नेपालगन्ज -हरेक बिहान नेपालगन्जको त्रिभुवन चोक पुग्ने हो भने नास्ता खानेहरुको लामै लस्कर सडक छेउमै देख्न सकिन्छ । चना, कचौरीदेखि हलुवा, पराठा अनि विभिन्न परिकार ठेला पिच्छै पाइन्छन् । बिहानको ताजा हावा संगै नास्ता त्रिभुवन चोकको पर्यावाची जस्तै बनेको छ । त्रिभुवन चोक बिहानमा मात्रै हैन साँझमा झनै गुल्जार बन्छ । सडकमै उभिएर पानीपुरी, चाट अनि पानमा रमाउने भिड उस्तै ठूलो छ । त्यसैले त उनीहरुको व्यापार सडकमै केन्द्रित बन्दै गएका छन् ।
बिहान र बेलुका त्रिभुवन चोकमा जस्तै देखिने भिड साँझको समयमा नेपालगन्ज उपमहानगरपालिका छेउमा तरकारी किन्नेहरुको देख्न सकिन्छ । अति नै ब्यस्त जीवनशैली अनी मुख्य सडक, कार्यालय देखि घर र साँझको समयमा वाक गर्नेहरुको लागि उपमहानगरपालिका छेउको सडक साँझ परेपछि हाटबजार जस्तै बन्छ । त्यसैको अलिक पर नर्सिङ होम छेउ पुग्ने हो भने चाट, मःमः, चाउमिन देखि रोष्ट, माछा र मासु अनि बदाम तथा फलफुलको बेच्ने र खानेको भिडले बजार चहलपहलमय बनेको देखिन्छ ।
सधैं भिड अनि चहलपहलमय बन्ने यी दुई स्थान नेपालगन्जकै केन्द्र जस्तै लाग्छन् । हुनत यी दुई स्थानमा मात्रै सडकमा व्यापार भएको भने होइन । नेपालगन्जका हरेक स्थान सडक ब्यापारको लागि छुट्टाछुट्टै महत्व बोकेका छन् । खानाको परिकारको लागि चर्चित रहेको त्रिभुवन चोक साझको समय चाट र पानीपुरी पारखिको लागि पहिलो रोजाइ बन्ने गर्छ भने तरकारी खरिद गर्नाका लागि सब्जी मण्डि पछिको दोस्रो भिड उपमहानगरपालिका छेउको सडग । त्यस्तै माछा तथा फ्राइड मासुको लागि बिटिएस चोक ।
बिटिएस चोकैमा शाकाहारी बिरियानी बेच्दै आएका नेपालगन्ज ११ पासाङलाह्मु मार्गका ओमकार शाहु दिनमा ४ देखि ५ सय प्लेटसम्म बिरियानी बेच्छन् । एकाविहानै देखि सुरु हुने उनको व्यापार साँझ ५ बजे सम्म निरन्तर चल्छ । बजारमा कामकाजले हिड्ने बटुवा उनको प्रमुख ग्राहक हुन् । फुल प्लेट शाकाहारी बिरियानीको ३० र हाफको २० मूल्य रहेको उनको ठेलामा राम्रै भिड देख्न सकिन्छ ।
उनी जस्तै सडकमा फरक प्रकृतिको व्यापार गर्ने मध्यका एक हुन् भृकुटीनगर नेपालगन्जका मोहन कठायत । गणेशमान चोकमा लामो समय देखि जुस भ्यानमा जुसको व्यापार गर्ने उनले सरदर दैनिक तीन सय गिलास जुस बेच्ने गर्छन् । पशुपति शोडा सप नामको कम्पनी दर्ता गरेकै भएपनि उनको व्यापार भने सडक केन्द्रित नै छ । लिची, लेमन, मसला सोडा, कोला, पाइनापल, स्टबेरी, ओरेन्ज, डिउ जस्ता फ्लेवरमा जुस बेच्ने पशुपति सोडा सपले भने उपमहानगरपालिकाले विभिन्न समयमा सडकमा व्यापार गर्न नदिएको कारण आउने सिजन देखि भने सटरमै सार्ने योजना बनाएको भएपनि सडकमा जस्तो ब्यापार सटर नहुने कडायत जिकिर गर्छन् ।
पशुपति सोडाको नेपालगन्जमा दुई वटा भ्यान र एउटा बाँके गाउँमा एउटा सटरमा सप भएपनि सटरको ब्यापार न्यून रहेको बताउँछन् । विवाह पार्टी र नगर भरी हुने इभेन्टमा समेत पुग्ने उनको मोबाइल जुस भ्यान सडक केन्द्रित फरक व्यवसाय समेत हो ।
उमेरले ४८ नाघेका नेपालगन्ज घरवारी टोल बस्ने सन्तोष गुप्ता औद्योगिक क्षेत्रको अगाडी सोमबार साँझपख उदास झै थिए । उनी औद्योगिक क्षेत्र अगाडीको सडक छेउमा लस्करै कपडा राखेर व्यापार गर्न बसेका थिए । ग्राहकको पर्खाइमा रहेका गुप्ता जीवन गुजारा गर्नैका लागि दिनभर सडक छेउमै रहन्छन् । गुप्ताकै उमेरका लङगड लोहारको घर गोसाइ गाउँ हो । बिहानै आफ्नो औजार बोकेर बायु सेवाको छेउमा लोहारको काम गर्न आइपुग्छन । हरेक मौसममा फलाम पिट्दै फलामलाई विभिन्न आकार र प्रकार दिएर सामाग्री बनाउने उनको जीवन भने २८ बर्ष देखि सडक छेउमै फलाम पिट्दैमा बितेको छ । सात जना परिवार पाल्ने जिम्मेवारी रहेको लोहारको दैनिक कमाइ भने ५ देखि सात सय सम्म हुने बताउँछन् ।
४८ वार्षीय गुप्ता र लोहारको दुखेसो भने एउटै छ, ‘कहिलेकाहीँ उपमहानगरपालिकाले सडकमा व्यवसाय नगर्न भन्छ, बसेको ठाउँबाट लखेटिनु पर्छ, तर के गर्नु हामी संग अर्को कुनै उपाय नै छैन । हामी गरिबले यति नगरे कसरी गुजारा चलाउने ?’
नेपालगन्ज गणेशपुरका दिपा र उनकै छिमेकीले न्युरोडको पेटिमा राखिएको चप्पल पसलमा चप्पल रोज्दै थिए । देवाफुलबारिका अजय बर्मा भने उनीहरुलाई चप्पल देखाउदै थिए । अजयको सडक ब्यापारको यथार्थ भने अलिक फरक रहेको सुनाउछन्, ‘यी चप्पलहरु पुरानो डिजाइनका भए, त्यसैले सस्तोमा बेच्नकै लागि यहाँ राखेको, पसलबाट सस्तोमा बेच्दा व्यापार बिग्रिन्छ ।’
अजयको संगै न्युरोडमा पनि लस्करै केही पसलहरु सडकमा थिए । केही मिटरको दुरिमा भेटिने फास्टफुडको ठेला र साना व्यापार भने सजिलै देख्न पाइन्छ । नेपालगन्जको धम्बोझी चोक तथा खजुरा रोड फलफुल, सदरलाइन नास्ता, फलफुल तथा तरकारी, बिपि चोक नास्ता तथा फलफुल, भेरी हस्पिटल रोड फलफूल, तरकारी तथा नास्ता जस्ता सडक ब्यापारको लागि परिचित रहेको छ ।
अति ब्यस्त जीवनशैली, सस्तो तथा सहजरूपमा खरिदार गर्न सकिने भएको हुँदा सडक ब्यापारमा आकर्षण बढेको हो । करको दायरामा आउनु नपर्ने, महंगो भाडा तिर्नु नपर्ने र परिवार खर्च धान्न राम्रै व्यापार हुने भएकाले सडक व्यापारमा आकर्षण बढेको बताउँछन् श्याम चौधरी ।
नेपालगन्ज उपमहानगरपालिका अगाडि तरकारी ब्यापार गर्दै आएका मुक्तियार राई सब्जी मण्डिमा भन्दा सडकमा सस्तो र ताजा तरकारी पाइने जिकिर समेत गर्छन् । तर, उनको र उनी संगै ठेलामा तरकारी राखेर व्यापार गर्दै आएकाहरुको एउटै गुनासो भनेको प्रहरी तथा उपमहानगरपालिकाले बेलाबखत हुने दुःख । ‘हाम्रो रोजिरोटी नै यहि हो, अब भित्र मण्डिमा दैनिक १०० रुपैयाँ भाडा हामीले तिर्न सक्दैनौं यहाँ ब्यापार गर्दा हटाउन भन्छन्’, राइले बताए । सडक नै अवरोध हुने गरी व्यापार गर्न अस्तव्यस्त हुने ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिकाले सडक पेटी खाली गराउने गरेको हो । ‘सडकमा व्यापार गर्नेहरुका लागि उचित व्यवस्थापन गरे रोजगारी पनि नगुम्ने सडक पनि व्यवस्थापन हुनसक्छ’, रामेश्वर शर्मा भन्छन् ।
राई र उनी जस्ता सयौंको संख्यामा रहेका सडकमा ब्यापार गर्ने ब्यापारीहरुले आफ्नो गुजारा संगै नेपालगन्जलाई चहलपहलमय समेत बनाएका छन् । विभिन्न समयमा उपमहानगरपालिकाले सौन्र्दय र सडक व्यवस्थापनका लागि सडक ब्यापारलाई हटाउने प्रयास गरेपनि सडक ब्यापार भने मौलाउँदो छ । अधिकांश सडक ब्यापारीहरु जीवन गुजारा गर्नैकै लागि सडकमा व्यापार गर्न बाध्य रहे पनि नेपालगन्जको बिकास संगै उनीहरुको उचित ब्यवस्थापन गर्नु उचित हुन्छ ।