई प्राथमिकता दिने गरेको बताइन् । ‘बाल विवाह गर्दा आर्थिक, सामाजिक, मानसिक र शारीरिक रुपमा पर्ने असरबारे किशोरी र अभिभावकलाई सम्झाउने गरेका छौं’, उनले भनिन् ।
समावेशी किशोरी क्लबकी सदस्य हुन् लक्ष्मी थारु । उनको १६ बर्षकै उमेरमा परिवारले विवाह गरिदिने प्रयास गरेको थियो । ‘तर, मैले रोई, कराई गरी आफ्नो विवाह रोके’, उनले भनिन्, ‘किशोरी क्लबमा आबद्ध भएपछि अरुलाई सम्झाउँदै छु, जनेचतना जगाउँदै छु, बालविवाह रोक्दै छु ।’ समावेशीकै सदस्य शर्मिला शाहको पनि ललाई फकाई गरी बालविवाहका लागि आफन्तले गरेको प्रयास विफल भयो । शाहले आफ्नी आमालाई सम्झाइन् उनको बाल विवाह रोकियो । ‘आफ्ना अभिभावकलाई सम्झाउन सक्ने हो भने बालविवाह रोक्न सकिन्छ’, उनी भन्छिन् ।
समावेशीमा आबद्ध किशोरीहरुले बाल विवाह रोक्न समाजमा आलोचना खेप्नु पर्ने बताउँछन् । ‘समाजलाई बुझाउन नसक्दा अप्ठ्यारो पर्ने हो, बुझेपछि बाल विवाह रोक्न गाह्रो हुँदैन’, लक्ष्मीले भनिन् ।
परियोजना अनुगमनका क्रममा राप्तीसोनारी गाउँपालिकाकी अध्यक्ष धनी कुमारी खत्री, वडा नं. ७ का अध्यक्ष राम लखन थारुले किशोरीहरुलाई आफु साथमा रहेको भन्दै निडर भएर बाल विवाह विरुद्धको अभियानमा सक्रिय हुन आग्रह गरेका थिए । वडाध्यक्ष थारुले बालबालिको शिर्षकमा छुट्याइएको बजेट किशोरी क्लबको सिफारिसमा खर्च गरिने प्रतिबद्धता जनाए ।
कम्प्युटर सिक्दै किशोरी क्लबका सदस्यहरु
नरैनापुर गाउँपालिका वडा नं. ६ गंगापुरमा रहेको सिर्जनशील किशोरी क्लब पनि बाल विवाह विरुद्ध जनचेतना जगाउन सक्रिय रहेको छ । स्याक र प्लान बाल विवाहको रोकथाम परियोजना अनुगमनका लागि त्यहाँ पुग्दा किशोरीहरुले बाल विवाह विरुद्ध आफुहरुले गरेको प्रयास सुनाए । त्यहाँ पनि प्लान र स्याकको सहयोग किशोरीहरुलाई रहेको छ । उनीहरुलाई बाल विवाहको प्रभाव, त्यसलाई रोक्नका लागि चाल्नु पर्ने कदम, क्षमता अभिवृद्धिका लागि कम्प्युटर तथा खेलकुद सामाग्री, कार्यालय सञ्चालनका लागि सहयोग संस्थाले गरेको छ ।
क्लब सचिव शारदा कुमारी यादवले जनचेतनामूलक र्याली, सडक नाटक लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिइन् । ‘हामी आफैले अभियनय गरेर जनचेतनामूलक नाटक आयोजना गर्छौ’, यादवले भनिन् । नरैनापुर–६ का वडाध्यक्ष वीरेन्द्रपाल सिंहले वडाले किशोरी क्लबका गतिविधि सञ्चालनका लागि वडा कार्यालयमा छुट्टै कोठाको व्यवस्था गरेको, कम्प्युटर कक्षका लागि पनि कोठा व्यवस्था गरेको, बजेट विनियोजन गरेको जानकारी दिए । स्याककी विनिता आर्सी श्रेष्ठले गठन गरिएका क्लबहरुले कसरी काम गरिरहेका छन् बुझ्नका लागि परियाजनाको अनुगमन गरेको बताइन् ।
बाल विवाह विरुद्ध वडाध्यक्षको ‘क्लास’

राप्तीसोनारी गाउँपालिका ७ का वडाध्यक्ष राम लखन थारु पूर्व शिक्षक समेत हुन् । उनले आफ्नो वडामा रहेका विद्यालयमा बाल विवाह विरुद्धको अभियान सुरु गरेका छन् । थारुले वडामा रहेका विद्यालयमा गएर कक्षा ९ र १० मा अध्ययनरत् विद्यार्थीहरुका लागि बाल विवाह विरुद्धको ‘क्लास’ नै सञ्चालन गर्ने अभियान थालेका हुन् । ‘मधेसी, थारु समुदायमा अभिभावकले नै बाल विवाह गरिने संस्कार रहेको छ’, वडाध्यक्ष थारुले भने, ‘त्यसलाई चिर्नका लागि विद्यालयका विद्यार्थीहरु मार्फत अभियान थालेको हुँ ।’
प्रदेश ५ सामाजिक मन्त्रालयको एक कार्यक्रममा सहभागी भएपछि थारुले बाल विवाह विरुद्ध विद्यालयमा कक्षा लिन प्रेरणा मिलेको बताए । ‘वडा कार्यालयमै पालिका स्तरीय किशोरी क्लबको कार्यालय राखेको छु’, उनले भने, ‘बाल विवाह न्यूनीकरण परियोजना सञ्चालन गर्ने क्लबको कार्यालय आफ्नै वडा कार्यालयमा रहेपछि मलाई पनि केही गर्नुपर्छ भन्ने लाग्यो ।’
विद्यालयमा बाल विवाह विरुद्ध सचेतनामूलक कार्यक्रम गर्दा त्यो सन्देश वडाभरी नै प्रवाह हुने वडाध्यक्ष थारुको विश्वास छ । ‘विभिन्न टोलका विद्यार्थी विद्यालय पुगेका हुन्छन्, उनीहरुलाई सचेत बनाउँदा त्यो सन्देश पुरै वडाभरी पुग्न सक्छ’, थारुले भने, ‘तीन वटा विद्यालयमा मैले क्लास लिइसकेको छु, थप विद्यालयमा जाने योजना छ ।’ वडाध्यक्षको जिम्मेवारीबाट फुर्सदका बेला विद्यालय पुगेर सचेतना फैलाउने गरेको थारुले बताए ।
वडाध्यक्ष थारुले नबुझ्ने मधेसी, थारु समुदायले बुझ्दै गएपछि बाल विवाह गर्नु हुँदैन भन्नेमा सचेत हुँदै गएपनि बुझेका अभिभावकले बालविवाह गर्ने गरेको पाएको बताए । ‘त्यसैले अभिभावकलाई पनि बाल विवाहको असर र कानुनी कारवाहीका लागि प्रशिक्षण दिन आवश्यक देखेको छु’, उनले भने । ‘बर्षौदेखि बालविवाहको संस्कार छ’, वडाध्यक्ष थारुले भने, ‘त्यसलाई भत्काउन समय लाग्छ, त्यसैले निरन्तर अभियान जारी राख्नुपर्छ ।’