नेपालगन्ज – नेपालगन्जमा निर्माण गरिएको आधुनिक बसपार्क र नगरबसको आज शनिबार प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
उद्घाटनका क्रममा मुख्यमन्त्री पोखरेलले नेपालगञ्जले गरिरहेको विकासको मुक्तकण्ठले प्रशंसा समेत गरेका छन् । नेपालगन्ज बसपार्कको उपमहानगरपालिकाले गत असोज १२ गते देखि बसलाई भित्रबाटै सञ्चालनको व्यवस्था गरेको थियो ।
निर्माण सुरु भएको साढे तीन बर्ष पछि नेपालगन्जको अत्याधुनिक बसपार्क उद्घाटन पछि औपचारिक रुपमा सञ्चालनमा आएको हो । १५ महिना निर्माण सम्झौता भएपनि बसपार्क पुर्ण रुपमा तयार हुन साढे तीन बर्ष लागेको हो । बसपार्कका लागि युनाइटेड बिल्डर्ससंग २०७२ चैत्रमा १४ करोड ९४ लाखमा सम्झौता भएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि मात्रै बसपार्क निर्माणले तिब्रता पाएको थियो ।
१६ करोड १६ लाख रुपैयाँको निर्माण लागत रहेको नेपालगन्ज बसपार्क र नगर बसको उद्घाटन पछि मुख्यमन्त्री पोखरेलले जनप्रतिनिधि आइसकेपछि नेपालगञ्जले पकडेको विकासको लयदेखि आफू खुसी भएको बताएका छन् ।