नेपालगन्ज – नेपाल प्रहरीका एक जुनियर अधिकृतलाई आफ्नै प्रशिक्षार्थी प्रहरीमाथि यौन हिंसा गरेको गम्भीर आरोप लागेको छ । प्रदेश प्रहरी तालिम केन्द्र कर्णालीको नेपालगन्ज स्थित तालिम केन्द्रका प्रशिक्षक, प्रहरी नायब निरीक्षक बम बहादुर रानालाई प्रशिक्षार्थी प्रहरी बलात्कार प्रयासको गम्भीर आरोप लागेको हो ।
छनोटका सबै बेरियर पार गरी प्रशिक्षणमा रहेकी जाजरकोटकी प्रशिक्षार्थी प्रहरी युवतीलाई तालिम केन्द्र भित्रै रहेको महिला आवास भित्रै आइतबार राती जबर्जस्ती गर्न खोजेको आरोप लागेको छ । यद्यपि, युवतीका अभिभावकले प्रशिक्षक राना परिवार निकट नै भएकाले ‘सदासयतापूर्वक आवास पुगेको’ दाबी प्रहरी अनुसन्धानको क्रममा गरेको बताइएको छ ।
आरोपी प्रहरी नायब निरीक्षक रानालाई जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार हिरासतमा लिएको छ । सम्बद्ध स्रोतका अनुसार, प्रहरी तालिम केन्द्रका प्रमुख मसाउद आलम खाँले नै जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्राचार गरी कानुनी बमोजिम अनुसन्धान गर्न रानालाई जिम्मा लगाएको हो ।
‘जबर्जस्ती करणी उद्योगमा उजुरी परेकाले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले दैनिक नेपालगन्जसँग भने, ‘घटनाको प्रकृति हेर्दा अहिले नै यसै हो भन्न सकिने अवस्था छैन ।’ प्रहरी उपरीक्षक ओलीले संगीन आरोप लागेकाले नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपरेको बताए ।
प्रहरी स्रोतका अनुसार, सेवा निवृत्त हुने अवस्थामा पुगिसकेका प्रनानि राना २७ बर्षदेखि नेपालगन्ज स्थित प्रहरी तालिम केन्द्रमा प्रशिक्षकका रुपमा सेवारत छन् । ‘उनीप्रति अहिलेसम्म प्रश्न उठेको थिएन’, उनी सम्बद्ध प्रहरी अधिकारी भन्छन्, ‘जसले गुरु प्रति यौन हिंसाको आरोप लगायो उनी पनि उत्तीर्ण हुनुअघि रानाकै संरक्षणमा थिइन् ।’
महिला आवास क्षेत्रमा प्रवेश गर्दा प्रहरी हुनुपर्ने अनिवार्य व्यवस्था पालना नगरेकाले रानालाई तालिम केन्द्रका कमाण्डेन्टले दोषी आशंका गर्दै अनुसन्धानका लागि जिल्ला प्रहरीलाई पत्राचार गरेको बताइएको छ । ‘गुरु जहाँ कहीँ जान सक्छन्, तर महिला आवास तिर जाँदा अर्को महिला साथमा हुनुपर्छ’, प्रहरी अधिकारी भन्छन्, ‘रानालाई एक्लै ती महिलाको कक्षमा भेटिएपछि सिनियर अधिकृत समक्ष आफुमाथि जबर्जस्ती प्रयास भएको आरोप लागेको हो ।’ रानामाथि आशंका उब्जिएपछि सोधखोजका क्रममा उनी महिलाको भेटिएको दाबी तालिम केन्द्र स्रोतको छ ।
बाँके प्रहरीले मंगलबार आरोपी रानालाई अदालत उपस्थित गराई बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएको छ । घटनालाई कर्णाली प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले नै गम्भीरतापूर्वक लिएर कारवाही गर्न तालिम केन्द्र कमाण्डेन्टलाई आदेश दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्राचार गरी रानाको जिम्मा लगाइएको सम्बद्ध स्रोतको दाबी छ ।