प्रदेश पाँचका मुख्यमन्त्री चीन पुगे

बुटवल – मुख्यमन्त्री शंकर पोखरेलले नेपाल र चीनबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध राष्ट्रपति सि चिनफिङको हालै सम्पन्न भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनुभएको छ । उहाँले राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ ढंगले अघि बढ्ने बताउनु भयो ।

चीनको छेन्दुमा विकास र सहकार्यका लागि विआरआई सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उहाँले नेपाल र चीनबीचको लामो मैत्रीपूर्ण सम्बन्धले आपसी हित र सहकार्यमा फाइदा पुगेको र आगामी दिनमा सहकार्य अझ फराकिलो हुने विश्वास व्यक्त गर्नुभयो । दुई मुलुकबीच भाइ भाइको सम्बन्ध छ, त्यही अनुसार सहकार्य र सहयोग गर्दै आएका छौं उहाँले भन्नुभयो हिमाल र नदीले जोडिएका दुई मुलुकबीचको सम्बन्ध राष्ट्रपतिको भ्रमणले अझ बलियो भएको छ ।

उहाँले छिमेकको विकासलाई साथ साथै अघि बढाउन चीनले अघि सारेको विआरआईप्रति नेपालले समर्थन गरिसकेको स्मरण गर्दै विकास र सहकार्यका लागि विआरआई महत्वपूर्ण रहेको बताउनुभयो ।
सम्मेलनमा सहभागीहरुलाई मुख्यमन्त्रीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा स्वागत गर्न चाहेको बताउदै बौद्ध दर्शनको उद्भव स्थल लुम्बिनी भ्रमणको लागि अनुरोध गर्नुभयो ।

सिचुवान प्रान्त र प्रदेश ५बीचको भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको र यो सम्बन्धले अनुभव आदान प्रदान र धेरै क्षेत्रमा ढोका खोलेको उहाँले बताउनुभयो । सिचुवान र प्रदेश ५ बीच तीन महिना अघि भगिनी सम्बन्ध कायम गर्ने समझदारीमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया