दशैं मनाउन फर्किंदै नेपाली

कोहलपुरमा पनि सहायता कक्ष

रामु ओली / नेपालगन्ज :
जाजरकोटका कृष्ण बहादुर बुढा उमेरले ५० नाघी सकेका छन् । भारतको उत्तराखण्ड गडवालमा करिब १० महिना मजदुरी गरेर दशंै मनाउन फर्किदै गरेका उनको अनुहारमा खुशी छरपस्ट देखिन्थ्यो । गडवालमा निर्माण सम्बन्धी काम गर्ने कृष्ण बहादुर बुढाको नेपाल बसाई भने उति लामो छैन । दशैं र तिहार मनाउन नेपाल भित्रिएका उनी तिहार सकिएको हप्ता दिनमै पुनः मजदुरीको लागि भारत फर्किने बताउँछन् ।

जाजरकोटकै अमर बहादुर बुढा नाताले कृष्ण बहादुर बुढाका भतिज हुन् । २०६५ सालमा माध्यमिक शिक्षा सकेपछि उनी पनि काका कृष्ण बहादुर बुढा संगै पहिलो चोटी मजदुरीको लागि भारत छिरेका थिए । घरको कमजोर आर्थिक अवस्थाले उनले नेपाल फर्कने हिम्मत जुटाउन सकेनन् । तर, हरेक बर्ष दशै र तिहार मनाउन एक महिना जाजरकोट फर्किने गरेको उनी बताउँछन् ।

‘धेरै पढ्न पाइएन, घरमा कमाउने कोही नभएपछि मुग्लान छिर्नै पर्यो, फेरि हातमा सीप पनि छैन । अब त बानी नै भयो कमाउन भारत हिड्ने,’ अमर भन्छन्, ‘चाडपर्वमा भने नेपाल आउन आजसम्म छुटाएको छैन ।’

अछाम बिनायकका सुरज बिक पनि कालापहाडबाट दशैकै लागि नेपालगन्ज नाका हुँदै नेपाल फर्किएका छन् । बिक संगै अछाम बिनायककै उनका साथीहरु दुई महिनाका लागि नेपाल फर्किएको बताउँछन् । उनीहरु करिब ५ बर्ष देखि कालापहाडमा सडक बनाउने काममा मजदुरी गर्दै आएका बताउँछन् । दशै र तिहार मनाएर मात्रै भारत फर्किने गरि नेपाल आएका बिक र उनका साथीहरू बिगत बर्षमा भन्दा खुसी देखिन्छन् । बिकलाई चाडपर्वमा घर फर्किदाको खुशी जत्तिकै चिन्ता घर आउने क्रममा सिमानामा हुने लुटपाट तथा चोरी अनि हत्याको घटनालाई लिएर छ । कारण हो, तीन बर्ष अगाडि उनी सिमानामा आफ्नै नेपालीबाट ठगीनु परेको अनुभव । यो बर्ष भने त्यस्तो कुनै समस्य नरहेको र दुःख नपाएको चाडपर्वलाई नै लक्षित गरि स्थापना गरेको हेल्प डेक्सका सुरक्षाकर्मीसँग कुराकानीका क्रममा उनले बताए ।

सुरज बिक जस्तै अछामकै राम बिक र बझाङका भरत खनाल पनि दशै मनाउनका लागि नेपाल फर्किएका छन् । उनीहरुको अनुभव पनि सुरज बिकको भन्दा फरक छैन । उताबाट आउँदा लुटिने र ठगिने जुन किसिमको डर र त्रास थियो त्यो नभएको र कुनै पनि दुःख नपाएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय जमुनाहले सशस्त्र प्रहरी र सिमा सुरक्षा बल संग समन्वय गरेर चाडपर्वमा हुन सक्ने सम्भावित घटनालाई कम गर्न र भारतबाट फर्किने नेपालीहरुको लुटपाट तथा चोरीको घटना हुन नदिनकै लागि हेल्प डेक्स स्थापन र सुरक्षा व्यवस्थालाई चुस्त पारिएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख, माधव प्रसाद रिजालले बताएका छन् । उनी पर्वका बेला फर्किने नेपालीहरु सीमामा नठगिउन् भन्नेमा प्रहरी सचेत रहेको बताउँछन् ।

पर्वका बेला भित्रिने नेपालीहरुलाई स्थानीय यातायातको साधन प्रयोग गर्दा नठगिउने भनेर प्रहरीले निगरानी गरिरहेको इलाका प्रहरी प्रमुख रिजाल बताउँछन् । ‘यो बर्ष त्यस्तो लुटपाटको घटना त भएको छैन, हामीले पनि त्यसप्रति सजग भएर सबै संग समन्वय गरेर काम गरेका छौँ । तर पनि केही छिटपुट रुपमा रिक्सा तथा टाङ्गाले भाडा बढी लिएको गुनासो आएका छन् । भाडा बढी लिएको फेला परेका फिर्ता गर्न लगाउने गरेका छौं’, रिजालले भने ।

बाँके, बर्दिया, सुर्खेत, अछाम, जाजरकोट, कालिकोट लगायतका जिल्लाका मानिसहरू भारतको दिल्ली, सिम्ला हिमाचल, चण्डिगड, हरियाना, पन्जाब, असाम, गुजरात, मुम्बईका विभिन्न सहरहरुमा रोजगारीको लागि जाने गर्छन् । दशैको मौकामा चाडपर्व मनाउनकै लागि दैनिक ५ देखि ७ सयको हाराहारीमा नेपालगन्ज नाकाबाट भित्रने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख रिजालले बताए । घटस्थापनाको एक हप्ता अगाडि देखि नेपालगन्ज नाका देखि दशैं मनाउन फर्किन सुरु गर्ने नेपालीहरु बिहान ७ बजे देखि साँझ ८ बजे सम्म पनि बाक्लो भिड रहने गर्दछ ।

भारतबाट पर्वका बेला फर्किने नेपालीहरुको सुरक्षाको विषयलाई बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले हालै बहराइचमा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा पनि उठाएका थिए । ‘नेपालीहरुलाई भारतबाट फर्कदा असहज नहोस्, चोरी तथा लुटिन सक्ने भएकाले भारतीय अधिकारीहरुलाई निगरानी गर्न आग्रह गरेको थिए’, प्रहरी उपरीक्षक वलीले भने ।

यसै बीच पर्वका बेला यात्रुहरुलाई सघाउनका लागि प्रहरीले कोहलपुरमा सोमबारदेखि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको आयोजना तथा सामुदायिक सेवा केन्द्र कोहलपुरको समन्वयमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया