सरकारी जग्गा किर्ते र हत्या प्रकरण : आठ जना धरौटीमा छुटे

नेपालगन्ज – सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा नामसारी गर्ने अभियोग लागेका ८ जनालाई जिल्ला अदालत कार्यालय बाँकेले धरौटीमा छाड्न आदेश दिएको छ । यसअघि पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश उच्च अदालतले सदर गरेको थियो । त्यसविरुद्ध सर्वोच्चमा परेको मुद्दामा सर्वोच्च अदालतले धरौटीमा छाड्ने फैसला गरेपछि जिल्ला अदालत कार्यालय बाँकेले धरौटी दिएको हो ।

तत्कालीन मालपोत अधिकृत पुष्पा श्रेष्ठ सहित ८ जनाले धरौटीमा छुट्ने भएका हुन् । अदालतले ७ जनालाई जनही १ लाख २५ हजार र १ जनालाई ५० हजार धरौटी तोकेको अधिवक्ता लोक बहादुर शाहले जानकारी दिएका छन् । धरौटीमा छुट्नेमा तत्कालीन मालपोत तथा भूमि सुधार कार्यालय बाँकेका नासु टंक प्रसाद शर्मा, खरिददार यज्ञश्वर वली, नासु राम बहादुर खड्का, खरिददार सुशिल रिजाल, लेखन्दास बृहस्पती खड्का लगायत छन् ।

प्रहरीले एउटा हत्याको घटना खोतल्दा सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा गर्ने सरकारी कर्मचारी सहितको गिरोह फेला पारेको थियो ।

२०७५ माघ २१ गते पार्टनरसिपमा जग्गाको काम गर्ने बाँके जिल्ला नेपालगन्ज उप–महानगरपालिका वडा नं. ३ बस्ने खैरुल हसन अन्सारीले र भारतीय नागरिक जुनेद अन्सारीलाई अपहरण गरी भारतको बाबागंज एरियामा लगि हत्या गरेको तथ्य बाँके प्रहरीले फेला परेको थियो । भारत बाबागंज एरियामा जुनेद अन्सारीको विभत्स हत्या भएपछि २०७५ फागुन २३ गते जुनेदकी श्रीमती गौरी मल्ल अन्सारीले जिल्ला प्रहरी कार्यालय बाँकेमा अपहरण गरी कर्तब्य गरी मारेको सम्बन्धमा जाहेरी दिएकी थिइन् । उक्त हत्या घटनाको अनुसन्धान गर्दा प्रहरीले खैरुल हसन अन्सारी सहित नेपाल र भारतका अन्य ५ जनाको संलग्नतामा जुनेदलाई अपहरण गरी कर्तब्य गरी हत्या गरेको तथ्य फेला पार्यो ।

हत्या घटनाको अनुसन्धानको क्रममा खैरुल हसन अन्सारी र (मृतक) जुनेद अन्सारीले मालपोत कार्यालयका कर्मचारीहरु संग मिलि सरकारी जग्गाका सक्कल कागजातहरु आफ्नो नियन्त्रणमा लिई मालपोत कार्यालयका कर्मचारीको सेटिङमा सरकारी जग्गा आफन्तको नाममा नामसारी गराउने गरेको फेला बाँके प्रहरीले पारेको थियो ।

जिल्ला बाँके खास कारकाँदो वडा नं. ०७ को कित्ता नं. २१० को ५ कट्ठा १३ धुर, सिक्टा सिचाई आयोजनाको कम्पाउण्ड भित्रको जग्गा ९ महिना पहिला खैरुल हसन अन्सारीले सरकारी कागज किर्ते गरी आफ्नो आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी श्रेस्ता कायम गरेको, नेपालगन्ज–३को कित्ता नं. १४ को ५ कट्ठा १३ धुर सरकारी जग्गा सरकारी कागज किर्ते गरी जुनेद अन्सारीको सासु लाली मल्लको नाममा जग्गा धनि दर्ता श्रेस्ता कायम गरेको, जिल्ला बर्दिया नेउलापुर गा.बि.स. वडा नं. ७ को कित्ता नं. १९१ ९(ख), ७, ८, ५०, ६१, ६३ को ६ बिगाह ३ कट्ठा १४ धुर सरकारी जग्गा खैरुल हसन अन्सारीको बाबुको नाममा दर्ता श्रेस्ता कायम गरी मिति २०७५ पुस १२ गते आमा हसरतुन निसा अन्सारीको नाममा नामसारी गरेको अनुसन्धानबाट खुलेपछि प्रहरीले अनुसन्धान कर्मचारी तर्फ सोझ्याएको थियो ।

बाँके, बर्दियाका मालपोत कार्यालयका सरकारी जग्गाका श्रेस्ता खैरुल हसन अन्सारीबाट जुनेद अन्सारीले आफ्नो डेरा कोठामा राख्ने गरेको पत्तो पाएको प्रहरीले जुनेदको कोठाबाटसरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा नामसारी भएका सक्कल कागजपत्रहरु बरामद गर्यो ।
बाँके प्रहरीले जिल्ला अदालतमा दायर गरेको हत्या, अहपरहण तथा सरकारी काजत किर्ते सम्बन्धी मुद्दामा २०७६ वैशाख १२ गते जुनेदको अपहरण हत्या र सरकारी कागज किर्तेमा पक्राउ परेका २ जना सर्वसाधारण, २ लेखन्दास र १२ कर्मचारीलाई पुर्पक्षका लागि थुनामा राख्ने र ३ जनालाई धरौटीमा राख्ने आदेश दिएको थियो । प्रहरीले ३१ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको थियो । बैशाखसम्म १२ जना फरार रहेका थिए । प्रहरीले ६ जनालाई अपहरण गरी कर्तव्य ज्यान मुद्दा, कर्मचारीलाई सरकारी कागज किर्ते मुद्दा लगाएको थियो ।
बाँके प्रहरीले फरार मध्येका थप सात जनालाई काठमाडौंबाट पक्राउ गरेको थियो । मालपोतका कर्मचारी उपर अख्तियारले समेत छुट्टै मुद्दा चलाएको छ । बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउने तत्कालीन प्रमुख मालपोत अधिकारी दीर्घ बहादुर पोखरेलसहित २८ जनाविरूद्ध अख्तियारले जेठ ३० गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले बाँकेका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड १६ लाख र बर्दियाका जग्गा व्यक्तिका नाममा पुर्याउँदा २ करोड ३० लाख भ्रष्टाचार भएको दावी गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया