नेपालगन्ज – सामान्यतया दशैं विदाको लामो समयसम्म नियमित नहुने प्रत्यक्ष जनसरोकारका सरकारी कार्यालयहरु यसपटक भने समयमै नियमित पाइएका छन् । कार्यालय खुलेपनि कर्मचारी काममा नआउने रोग व्याप्त रहेको सरकारी कार्यालयको प्रवृत्ति यसपटक कमै दोहोरिएको पाइएको हो ।
दशैँको बिदामा बन्द रहेका सरकारी कार्यालय सोमबारदेखि नियमित रुपमा खुलेका हुन् । असोज १८ गते सप्तमीको दिनदेखि बन्द भएका सरकारी कार्यालय गत असोज २३ गते खुलेपनि सोमबारदेखि भने कामकाज संगै कार्यालय नियमित रुपमा खुलेको पाइएको छ ।
दशैँमा पाँच दिन सरकारी कार्यालय बन्द रहे । असोज १८ गतेदेखि २२ गते सम्म दशै बिदामा कार्यालय बन्द भइ २३ गतेदेखि खुले । तर, २५ गते शनिवार परेको र २६ गते आइतवार सरकारले चीनका राष्ट्रपति सी चिनपिङको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिएपछि सोमबारदेखि मात्र नियमित रुपमा कार्यालय खुलेका हुन् । कार्यालय खुलेसँगै कार्यालयमा विस्तारै सेवाग्राहीहरुको भिड पनि लाग्न थालेको छ ।
बाँकेका प्रमख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कार्यालय खुलेसँगै कर्मचारीहरु नियमित सेवामा खटिएको जानकारी दिएका छन् । उनले सेवाग्राहीहरुको भिड पनि लाग्न थालेको बताए । दशैंको विदा पछि जिल्ला प्रशासन कार्यालय बाँकेमा मै पनि दिन प्रतिदिन सेवाग्राहीको भिड बढ्दै गएको छ । बिभिन्न ठाउँबाट दशैं मनाउन घर आएकाहरु यति बेला नागरिकताको प्रमाण पत्र लिने तथा राहदानी वनाउने कामका लागि जिल्ला प्रशासन कार्यालयमा जान थालेपछि सेवाग्राहीको भिड ह्वात्तै बढेको हो ।
कार्यालयको सेवा नियमित भएसंगै सेवाग्राहीको भिड बढेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले दैनिक नेपालगन्जलाई बताए । दशै बिदा पछि कार्यालय नियमित भएको दोस्रो दिन मंगलबार सेवाग्राहीको भिड दशै भन्दा पहिलेको तुलनामा बढि देखिएको थियो । मंगलबार पहिलेको तुलनामा सेवाग्राहिको अत्याधिक चाप बढेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
पढ्नका लागि तथा बिभिन्न कामको सिलसिलामा बाहिर गएकाहरु दशै मनाउन घर आएको अवसरमा नागरिकता तथा राहदानी बनाउनेहरुको चाप अन्य दिनको तुलनामा बढेको बताउदै अन्य सेवा र परामर्शका लागि आउने सेवाग्राहीको संख्या पनि उत्तिकै रहेकोे प्रजिअ खड्को भनाइ छ । अन्य दिनको तुलनामा मंगलवार कार्यालयलाई थेगी नसक्नु सेवाग्राहीको उपस्थित रहेको जिल्ला प्रशासन कार्यालयमा कर्मचारीहरु समेत सबै काममा फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा मात्रै होइन बाँकेका सबै सरकारी कार्यालयहरुमा सेवाग्राहीको भिड लाग्न थालेको छ । बाँके स्थित अधिकांश कार्यालयका कर्मचारीहरु समेत दशैँ मनाएर कार्यालयमा हाजिर भएको पाइएको छ । दशैँ मनाउन घर गएका कर्मचारीहरु कार्यलय खुलेसंगै नियमित कार्यालयमा उपस्थित हुन थालेको प्रजिअ खड्काले जानकारी दिए । जिल्लाका कुनै पनि सरकारी कार्यालयमा कर्मचारी नभएको कारण सेवा नपाएको गुनासो नआएको प्रजिअ खड्काले भने । धेरै जसो कर्मचारीहरु स्थानीय नै भएको कारण समयमै कार्यालयमा हाजिर भएको बताउँदै खड्काले भने ‘टाढा घर भएका केही कर्मचारी बाहेक सबै नियमित कार्यालयमा उपस्थित भइसकेका छन्, जस्ले गर्दा सेवा प्रवाहमा कुनै समस्या आएको छैन ।’
दशैं बिदा र थप बिदा मिलाएर गएका कर्मचारीहरु पनि काममा फर्किएका छन् । ‘दैनिक जसो नियमित कार्य सुरु गरिएको छ’’, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले भने ‘सेवाग्राहीको चाप पनि विस्तारै बढ्न थालेको छ ।’ नेपालगन्ज उपमहानगरपालिकामा अहिले बिभिन्न किसिमको राजश्व तिर्ने र संघ संस्था तथा ब्यवसाय नविकरण गर्ने तथा सिफारिस बनाउने सेवाग्राहीहरु बढी देखिन्छन् ।
असोज मसान्त भित्र संघ संस्था तथा ब्यवसाय नविकरण गर्ने र कर चुक्ता प्रमाण पत्र लिने अन्तिम समय भएकाले यस्ता प्रकारका सेवाग्राहि बढेको प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले बताए । नेपालगन्ज उपमहानगरपालिकामा कार्यालय खुलेको दिन असोज २३ गतेदेखि नै कर्मचारीहरु कार्यालयमा उपस्थित हुन थालेको र दैनिक नेपालगन्ज पुग्दा सोमवार सबै कर्मचारीहरु उपस्थित भएको पाइयो । सेवाग्राहीलाई मर्का नपर्ने गरि सबै शाखाका कर्मचारीहरु काममा फर्किसकेको प्याकुरेलले जानकारी दिए ।
सेवाग्राहिको अत्याधिक चाप हुने कार्यालयको रुपमा रहेको भुमि सुधार तथा मालपोत कार्यालयमा पनि दशै बिदा पछि सेवाग्राहीहरु सेवा लिन आउन थालेका छन् । कार्यालय खुलेसंगै सेवाग्राहीको उपस्थिति बढेको देखिन थालेको हो । दशैं विदा सकेर कार्यालयमा कर्मचारीहरु काममा फर्किएपछि सेवाग्राहीको बाक्लो उपस्थिति देखिन थालेको भुमिसुभार तथा मालपोत कार्यालयका प्रमुख प्रेम दौल्यालले जानकारी दिए । टाढा घर भएका एकाध बाहेक सबै कर्मचारीहरु कार्यालयमा हाजिर भइसकेको र काममा नियमितता भएको प्रमुख दौल्यालले बताए ।
दशै बिदापछि कार्यालय खुलेसंगै बाँकेका प्रायःजसो सरकारी कार्यालयहरुमा सेवाग्राहीको भिड लाग्न थालेको छ । जिल्ला स्थित आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्था कार्यालय, नापी कार्यालय, लगाएतका सरकारी कार्यालयमा सेवाग्राहीको चाप देखिएको छ ।