समय अगावै बन्यो बर्दिया निकुञ्ज ठाकुरद्धारा जोड्ने ओराही खोलाको पक्की पुल

भावुक योगी, बर्दिया :
बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धारा ओहोरदोहोर गर्दा ओराही खोलामा पुल नहुँदा वर्षाैदेखि समस्या झेल्दै आईरहेका स्थानियवासी तथा पर्यटकहरुले अब उक्त समस्याबाट मुक्ति पाएका छन् ।

निक्कै लामो समयको प्रतिक्षापछी ओराही खोलाको पुल सञ्चालनमा आएसंगै स्थानियवासी तथा पर्यटकहरुले उक्त समस्याबाट मुक्ती पाएका हुन् ।

गत वर्षदेखि आम्बासा ओराही खोलामा निर्माणाधिन अवस्थामा रहेको पुल निर्माण सम्पन्न गर्ने अवधी भन्दा झण्डै ९ महिना अघि निर्माण कार्य सकिएपछी बुधबारदेखि पुलमा ओहोरदोहोर सुरु भएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग, सडक डिभिजन कार्यालय बाँकेका डिभिजन प्रमुख रामकुमार देव, ठाकुरबाबा नगरपालिकाका प्रशासकिय अधिकृत चेतप्रसाद उप्रेती, प्रहरी उपरिक्षक राजेशनाथ बास्तोला, सञ्चारकर्मी, स्थानिय लगाएतको उपस्थितीमा पुल सञ्चालनमा आएको हो ।

बुधबार आयोजित एक कार्यक्रमका बिच बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धारा क्षेत्र जोडने आम्बासा ओराही खोलाको पुल औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।

पुल सञ्चालन कार्यक्रममा सहभागी हुनुभएका प्रमुख जिल्ला अधिकारीले कुरुम्वाङ्गले निर्माण व्यवसायिहरुलाई उर्जासिल बनाएमा समयमै र गुणस्तरीय रुपमा काम सम्पन्न हुने बताउनुभयो । बर्दियाको विकासका लागि आफुहरु निरन्तर लागीरहेको र उक्त पुलले स्थानियवासीन्दा तथा निकुञ्जमा आउने पर्यटकहरुलाई धेरै सहज हुने समेत उहाँले बताउनुभयो ।

यसैबिच पुल निर्माण कार्य समय अवधी भन्दा अगावै सम्पन्न गरेर उदाहरणिय काम गरेको भन्दै निर्माण व्यवसायी तिलक लम्साललाई जिल्ला प्रशासन कार्यालय बर्दिया र सडक डिभिजन कार्यालय बाँकेका तर्फबाट सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

बर्दिया ठाकुरबाबा नगरपालिका २ को आम्बासादेखि बर्दिया निकुञ्ज मुख्यालय जोड्ने ओराही खोलाको पक्की पुल तोकिएको समयभन्दा अगाडि निर्माण कार्य सकिएपछि ओहोरदोहोर गर्न पाएको यस क्षेत्रका स्थानीयवासीहरु खुशी भएका छन् । पुल निर्माणले नेपाल भ्रमण वर्षलाई पनि मद्दत पुगेको पर्यापर्यटन विकास मञ्चका सचिव एवं बर्दिया टाइगर रिसोर्टमा जनरल म्यानेजर रेशम थापाले बताउनुभयो ।

आम्बासा नजिक ओराही खोलामा पुल नबन्दा ठाकुरबाबा नगरपालिका क्षेत्रका स्थानियवासी संगै बर्दिया निकुञ्ज अवलोकनमा आउने पर्यटकहरु पनि समस्यामा परेका थिए । ओराही खोलामा पक्की पुल निर्माणको काम सकिए लगत्तै सञ्चालनमा ल्याईएको तिलक लम्सालले बताउनुभयो ।

सडक डिभिजन कार्यालय नेपालगंज अन्र्तगत सपना गाल्वा जेवी ज्वाईन्ट भेन्चरले २०७४ साउनमा ९ करोड ९६ लाख करोड रकममा पाएको ठेक्का २०७७ साल असार मसान्तभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो ।

सपना गाल्वा जेवी ज्वाईन्ट भेन्चर मार्फत ठाकुरबाबा नगरपालिका ४ को मेनका निर्माण सेवा बगनाहाका प्रोप्राईटर तिलक लम्सालले २०७४ माघ महिनादेखि पुल निर्माणको काम गर्न थालेपछी सम्झौता भन्दा झण्डै ९ महिना अघि पुल निर्माणको काम सकिएको तिलक लम्सालले बताउनुभयो ।

पुल निर्माणको काम सुरु गरेको झण्डै साढे १ वर्ष भित्रमा अर्थात २०७६ साल असार मसान्त भित्रै सम्पन्न गर्ने लक्ष्य सहित पुल निर्माणको काम अगाडि बढाईएको थियो तर प्राविधिक कारणवस सकिएन, तैपनि निर्माण कार्य सम्पन्न गर्ने अवधी भन्दा नौ महिना अघि पुल बनेको मेनका निर्माण सेवाका प्रोप्राईटर तिलक लम्सालले बताउनुभयो ।

चार वटा मुख्य पिलर सहित एक सय ७० मिटर लम्बाइ, ११ मिटर चौडाइ रहेको ओराही खोलाको पक्की पुल नेपाल सरकारको ९ करोड ९६ लाख लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।
यस क्षेत्रकै नमूनाका रुपमा रहेको आम्बासा नजिकको ओराही खोलाको पुल निर्माण कार्य समय अगावै सम्पन्न भएसंगै अब बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धारा क्षेत्र ओहोरदोहोर गर्ने स्थानियवासी र पर्यटकहरुलाई पनि निक्कै सहज हुने बताईएको छ ।
बर्दिया निकुञ्ज मुख्यालय जोड्ने ओराही खोलाको पुल बनेपछी ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९ र मधुवन नगरपालिकाको वडा नम्बर १ सुर्यपटुवा लगायतका स्थानियवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

पुलबाट ओहोरदोहोर गर्न पाईएपछी आकस्मीक बिरामीलाई औषधी उपचारका लागि बाहिर लैजान सहज हुने तथा गाउँघरमा उत्पादित कृषिजन्य सामग्रीहरु पनि गाडीमा ओसारपसार गर्न सहज पुग्नेछ । बर्दिया निकुञ्ज अवलोकनका लागि आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई पनि घण्टौँसम्म खोलाको ढिकमा कुरेर बस्ने समस्याबाट समेत मुक्ती मिल्नेछ ।

ओराही खोलाको पुल निर्माणमा ठेकेदार कम्पनीले तिब्रता दिएकोमा उदारणीय काम गरेको भन्दै ठेकेदारको चौतर्फी प्रशंसा भएको छ । तर ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २ पेरहनी तथा वडा नम्बर ६ कालिगौडी गाउँ नजिक एउटै समयमा निर्माण कार्य सुरु भएको ओराही खोलाको पुल भने सुस्त गतिमा निर्माण भईरहेकाले स्थानियवासी पुल नबन्ने हो भनेर चिन्तित बनेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया