खजुराको बसाई बहुभाषिक र बहुसाँंस्कृतिक रहेको पाइन्छ । पहाडी मधेसी मात्र नभएर यसै पालिका भित्र रहेको रनियापुर, सोनपुर र उढरापुरमा रहेका मुस्लिम समुदायले खजुराको बिबिधतालाई सिंगारेको छ ।
शरण कर्माचार्य
पहाडमा घर खेत पहिरोले बगाएर उठिबास भए पछि तत्कालिन सरकारले पुनर्वास गराएकोआधा शताब्दी नाघिसक्दा पनि बाँंकेका तत्कालिन सुकुम्बासी बस्तीमा खासै परिवर्तन हुन सकेको छैन । बिक्रम सम्बत २०२३ सालमा नेपालका बिभिन्न स्थानमा बाढी पहिरो र प्राकृतिक प्रकोपमा परेकाहरुलाई पुनर्वास गराउने भन्दै तराईमा जग्गा बितरण गरिएकाहरु मध्ये बांँकेका पुनर्वास क्षेत्रमा अझै पनि उज्यालो घाम पस्न सकेको छैन । तत्कालिन सरकारले दैवीप्रकोपमा परेका नेपालीहरुलाई पुनर्वास गराउने भन्दै बांँके बर्दिया कैलाली कन्चनपुरका जङ्गल फडानी गरेर जग्गा बितरण गरेको थियो । त्यहि क्रममा बांँकेमा पनि पुनर्वास कम्पनिले बस्ती बसालेको थियो । उनीहरुको जीवनशैली आजपनि खासै फेरिएको देखिन्न ।
बाँकेका ३ गाविसलाई अहिले पनि धेरैले पुनर्वास क्षेत्र भनेर नै चिन्ने गर्दछन् । बांँकेको साबिक सितापुर, बागेश्वरी र बनकटवा गाबिसलाई अहिले पनि पुनर्वास क्षेत्र भनेर सम्बोधन गरिन्छ । यद्दपी राज्य पुनरसंरचना संगै यो क्षेत्र अहिले तत्कालिन पुनर्वास क्षेत्र सहित सयौं वर्षदेखि बस्दै आएका मुस्लिम तथा मधेसी समुदाय रहेको गाउँहरु समेत समेटेर खजुरा गाउँपालिका बनेको छ ।
यस क्षेत्रमा बस्ती बस्नु अगाडी घना जङ्गल थियो । जङ्गलका छेउछाउमा तराईबासी र केही थारुहरुको समेत बस्ती रहेका थिए । नेपाली प्रविधिकहरुले बस्तीको नक्साङ्कन गर्न नसके पछि इजरायली प्रबिधिकहरुले यस क्षेत्रको नक्साङ्कन गरेका थिए ।
यो बस्तीमा अङ्ग्रेजी अल्फावेटका अधारमा गांउहरुको नामाकरण गरिएको छ । सबै भन्दा पहिले ए, बी, इ र डि गाउँमा बस्ती बसालिएको थियो । प्रति परिवार २ बिगाहा जग्गा दिएर ४ सय ४ बिगाहा जग्गामा सबै भन्दा पहिले बस्ती बसाल्ने काम सुरु भएको थियो । यस गाउँहरुमा सुर्खेत, दैलेख र जाजरकोटका पैरोले पीडित भएकाहरुलाई जग्गा बितरण गरिएको थियो । त्यस लगत्तै एल गाउँ, के गाउँ र सी गाउँको स्थापना भएको थियो । ती गाउँहरुमा पनि प्रति परिवार २ बिगाहका दरले प्रत्येक गांउमा १ सय २ परिवारलाई जग्गा बितरण गरिएको थियो ।
जग्गा पाउँंदा यहाँंका बासिन्दाहरुले घना जङ्गल फडानी गरेर आफ्नो बस्ती बसालेका थिए । भनिन्छ, कतिपय त घनघोर जङ्गल देखे पछि जग्गानै नलिएर फर्केका पनि थिए । जग्गा पाएकाहरुलाई केही महिना तत्कालिन पुनर्वास कम्पनीले रासन समेत भरेको थियो । दिउसै जङ्गली जनावर भेटिने जङ्गल फडानी गरि बस्ती बसाल्दाको स्मरण गाउँलेहरुले मानसपटलमा अझै ताजा रहेको छ ।
इजरायली प्राबिधीकहरुले पुनर्वास क्षेत्रको बस्ती नक्साङ्कन गर्दा अत्यन्त बैज्ञानिक तरिकाले गरेका थिए । एउटा आधुनिक शहरको आकार दिइएको यस बस्तीमा प्रत्येक ४ परिवारका बिचमा चौक, चौडा सडक र हरेक चौकका बिचमा फुलवारीको कल्पना गरिएको छ । मानिसहरुलाई खेती योग्य जग्गा र जग्गा कै अगाडी घर बनाउने घर प्लटको ब्यवस्था प्राविधिकहरुले गरेका छन् ।
प्राविधिकहरुले अत्यन्तै बैज्ञानिक र एक बेलाको शहरका रुपमा परिकल्पना गरेको पुनर्वास क्षेत्रमा अहिले सम्म सहरिकरण हुन सकेको छैन । केहि वर्ष पहिलेसम्म नेपालगन्ज पछिको दोस्रो ब्यवसायिक केन्द्र रहेपनि पछिल्लो समय खजुरा क्षेत्र पछाडि पर्दै गएको छ । पहाडमा किसानका रुपमा रहेका किसानहरुका लागि इजरायली प्राविधिकहरुले शहरको ढांचामा यस क्षेत्रको परिकल्पना गरेपनि परम्परावादी किसानको बस्ती भन्दा फरक ढंगले खजुरा क्षेत्रको विकास हुन सकेको छैन ।
संस्कृतिमा धनी खजुरा क्षेत्र
पुनर्वास कम्पनि राजनितीकरुपले मात्र होइन र्सास्कृतिकरुपले पनि धनी रहेको छ । जन्मेको स्थान छाडे पनि छाडेको स्थानको नाम र संस्कृति भने पुनर्बास क्षेत्रका मानीसहरुले पटक्कै बिर्सेका छैनन् ।
आफ्नो जन्म स्थान छाडेको दशकौ बितिसक्दा पनि पुनर्वास क्षेत्रका मानिसले आफ्नो जन्म स्थानको भाषा र संस्कृति भने भुल्न सकेका छैनन् । सुर्खेतमा नाचिने सिङ्गारु टप्पा होस वा सल्यानको पैसेरी, जाजरकोटको बनगारी होस् वा दैलेखको ढाल तरबार । मेला पर्व वा चाडबाड आयो भने पुनर्वास क्षेत्रका बृद्ध देखि जवानहरु आाफ्नो संस्कृित देखाउन अग्रसर भै हाल्छन् ।
बिशेष गरि यस क्षेत्रमा सुर्खेतको सिङ्गारु टप्पा सबैभन्दा चर्चित नाचमा पर्दछ । महिलाहरुको भेषमा पुरुषलाई सिङ्गारेर नाचिने नाँच भएकाले यस नाचको नाम सिङ्गारु टप्पा रहन गएको संस्कृतिकर्मीहरुको भनाइ छ ।
उता मधेसी समुदायको नौटडी, बिराहा, कजरी जस्ता संस्कृतिहरु केहि दशक पहिले सम्म साबिक सोनपुर र उढरापुरमा भेटिने गरिएपनि झण्डै ३ दशक यता क्रमशः मधेसी संस्कृतिहरु लोप हुने अवस्थामा पुगेका छन् । खजुराको बसाई बहुभाषिक र बहुसांस्कृतिक रहेको पाइन्छ । पहाडी मधेसी मात्र नभएर यसै पालिका भित्र रहेको रनियापुर, सोनपुर र उढरापुरमा रहेका मुस्लिम समुदायले खजुराको बिबिधतालाई सिंगारेको छ ।
२०२३ सालमा बस्ती बसाले पनि सिंचाईको उचीत ब्यवस्था नहुंँदा बाँंकेका पुनर्वास क्षेत्रमा सिंचाईको ब्यवस्था नहुंदा अहिले सम्म पनि यहांका किसानहरु आकासको भरमा खेती गर्न बाध्य छन् । २०५६ सालमा पुनर्वासका जनतालाई भन्दै भूमिगत जल परियोजनाले डीप बोरीङ गाडेर सिंचाईको ब्यवस्था मिलाएको थियो । तर बोरीङ गाडेको महिना दिन पनि नचल्दै कतै बिद्युतको ट्रान्सफर्मर चोरी हुने र कतै गाडेको बोरीङ बिग्रेकाले किसानहरुले समस्या भोग्न बाध्य रहेका छन् । अवस्था अहिलेपनि उस्तै छ ।
जतिबेला पुनर्वास क्षेत्रमा सिंचाईको लागि भन्दै डीप बोरीङ गारियो त्यति बेला मुलुकमा जनयुद्ध उत्कर्षमा पुगिरहेको थियो । माओवादीकै आह्वानमा बिद्युत महसुल नतिर्ने अभियानमा लागेका सितापुरका जनताले नतिरेको बिद्युत युद्धकालपछि माओबादीले युद्धकालमा दिएको आश्वासन अनुसार मिनाहा गर्न नसके पछि बिद्युतले लाइन काटेर पनि कतिपय बोरीङ बन्द भएका छन् ।
त्यसो त पुनर्वास कम्पनिले पनि जग्गा दिएको केही बर्ष पछि प्रत्यक गाउँमा एउटा बोरीङ्ग गाडेको थियो तर पुनर्वासका कर्मचारी र केही स्थानीय जालीहरुको जालझेलमा परेर गाडेको केही महिना नबित्दै बोरीङको सामान हिनामीना गरेको स्मरण गाउँलेहरुका अगाडी ताजै रहेको छ ।
सिमा रक्षाका पहरेदार खजुराका जनता
बाँके जिल्लाको सैनिक गाउँ । बिगत ५० बर्ष पहिले पंचायती ब्यवस्थाले पुनर्वासको नाममा सैनिक गाउँ बसालेको थियो । नेपाल भारत सिमामा रहेको जङ्गली क्षेत्रमा बसालिएको बस्तीमा अधिकांस पेन्सन प्राप्त सैनिकहरुको बसोबास रहेको छ । नेपाली ब्रिटिस र भारतीय सेनाबाट निवृत्त भएका सैनिकहरुलाई सिमामा बसालिएको बिषय राष्ट्रियतासंग जोडिएको बिषय भएको जानकारहरुले बताउंदै आएका छन् । बांँकेको राधापुर गाबिसमा पर्ने सैनिक गाउँमा बसोबास गर्नेहरुलाई तत्कालीन सरकारले अघोषित रुपमा हतियार समेत उपलब्ध गराएर सिमा सुरक्षाको जिम्मा दिएको भनाइ अहिले सम्म पनि चर्चित छ ।
