रोजगारीको लागि भित्रिदै भारतीय जाँदै नेपाली

नेपालगन्ज – दशैं सकिएसँगै भारत रोजगारीका लागि जाने नेपाली र नेपाल रोजगारीका लागि भित्रिने भारतीयको संख्या बढ्दै गएको छ । नेपालगन्जको जमुनाह नाकाबाट दैनिक सयौं नेपाली भारत जाने र भारतीय नागरिक नेपाल आउने क्रम जारी छ ।

पछिल्ला दिन नेपालगन्ज जमुनाह नाकामा बन्दबस्तीका सामान सहितको युवा, बृद्धबृद्धा तथा केटाकेटीहरुको ठूलो भिड रोजगारीको लागि भारतबाट नेपाल प्रवेश गरेका छन् । बुधबार जमुनाह नाकामा भेटिएका भारतीय नागरिक रजनेश यादव परिवार सहित कामका लागि काठमाडौं जान लागेको बताए ।

उमेरले चालिस काटेका रजनेश यादव काठमाडौंको इट्टा भट्टामा काम गर्छन् । दुई छोरा र एक छोरी बोकेर नेपालगन्ज आइपुगेका यादव केही बर्ष देखि काठमाडौंमा काम गर्दै आएको बताउँछन् । ‘करिब तीन बर्ष भयो काठमाडौंको भट्टामा काम गर्न थालेको, अहिले परिवार नै लिएर जाँदै छु,’ यादवले दैनिक नेपालगन्ज संग बताए ।

रजनेश यादव जस्तै उनकै गाउँका बालादिप पनि काठमाडौं पुगेर इट्टा भट्टामा काम गर्नको लागि नेपालगन्ज आइपुगेका छन् । ३६ बर्षका छोरा बुहारी अनि नातीलाई साथमा लिएर नेपालगन्ज नाकामा आइपुगेका बालादिप काठमाडौंमा सजिलै काम पाउने भएकोले दशैं मनाएर काठमाडौं जानको लागि हिडेको बताउछन् । ‘काठमाडौंमा भट्टामा काम सजिलै पाइन्छ, त्यहीँ काम गर्न लागेको दुई दिन बर्ष भयो, दशैंमा काठमाडौंमा काम पनि बन्द हुन्छ त्यसैले दसैं मनाउन भारत फर्किएका थियौं,’ उनले भने ।

भारत बरेलीका राम निवास पनि रोजगारीका लागि नेपाल भित्रिंदै गर्दा सीमामा भेटिए । उनी आफ्ना साथीहरुसँग रोजगारीका लागि नेपालगन्ज नाका हुँदै काठमाडौं जाँदै थिए । ‘सहजै रोजगारी पाइन भएपछि यसपटक दशैं बिदा पछि थप साथीहरु लिएर आएको छु’, उनले भने ।

भारत कमाउन गएर दशैंका लागि नेपाल आएका नेपालीहरु पनि भारत फर्कन थालेका छन् । दशैं सकिएको हप्ता दिन नबित्दै रोजगारीको लागि पुनः भारत फर्किने क्रम बढ्दै छ । कालिकोट घर भै भारतको मुम्बईमा सुरक्षागार्डको रुपमा काम गर्ने अशोक थापा र उनका एक साथी बुधबार भारत फर्किएका छन् ।

नेपालमा रोजगारीको अभावको रहेको र स्वरोजगारको लागि सीप र लागतको अभावले रोजगारीको लागि बर्सेनी भारत जानुपरेको थापा बताउँछन् । ‘आफू संग हातमा सीप छैन, ब्यापार ब्यवसायको लागी लगानी गर्ने पैसा छैन अनि महिनादिन ढुक्कले काम गर्ने रोजगारी पाइदैन त्यसैले बाध्यताले गर्दा भारत बस्नुपरेको छ । आफ्नै गाउँ ठाउँमा बस्ने रहर त थियो नि ?’ थापाले दैनिक नेपालगन्ज संग बताए ।

पर्वको लागि भनेरै भारतका आसाम, मुम्बई, देहरादुन, गुहाटी, राजकोट, जस्ता ठाउँबाट बाँके संगै बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, अछाम, कालिकोट जिल्लामा फर्किएका नेपालीहरु पर्व सकिए संगै कामको लागि पुनः भारत हिडेका हुन् । भारतबाट आउनेहरु नेपालमा रोजगारी देख्छन् भने नेपालबाट जाने भारतमा ।

प्रतिक्रिया

प्रतिक्रिया