सहकारीमा करोडौं अपचलन प्रकरण : सडकमा बचतकर्ता (भिडियो)

नेपालगन्ज – सहकारी वित्तीय विकास संस्था नेपालगन्जका बचतकर्ताहरुले आफ्नो बचत फिर्ता सुनिश्चित हुनुपर्ने भन्दै मंगलबार नेपालगन्जमा प्रदर्शन गरेका छन् । सहकारीका पीडितहरुले सहकारीको कार्यालय, जिल्ला सहकारी संघ, जिल्ला अदालत, जिल्ला सरकारी वकीलको कार्यालयमा पुगेर प्रदर्शन गरेका हुन् ।

दोषीलाई कारवाही र बचत फिर्ताका ग्यारेन्टी गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुले सरकारले अनुमति दिएर सञ्चालित सहकारीबाट आफुहरु ठगिएकाले रकम फिर्ताका लागि सरकारले नै ठोस कदम चाल्नुपर्ने बताएका छन् । ‘दोषीलाई कानुनी कारवाहीको एउटा पाटो होला तर, हामीले दुःख गरेर जम्मा गरेको पैसा फिर्ताको ग्यारेन्टी पनि हुनुपर्छ’, प्रदर्शनमा उत्रिएकाहरुले भने ।

‘मुद्दा अदालतसम्म पुग्न नै महिनौ बितिसक्यो’, उनीहरुले भने, ‘दर्जनौं दोषी छन्, अधिकांस फरार छन् ।’ ‘अझ अदालती कारवाही कहिलेसम्म चल्ने ? हामीले पैसा फिर्ता कहिले पाउने हो, त्यसको ग्यारेन्टी कसले गर्ने’, बचतकर्ताहरुले आफ्नै रकम फिर्ता लिन सकस भोग्नु परिरहेको अवस्थामा सरकारले वेवास्ता गरिहरहेको भन्दै आक्रोश व्यक्त गर्दै भनेका छन् ।

५२ करोड कुल पूँजी रहेको सहकारीमा ३८ करोड रुपैयाँ अपचलन भएको पछिल्लो प्रतिवेदनमा समेटिएको छ । दशैंका बेला समेत बचतकर्ताले रकम पाएनन् । अब दिपवाली र छठमा पनि उनीहरुले पैसा फिर्ता पाउने सम्भावना छैन । ‘बिहेबारी, पर्व तथा बिरामी हुँदा समेत उपचार गराउन समेत नसक्ने अवस्थामा बचतकर्ता छन्’, बचतकर्ताको रकम फिर्ताका लागि पहल गर्न गठित संघर्ष समितिका अध्यक्ष विजय गुप्ताले भने ।

प्रदर्शनमा सहभागी परसपुरका अकबाल बेहनाले ८ लाख भन्दा बढी रकम सहकारीमा फसेको बताए । ‘प्रदर्शनले दबाब सिर्जना होला र पैसा पाइएला भन्ने आशामा आएका हुँ’, उनले दैनिक नेपालगन्जसँग कुरा गर्दै भने, ‘अब सरकारकै भरासो छ, उसैले न्याय गर्नुपर्छ ।’
बेहना जस्तै बिर्ताका बिर्खु प्रसाद पनि पैसा फिर्ता हुने आशामा धेरै पटक प्रदर्शनमा सहभागी भएका छन् । उनको पनि ६ लाख रुपैयाँ सहकारीबाट पाउनु पर्नेछ । ‘सहकारीले १० प्रतिशतले फिर्ता गर्दै जाने भनेको थियो, अहिले त झन् एक्कासी बन्द गरियो’, बिर्खुले भने ।
प्रेमलाल लोहारले यसअघि सहकारीले १० प्रतिशत फिर्ता गर्दा समेत एक रुपैयाँ पाएनन् । सहकारीको कार्यालय नै बन्द भएपछि झन् निराश छन् उनी । ‘ग्राह्रो पर्दा काम लाग्दा भनेर १० लाख रुपैयाँ राखेको थिए’, उनले भने, ‘अहिले आफ्नै पैसाका लागि सबै काम छाडेर सडक उत्रनु परेको छ ।’

प्रहरीले समेत बचतकर्ताहरुसँग दुई पटक बचत रकम दाबी गर्नका लागि प्रमाण सहित उजुरीको आग्रह गरेको थियो । प्रहरीले मुद्दा सरकारी वकिल कार्यालयमा पुर्याइसकेको छ । त्यहाँबाट मुद्दा अदालत जाने तयारीमा छ । त्यसैले बचतकर्ता जिल्ला अदालत बाँकेमा पुगेर समेत प्रदर्शन गरेका हुन् । अदालतमा उनीहरुले अदालतमा मुद्दाको छिनोफानो छिटो गरिदिन र दोषीलाई कारवाही गर भन्दै नारा लगाएका थिए ।

जिल्ला सहकारी संघ बाँकेमा पुगेका पीडितहरुलाई अध्यक्ष प्रेम सुवेदीले आफुले बचत रकम सुरक्षित होस् भन्ने उद्देश्यले सक्दो प्रयास गरिरहेको बताएका थिए । ‘हामी पीडितहरुको साथमा छौं’, उनले भने । पीडितहरुलाई धैर्य गर्न आग्रह गर्दै भने, ‘कानुनी प्रक्रियाका कारण केही ढिलाई हुन्छ, तर बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनेछन् ।’
पीडितहरुले जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेर दोषीहरु नउम्कने बचत फिर्ता हुने गरी अदालतमा मुद्दा लग्न आग्रह गरेका थिए ।
सहकारी वित्तीय विकास संस्था नेपालगन्जमा भएको करोडौं अपचलन प्रकरण बाहिर आएको पाँच महिना पुग्न लागिसकेको छ । सुरुमा अपचलन स्वीकारका कर्मचारीहरुले रकम फिर्ता गर्ने बताएपछि पनि प्रतिबद्धता पूरा नगरेपछि प्रहरीले कानुनी कारवाही सुरु गरेको थियो । प्रहरीले विज्ञ समूह तयार गरी अपचलनको प्रकरणको अनुसन्धान गरेपनि त्यसअघि नै पूर्व कार्यसमितिलाई समेत ३५ जनालाई पक्राउ पूर्जी जारी गरेको थियो । सम्बद्ध स्रोतको अनुसार आज बुधबार जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता हुनेछ । जसमा झण्डै ४० जना विरुद्ध अभियोग लगाइने बताइएको छ ।

सहकारीको समस्यालाई लिएर काठमाडौं पुगेर गभर्नर र सहकारी विभागका पदाधिकारीलाई भेटेको संघर्ष समितिका संयोजक विजय गुप्ता बताउँछन् । ‘तर कहीँबाट सोचेजस्तो साथ पाएनौं’, उनले भने । ‘धितो राखेर ऋण लिएकाहरु ऋण तिर्न चाहेमा पनि अहिले कसलाई बुझाउने भन्ने समस्या छ’, उनले दैनिक नेपालगन्जसँग भने, ‘सरकारले रकम फिर्ता गर्न चाहने ऋणीबाट फिर्ता लिएर बचतकर्तालाई फिर्ता गर्ने व्यवस्था मिलाइदिनुपर्छ भन्ने हाम्रो माग हो ।’

हेर्नुस् भिडियो

प्रतिक्रिया

प्रतिक्रिया