सहरमैं बाँदर आतंक :नेपालगन्जका घरभित्रै पस्न थालेपछि बाँदर व्यवस्थापनका लागि बजेट
मन भण्डारी /नेपालगन्ज
बिकट पहाडका दुर्गम गाउँवस्तीमा बाँदर आतंकका समाचार पढिरहेका नेपालगन्जवासी आफैं बाँदरको चपेटोमा परेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १६ जयसपुरवासी बादर आतंकको चपेटोमा परेका हुन् ।
बादर आतंक पछिल्ला दिनमा झन् जटिल बन्दै गएको भन्दै जयसपुरबासीले विभिन्न सरोकारवाला निकायमा समाधानका लागि गुहार लगाएको बताएका छन् । ‘तर, नियन्त्रण प्रयास प्रभावकारी भएन,’ लामो समयदेखि गाउँमै बस्दै आएका बाँदरको झुण्ड स्थानीयको घरमा पस्ने, बालनाली, तरकारीमा नोक्सानी गर्ने र मान्छेमाथि नै आक्रमण गर्न थालेपछि हैरान पीडतहरु भन्छन्, ‘अब त मान्छेमाथिनै आक्रमण हुन थालेको छ ।’
उपमहानगरपालिकाको वडा नं. १६ जयसपुरको वस्तीमा पसेर बाँदरले बालीनाली उखेलीदिने, घरभित्रै पसेर खानेकुरा र अन्नपात खाइदिने र मान्छेलाई समेत टोकेर हैरान गर्न थालेको स्थानीय रोशन अली अन्सारीले बताए । विगत लामो समयदेखि गाउँमा बाँदर आतंक बढ्दै गएको अन्सारीको भनाइ छ । बाँदरको डरले हातमा लठ्ठी बोकेर हिड्डुल गर्नुपर्ने र बस्नुपर्ने अवस्थाको सिर्जना भएको जानकारी दिंदै अन्सारीले भने, ‘कम्तीमा पनि २ सय देखि ३ सयको संख्यामा रहेका बाँदरको बास स्थाननै हाम्रो क्षेत्रमा हुने गरेको छ ।’ किसानहरु वाली जोगाउन रातदिन बारीमै जाग्राम बस्ने गरेका छन् । बाँदरले बारी मात्र नभएर घरभित्रै प्रवेश गरी भण्डारण गरिएको अन्न तथा पकाएर राखेको खाना समेत खाने गरेका छन् ।
बजारबाट घरको लागि भनेर लिदै गरेको तरकारी तथा बिभिन्न खानेकुरा समेत खोसेर खाने गरेका बाँदरलाई धपाउन स्थानीयलाई हम्मेहम्मे पर्ने गरेको स्थानीय बताउँछन् । ‘बारिमा फलेका काउली, टमाटर, मेवा, फर्सि, लौका, आलु लगायतका बालीनाली तथा तरकारी सखापै पारिदिने गरेकाले हैरान छौं,’ नेपालगन्ज– १६ का वडाध्यक्ष हनिफ जोलाहले दैनिक नेपालगन्ज सँग भने, ‘कतिपय किसानले बाँदरको डरले खेतबारी नै बाँझै राख्न थालेका छन् ।’ बाँदर आतंकबाट स्थानीयहरु हैरान भएर वडामा गुनासो आउन थालेपछि समस्या समाधान गर्न बिभिन्न उपाय अपनाएपनि समाधान गर्न नसकिएको वडाध्यक्ष जोलाहको भनाइ छ ।
स्थानीयका अनुसार, बाँदर नियन्त्रणका लागि बिगतका दिनहरुमा बिभिन्न संघ संस्था तथा स्थानी निकायले बिभिन्न कार्यक्रम, अन्र्तक्रिया तथा छलफल पनि गरेका छन् । बाँदर आतंक ब्यवस्थापनका लागि जिल्ला प्रशासन, उपमहानगरपालिका, बन डिभिजन कार्यालय लगायतका निकायसंग समन्वय तथा पत्राचार गरेको भएपनि कुनै निकायले सहयोग नगरेको वडा नं. १६ का सचिव सलाउद्धीन अन्सारीले गुनासो गरे । वडाले बाँदर ब्यवस्थापनका लागि भनेर यस बर्ष बजेटनै छुट्टयाएको भएपनि सम्बन्धित निकायबाट सहयोग नहुँदा समाधान गर्न नसकिएको अन्सारीको भनाइ छ ।
पछिल्लो समय त बाँदरले बालबालिका, बृद्धबृद्धा तथा जोसुकै एक्लै हिडेको देखेमा आक्रमण समेत गर्ने गरेको स्थानीय बताउँछन् । बाँदरको आक्रमणबाट धेरैको संख्यामा स्थानीयहरु घाइते भएको वडाध्यक्ष जोलाहले जानकारी दिंदै संख्यासँगै बाँदर आतंक झन बढ्दै गएको बताए । बाँदरको डरले घर बाहिर बालबच्चा छोड्न पनि सकिने अवस्था नरहेको स्थानीय मुन्नीकली अन्सारीले बताइन् । ‘बाहिर खाने कुरा तथा बालीनाली राख्यो की बाँदरले खाइहाल्छन्,’ उनले भनिन् ।