तत्कालीन अवस्थामा लगातार सिमा स्तम्भ हराउने, सिमा सार्ने, नेपाली भूमिबाट काठको तस्करी हुने जस्ता घटना हुन थालेपछि सिमामा बस्ती बसालिएको थियो । बस्ती बसाले लगत्तै भारतीय अपराधीहरुले लगातार लुटपाट गर्ने, नेपाली बस्तीमा आएर कुटपिट गर्ने जस्ता घटना घट्न थालेपछि सरकारले नै सैनिकका बासिन्दाहरुलाई बन्दुक उपलब्ध गराएको थियो । तर सैनिक अनुशासनमा बसेको त्यहांँका बासिन्दा बन्दुक सरकारले नभएर आफैले पल्टनबाट ल्याएको दाबी गर्दै आफ्नो सैन्य अनुशासन कायम राख्दछन् ।
बिक्रम सम्बत २०२३ सालमा नेपालका बिभीन्न स्थानमा बाढी पहिरो र प्राकृतिक प्रकोपमा परेकाहरुलाई पुनर्वास गराउने भन्दै तराईमा जग्गा बितरण गरिएकाहरु मध्य बाँंकेको सैनिक गांउमा पनि बस्ती बसालिएको थियो । सैनिक गांउमा तत्काल जग्गा प्राप्त गर्न पूर्व सेना नै हुनु पर्ने तत्कालीन सरकारले नीति बनाएको थियो । देशका बिभिन्न भागका पुर्व सैनिकहरुले आफ्नो पेन्सन पट्टा देखाएपछि मात्र उनीहरुले जग्गा पाएका थिए पुनर्वास कम्पनीबाट ।
सैनिक संस्कृतिमा हुर्केकै कारण त्यस बस्तीका नामहरु पनि सैन्य प्रकृतिको राखिएको छ । सुरुमा एस र जे गाउँ नाम राखिएको सैनिक गाउँलाई सबैको सल्लाहले बहादुरपुर र बिरपुर नामाकरण गरि गाउँलेहरुले बिरताको गाथा रचेका थिए ।
जग्गा पाउंँदा यहांका बासीन्दाहरुले घना जङ्गल फडानी गरेर आफ्नो बस्ती बसालेका थिए । कतिपयहरु त घनघोर जङ्गल देखे पछि जग्गानै नलिएर फर्केका पनि थिए । जग्गा पाएकाहरुलाई तत्कालिन पुनर्वास कम्पनीले रासन समेत भर्ने ब्यवस्था गरेको थियो । तर आफनै पौरखमा बिश्वास गर्ने पूर्वसैनिकहरुले पुनर्वासको नाममा इजरायल सरकारले उपलब्ध गराएको रासन अस्वीकार गरिदिए ।
पुर्व मेची होस अथवा पश्चिम महाकाली, हरेक स्थानमा नेपाल भारत बिचको सिमा दशकौ देखि विवादमा रहँंदै आएको छ । सुस्ताको घाउ अहिले पनि बल्झिनै रहेको छ भने बाँंकेको लक्ष्मणपुर र महाकालीको टनकपुरमा नेपाली लगातार लुटिंदै गैरहेका छन् । इलामको पशुपतिनगर आज पनि नेपालको पीडा बन्दै आएको छ । छिमेकी जिल्ला बर्दियामा भारतीय अर्धसैनिक बलका जवानहरु नेपाली भूमिमा पसेर बेपत्ता बनाइएका हर्कबहादुर शाहीको अवस्था अहिले पनि अज्ञात नै छ । तर सिमामा पूर्व सैनिकहरु बसाइएका कारण बांकेको सैनिक क्षेत्र र यस आसपासका क्षेत्रमा सिमाको बिबाद देखिएको छैन ।
किन भएन खजुराको बिकास ?
बाँकेको पुनर्वास क्षेत्रको बिकास नहुनुको मुख्य कारण पञ्चायती सरकारको यस क्षेत्रलाई हेर्ने बक्रदृष्टि नै हो । पहाडतिर राजनीतिमा प्रशिक्षित भएका गाउंँलेहरुलाई जग्गा दिएर पञ्चायतमा ल्याउने तत्कालीन सरकारको योजना सफल नभएपछि पञ्चायती सरकारको यस क्षेत्रमा सधै बक्रदृष्टि रहेको थियो । पहाडबाट बसांई सराई संगै कम्युनिष्ट बिचार पनि संगै लिएर आएका थिए पुनर्वास क्षेत्रका केही अगुवाहरुले । तत्कालिन नेकपा पुष्पलाल समूहको बलियो पकड रहेको त्यस क्षेत्रका २०२४ साल देखि नै कम्युनिष्ट संगठन रहेको थियो ।
बिस्तारै कम्युनिष्ट गतिविधि बढ्दै गए पछि पञ्चायती सरकारको पनि त्यस क्षेत्रमा नकारात्मक गतिविधि बढ्दै गयो । बिशेष गरि पुनर्वास क्षेत्रमा कम्युनिष्ट बिचार फैलाउनमा कम्युनिष्ट नेता सत्यदेव भट्टराई र बाबुराम गौतमको उल्लेख्य योगदान रहेको छ ।
कम्युनिष्ट पार्टीका प्रभावशाली ब्यक्तित्व नेकपा एमालेका तत्कालिन अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीले आधिकांस आफ्नो निर्वासित जिवन यसै क्षेत्रमा बिताउनु भएको थियो ।
गाउँमा कम्युनिष्ट प्रभावकै कारण तत्काल बिकास हुन नसकेको र राज्यको दृष्टिमा सधै पुनर्वास क्षेत्र पछि पारिएको हो भन्दा फरक पर्दैन । पञ्चायतकालमा पुनर्वास क्षेत्रमा सहकारी खेती गर्न थाले पछि तत्कालिन पुनर्वास कम्पनिका प्रबन्धक नारायण घिमिरेलाई भ्रष्टाचारको आरोप लगाउंदै बांँकेबाट काठमाडौ सम्म पैदल यात्रा गराइएको थियो । घिमिरेले बांँकेको गौघाट क्षेत्रमा सामुहिक खेतीको सुरुवात गराए लगत्तै उनीमाथी भ्रष्टाचारको आरोप लगाइएको थियो ।
पुनर्वास कम्पनिको नेपालमा भएका बिभन्न जन आन्दोलनमा पनि महत्वपूर्ण भूमिका रहेको छ । तत्कालीन अवस्थामा नेकपा माक्र्सबादी र त्यसपछि नेकपा एमालेको पकड रहेको बाँंकेको पुनर्वास क्षेत्रले जनयुद्धकालमा माओवादी नेता कार्यकर्तालाई पनि बलियो सेल्टर दिएको थियो । संविधानसभाको निर्वाचनमा बांँकेबाट माओवादीलाई जिताउन समेत पुनर्वास क्षेत्रको उल्लेख्य भूमिका रहेको थियो ।
यसरी नेपाली प्रजातान्त्रिक आन्दोलनमा अहम् भूमिका खेलेको पुनर्वास क्षेत्रमा सरकारको गलत दृष्टिकोण बनेकै कारण जग्गा मालिक बनेको ५३ बर्ष सम्म पनि जीवन स्तरमा खासै परिवर्तन हुन सकेको छैन । तराईमा कम्युनिष्ट गतिविधि अत्यन्त न्युन रहेका बेला तराईमा कम्युनिष्ट बिचारको बिगुल फुक्ने बांँकेको पुनर्वास क्षेत्र नेपालमा पटक पटक कम्युनिष्ट नेतृत्वको सरकार बन्दा पनि विकासले गति लिन सकेको छैन । आज यो महत्वपूर्ण मौका छ, स्थानीय तहदेखि प्रदेश हँुदै संघीय सरकारसम्म तिनै कम्युनिष्टहरुको सरकार रहेका बेला खजुरा गाउँपालिकाले ‘बृहत खजुरा सम्मेलन– २०७६’ आयोजना गरेको छ । त्यसैले यो सम्मेलनमार्फत सरकारको ध्यान बांँकेको पुनर्वास क्षेत्रमा पुग्न सम्मेलन महत्वपूर्ण सावित हुन सकोस्, शुभकामना । ( एबीसी टेलिभिजनका प्रदेश प्रमुख कर्माचार्य खजुराका स्थायी वासिन्दा हुन्)