नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जको त्रिवेणीमोडमा स्वागत गेट निर्माण गर्ने भएको छ । संघले झण्डै ३२ लाख रुपैयाँको लागतमा गेट निर्माण गर्न लागेको हो ।
‘त्रिवेणीमोडबाट न्यूरोड जाने बाटोमा उत्तर दक्षिण मुख रहने गरी गेट निर्माण गर्न लागेका हौं’, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘त्यसका लागि ३१ लाख ४४ हजार ६ सय ९८ रुपैयाँ बराबरको टेण्डर समेत आव्हान गरेका छौं ।’ अध्यक्ष वैश्यले नगरको सौन्र्दयीकरण गर्ने उद्देश्यले गेट निर्माण गर्न लागिएको जानकारी दिएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघले यसअघि दाता जुटाएर त्रिभुवन चोकमा स्तम्भ र कारकाँदोमा घण्टाघर निर्माणको प्रस्ताव गरेको थियो । ‘जसका लागि १ करोड रुपैयाँ बजेट जुटाएका थियौं’, अध्यक्ष वैश्यले भने, ‘निर्माणका लागि सहमति जुट्न नसक्दा काम अगाडि बढ्न सकेको छैन ।’
जनआन्दोलनका बेला त्रिभुवन चोकमा रहेको राजा त्रिभुवनको शालिक तोडिएपछि चोकमा शालिक राख्ने स्तम्भ मात्रै रहेको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघले दाताको सहयोगमा त्रिभुवनका शालिक राख्ने ठाउँ छाडेर स्तम्भ निर्माणका लागि ६ महिना अघि काम सुरु गर्न लाग्दा विरोध सुरु भयो । पुरानो स्तम्भको ठाउँमा नयाँ आकर्षक स्तम्भ बनाउन खोजिएपनि स्थानीयबासीलाई जानकारी नभएको भन्दै विरोध सुरु भयो । संघले त्रिभुवन चोकमा स्तम्भ निर्माणका लागि उपमहानगरपालिकासँग अनुमति लिएपनि विरोधका बेला भने साथ पाउन सकेन ।
‘विरोध भएपछि हामीले काम अगाडि बढाएनौं’, संघका अध्यक्ष नन्दलाल वैश्यले भने । अहिले त्रिभुवन चोकमा जनचेतनामूलक प्लेस बोर्ड लगाएर पुरानो स्तम्भलाई छोपिएको छ । संघले ४५ दिनभित्र त्रिभुवन चोकमा नयाँ स्तम्भ बनाउने गरी अगाडि बढाएको काम रोकिएको ६ महिना पछि पनि पुनः सुरु हुन सकेको छैन ।
नेपालगन्ज उपमहानगरपालिकाले सर्वसम्मति जुटाएर काम अगाडि बढाउन भनेको नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी बताउँछन् । तर, संघ काम पनि गर्ने र विरोध समेत सहनुपर्ने भएकाले सहमति उपमहानगरपालिकाले नै जुटाएर निर्माणको अनुमति दिनुपर्ने बताउँदै आएको छ । निजी क्षेत्रले आफ्नै लगानीमा चोकको सौन्र्दयीकरण गर्दा स्थानीय तहको खर्च जोगिन्छ । ‘तर, त्यसका लागि वातावरण उपमहानगरपालिकाले बनाइदिनुपर्छ’, स्थानीय व्यवसायी भन्छन्, ‘बनाउन खोज्दा विरोध भयो, अहिले चोकलाई प्लेस ब्यानरले छोप्नु परेको छ ।’
संघले नेपालगन्जको कारकाँदोमा घण्टाघर बनाउने प्रस्ताव गरेको थियो । त्यसमा पनि सर्वसम्मति नजुट्दा काम अगाडि बढ्न सकेको छैन । पटकौं छलफल हुँदा समेत निष्कर्ष ननिस्केपछि संघ अहिले चुपचाप छ । ‘नगरको सौन्र्दयीकरणका लागि हामी सधै साझेदारी गर्छौं, तर सबैले त्यसमा साथ दिएमात्र काम अगाडि बढ्न सक्छ’, अध्यक्ष वैश्य भन्छन्, ‘त्रिभुवन चोक निर्माणका लागि ठेकेदारलाई पेश्की दिएर पनि काम रोक्नु पर्यो, त्यसैले कारकाँदोमा निर्माण गर्ने भनिएको घण्टाघरका लागि ठोस निर्णय नहुँदा सम्म काम अगाडि बढाउदैनौं ।’
पूर्व सूचना विना त्रिभुवन चोक स्तम्भ निर्माण गर्न लागिएको भन्दै विगतमा विरोध भएको थियो । त्यसैले संघले त्रिवेणीमोडमा गेट निर्माण अघि निर्माण बारे जानकारी दिन सूचना नै जारी गरेको छ । ‘निजी क्षेत्रले सघाउन खोज्दा प्रोत्साहन गरे त्यसले नगरलाई फाइदा हुन्छ भने स्थानीय तहको बजेट बचत हुन्छ’, स्थानीय व्यवसायी भन्छन् ।