‘बृहत खजुरा सम्मेलन’को बारेमा यसो भन्छन् ,प्रमुख कक्षपति

नेपालगन्ज – ‘बृहत खजुरा सम्मेलन’ को तयारी तिब्र पारिएको छ । खजुरा गाउँपालिको आयोजनामा यसै साता कार्तिक ६ र ७ गते हुने सम्मेलनको मिति नजिकिएसंगै तयारी कार्यलाई तिब्र पारिएको गाउँपालिकाले जनाएको छ ।

खजुरा गाउँपालिका क्षेत्रमा पर्ने शैक्षिक संस्थाबाट आधारभूत तथा उच्च शिक्षा अध्ययन गरि बिभिन्न बिषयमा बिशेषज्ञ हासिल गरेर देश तथा विदेशमा रहेर काम गरिरहेका विषय विज्ञहरुलाई पालिकामा भेला गराइन लागिएको हो । नगरोन्मुख गाउँपालिका विकासको दीर्घकालीन योजना सहित नमुना पालिकाको रुपमा स्थापित गर्न ‘बृहत खजुरा सम्मेलन’ को तयारी गरिएको गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिए ।

कार्तिक ६ गते गाउँपालिका वडा नं. ३ स्थित ज्ञानोदय परिसरमा औपचारिक उद्घाटन हुने सम्मेलनलाई प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोख्रेलले प्रमुख आतिथ्यता प्रदान गर्दैछन् । उद्घाटन समारोहमा बिशिष्ठ अतिथिको रुपमा इजरायलका महामहिम राजदूत सहभागी हुने पक्का भइसकेको गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्जलाई बताए । बाँके जिल्लाबाट निर्वाचित संघ तथा प्रदेश सभाका सबै सांसद, जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तव, बाँकेका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरु लगायतको सहभागिता पनि रहने कक्षपतिको भनाइ छ ।

‘देशमैं यो नमूना अभ्यास हो,’ खजुरा सम्मेलनको तयारीमा ब्यस्त गाउँपालिका प्रमुख कक्षपतिले भने, ‘पहिलो पटक गर्न थालिएको बृहत खजुरा सम्मेलनमा बिभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरि खजुराको नमुना विकासका लागि दीर्घकालीन अवधारणा तयार गर्ने उद्देश्य राखिएको छ ।’ सम्मेलनमा सहभागी बिषय बिशेषज्ञबाट गाउँपालिकाले तयार गरेको १० बर्षे कार्ययोजना कार्यान्वयनका लागि सल्लाह सुझाब संकलन समेत गरिने अध्यक्ष कक्षपतिले जानकारी दिए ।

आयोजकका अनुसार, पहिलो दिन उद्घाटन समारोह खुल्ला रहनेछ । शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, अर्थ, कृषि, बालबालिका तथा महिला लगायतका १० वटा बिषयमा प्रत्येक विज्ञले अलग–अलग प्रस्तुत गर्ने कार्यपत्र तयार भइसकेको छ । कक्षपतिका अनुसार, अलग–अलग कार्य पत्रमाथि अलग–अलग विशेषज्ञहरुले टिप्पणी गर्ने र सम्मेलनका सहभागीहरुले आफ्ना धारणा र योगदानका लागि प्रतिबद्धता ब्यक्त गर्नेछन् । सम्मेलनको बन्द सत्र ७ गते सम्म चल्ने छ ।

सम्मेलन तयारीकै क्रममा बिहिबार सम्मेलन हुने ठाउँको स्थलगत अवलोकन गरि मंच ब्यवस्थापन, खानपिन ब्यवस्थापन लगायतको तयारीको लागि जिम्मेवारी बाँडफाँड समेत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसीले जानकारी दिए । विकासमा दीर्घकालीन योजनाको निर्माणसँगै पालिकाको बिकास र समृद्धिका लागि प्रत्येक नागरिकको अपनत्व, सहभागिता र सहकार्य खोज्ने अवधारणा अनुरुप बृहत खजुरा सम्मेलन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ ।

गाउँपालिकाबाट बिभिन्न क्षेत्रमा गइ काम गरिरहेका र अनुभव संगालेका बिभिन्न ब्यक्तिहरुलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरिसकिएको छ । अध्यक्ष कक्षपतिले दैनिक नेपालगन्जलाई बताए । सम्मेलनमा सहभागी बिभिन्न बिज्ञहरुबाट पालिकाको बिकासका लागि सहयोग पाउने अपेक्षा पालिकाको रहेको बताउँदै अध्यक्ष कक्षपतिले दैनिक नेपालगन्ज सँग भने ‘सम्मेलनले नमुना गाउँपालिकाको खाका तयार गर्ने छ ।’ खजुराले आफुलाई नमूना पालिकाका रुपमा विकास गर्न विभिन्न सूचक निर्धारण गरि अगाडी बढेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया