‘लापरवाहीले गाईको मृत्यु’

नेपालगन्ज उपमहानगरपालिकाले गठन गरेको छानविन समितिले लापरवाहीका कारण गाईको मृत्यु भएको प्रतिवेदन बुझाएको हो

नेपालगन्ज – लापरवाहीका कारण गाई, गोरुको मृत्यु भएको आशय सहितको प्रतिवेदन नेपालगन्ज उपमहानगरपालिकाद्वारा गठित छानविन समितिले बुझाएको छ । नेपालगन्ज– २१ स्थित बिर्तामा रहेको निर्माणाधीन कान्जीहाउसबाट गत भदौ १२ गते २ सय ९१ वटा गाईगोरुहरु ८ वटा ट्रकमा सुर्खेत हँुदै दैलेखको श्रीस्थानसम्म लैजाने क्रममा सुर्खेतको कटकुवा लगायतका स्थानमा अनलोड गरेका गाईगोरु मध्ये केही मृत तथा घाइते भएको फेला परेको थियो । गाई, गोरुको मृत्यु भएपछि उपमहानगरपालिकाले छानबिनका लागि अधिवक्ता विकास आचार्यको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाएको हो । विभिन्न घटनामा हुने छानविन समितिले प्रतिवेदन बुझाउने बाहेकको काम नगर्ने भएपनि गाई, गोरु मृत्यु घटनामा गठित समितिले प्रेस नोट जारी गरी प्रतिवेदनमा समेटिएका विषयका बारेमा जानकारी दिएको हो ।

‘समितिले स्थलगत निरीक्षण, अनुगमन तथा सरोकारवाला निकाय र व्यक्तिहरुबाट संकलित तथ्यका आधारमा निष्कर्षमा पुगि तयार गरेको प्रतिवेदन उपमहानगरपालिकालाई बुझाएको हो’, छानविन समितिका प्रवक्ता अधिवक्ता बसन्त गौतमले भने । प्रतिवेदनमा नेपालगन्जको कान्जी हाउसबाट सुर्खेत दैलेख लैजाने क्रममा ३९ वटा गाईगोरु मृत अवस्थामा पाइएको उल्लेख छ । ‘सुरक्षित रूपमा पशु ढुवानी मापदण्ड पूरा नगरी ढुवानी गरेको, ढुवानीकर्ता र जिम्मा दिइएका कर्मचारीहरुले आवश्यक सतर्कता नअपनाएको र सम्बन्धित निकायमा समयमै सूचना नगरेको कारण अकल्पनीय घटना हुन पुगेको स्थलगत अनुगमन र छानविनका क्रममा उपलब्ध तथ्यहरुले देखाएको छ’, छानविन समितिले मंगलबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

समितिले गाई, गोरुको मृत्यु नियोजित हत्या नभई समयमै अपनाउनु पर्ने सतर्कता नअपनाई लापरवाहीका कारणबाट भएको जनाएको छ । ‘उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय, बाँकेलाई गाईगोरु ढुुवानीको लागि सहजीकरण गरी दिन पत्राचार गरेको देखिन्छ । तर, दैलेखबाट गाईगोरु माग गरिएका कागजात लगायतका प्रमाणको कुनै अध्ययन नै नगरी अनुमति दिएको छानविनका क्रममा देखिएको छ’, समितिले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ, ‘ढुवानी गर्न सम्बन्धित जिल्लालाई बोधार्थ दिएको सिफारीस पत्र सम्बन्धित कार्यालयहरुमा चलानी गरेर पठाएको देखिएन ।’

‘घटनाको स्थलगत अनुगमन, सम्बन्धित सरोकारवालाहरुसंगको बयान र छानविनबाट गाई गोरुको ढुवानी गर्दाकोे कमजोर व्यवस्थापन कारणले घटना हुनुको एउटा कारण हो भने पशु ढुवानी मापदण्ड विपरीत एउटै ट्रकमा ५५ वटासम्म गाईगोरु राखेर ढुवानी गरेको पाइएको र ढुवानी गर्दा वीचवीचमा पशुको अवस्थाको बारेमा ख्याल नगरिएको र नबाँधिकन ट्रकमा गाईगोरु ढुवानी गर्दा पहाडी क्षेत्रको उकालो ओरालोमा एक आपसमा ठोक्कीने र निसास्सिएर पशु घाइते हुनसक्ने तर्फ पनि ढुवानीकर्ताले सतर्कता अपनाएको देखिएन’, प्रतिवेदनमा भनिएको छ ।

समितिका प्रवक्ता गौतमले राम्रो उद्देश्यका साथ कान्जीहाउसमा रहेका गाई गोरु सुर्खेत÷दैलेख पठाएको देखिए पनि व्यवस्थापकीय कमजोरीका कारण पशु अनलोड गर्दा गाईगोरु घाइते र मृत्यु भएको समितिले पाएको बताएका छन् ।

समितिले आगामी दिनमा यस्ता घटना नहोस् भन्ने तर्फ उपमहानगरपालिकालाई विभिन्न सुझाव समेत दिएको छ । ‘आफ्नो क्षेत्रमा पालन गरेका पशु पंक्षीहरुको तथ्याङ्क एकिन गर्ने, पशुपंक्षी पालन गर्ने व्यक्ति÷संघ संस्थालाई पूर्ण जिम्मेवार बनाउन ट्याकिङ्ग गर्ने, पशु वीमा गर्ने र वेवारिसे छाड्नेलाई नीति नियम तथा कार्यविधि बनाई लागु गर्नुपर्ने देखिन्छ’, समितिले सुझाव दिंदै भनेको छ, ‘वेवारिसे अवस्था पशु फेला परेमा तिनको व्यवस्थापनका लागि व्यवस्थित कान्जी हाउसको बनाई उचित खानपान एवं संरक्षण र सम्बद्र्धनको प्रवन्ध गर्ने मोडेल गौ उद्यान (काउ पार्क)को रुपमा विकास गरी पर्यटक प्रवद्र्धन समेत टेवा पुग्ने व्यवस्था गर्न आवश्यक छ ।’

जिल्ला अदालत सुर्खेतले गाई, गोरु मृत्यु भएको घटनामा गौबध मुद्दामा १६ मध्ये १४ लाई धरौटी र दुई जनालाई साधारण तारेखमा छाड्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले अधिवक्ता विकास आचार्यको अध्यक्षतामा गठन गरेको छानबिन समितिमा अधिवक्ता बसन्त गौतम, अधिकारकर्मी विश्वजित तिवारी, पशुस्वास्थ्य विशेषज्ञ जनक राम भण्डारी, पत्रकार पूर्णलाल चुके, जिल्ला प्रशासन कार्यालय, बाँके, प्रतिनिधि राम कुमार सोनकर सदस्य र उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल सदस्य सचिव थिए ।

प्रतिक्रिया

प्रतिक्रिया