नेपालगन्ज – भारतको उत्तरप्रदेश बहराइचमा आज सोमबार विधानसभाको उपनिर्वाचन हुँदैछ । त्यसका लागि शनिबार साँझदेखि सीमा नेपाल–भारत सिमानाको रुपैडिया लगायत बाँके– बर्दियाको सिमानाका बन्द गरिएको छ ।
आज मतदान सकिएपछि साँझ ६ बजेबाट नाका खुल्ला हुने प्रहरीले जनाएको छ । निर्वाचनमा कुनै सुरक्षा चुनौती हुन नदिन नेपाल– भारतका सुरक्षाफौजले सिमा क्षेत्रमा संयुक्त गस्ती बढाएका छन् ।
यद्धपी नेपाल प्रहरीले आपतकालीन यात्रुहरुको आवागमनमा सहजीकरण गरिएको जनाएको छ । भारतका विभिन्न ठाउँका रेल तथा प्लेनको टिकट लिइसकेका यात्रु, एम्बुलेन्स लगायत अत्यावश्यकीय यात्राका लागि भारतीय सुरक्षा अधिकारीहरुसँग समन्वय गरी भारत पठाइएको जमुनाह प्रहरी चौकी इन्चार्ज माधव रिजालले जानकारी दिए ।
शनिबार देखि सोमबार साँझ सम्मको लागी सीमा बन्द हुँदा नेपाल देखि भारत जाने अधिकाशं यात्रु सिमामै रोकिए पनि भारतबाट नेपाल तर्फ आउने यात्रुहरुलाई भने भारतीय सुरक्षाअधिकारीले नेपाल प्रहरी संगको समन्वयमा नेपाल प्रवेश गर्न दिएको रिजालले बताए । ‘साधारणतया नेपाल भारत सिमान बन्द भएपनि भारतीय सुरक्षा अधिकारीसंग समन्वय गरेर भारतबाट नेपाल आउने र नेपालबाट अत्यावश्यक कामकाज र यात्राको लागी भारत जाने यात्रुहरुको लागी सहजता प्रदान गरेका छौँ,’ रिजालले दैनिक नेपालगन्जसँग भने ।
शनिबार राती १० बजे सम्म भारतबाट नेपाल तथा नेपालबाट भारत जाने यात्रुहरुको दुबै देशका सुरक्षा निकायको समन्वयमा यात्रुहरुलाई आवतजावत गराएको थियो भने आइतबार पाँच हजार बढी यात्रुहरु नेपाल भित्रिएको जमुनाह प्रहरी चौकीले जानकारी दिएको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने यात्रु हरुमा विशेषगरी तिहार मनाउनका लागि नेपाल प्रवेश गर्ने तथा उपचार तथा अन्य प्रयोजनले केही समय भारत बसेर नेपाल फर्कनेहरुको संख्या ठूलो छ । नेपालबाट अत्यावश्यक काम, उपचार तथा लखनउ तथा दिल्लीबाट अन्यत्र उडान गर्ने यात्रु बाहेक सिमानामा सिमा बन्द बारे जानकारी नभएका नेपालगन्ज आसपासका बासिन्दाहरु खरिदारीका लागि रुपैडिया बजार जानेहरु पनि जमुनाह पुगेका थिए । आपतकालीन बाहेकलाई फर्काइएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले मतदान सकिए पछि नाका सुचारु हुने जानकारी दिएका छन् । सीमा बन्द गर्दै सीमावर्ती क्षेत्रमा गस्ती तथा निगरानी बढाइने सुरक्षा अधिकारीहरुले बताएका छन् । यसअघि भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा उपनिर्वाचनमा संयुक्त गस्तीको सहमति समेत भएको थियो ।