दुर्गा मूर्तिमा अझै भारत निर्भर

रामु ओली /नेपालगन्ज

बाँके हिरमिनियाका राधेश्याम र उनका साथीहरुले लामो कसरत पछि रुपैडिया देखि दुर्गा पुजाका लागि मूर्ति ल्याउन सफल भए । नेपाली २० हजार हालेर उनीहरुले ट्याक्टरमा मूर्ति ल्याइसके पछि मात्रै दशै भित्रिएको अनुभव साटे । राधेश्याम जस्तै जानकी गाउँपालिका वडा नम्बर तिनका कमलेश बर्माले पनि भारतबाट नै दशंैका लागि दुर्गा मूर्ति भित्र्याए । १९ हजार रुपैयाँमा तिरेर दुर्गा मूर्ति ल्याएको बर्माले बताए । राधेश्याम जस्तै उनीहरु पनि नेपालगन्जमा मूर्ति नपाएकै कारण रुपैडिया पुग्नु परेको बताउँछन् ।

‘नेपालगन्जमा कालिगढहरु कम छन्, माग बमोजिम उनीहरु दुर्गा मूर्ति बनाउन सक्दैनन्’, अनि भारतकै भर पर्नुपर्छ’, बर्माले भने । बर्माका अनुसार, उनी मात्र होइन गाउँका अन्य दुर्गा मूर्ति पनि भारतबाट नै ल्याइने गरेको छ ।

त्रिभुवन चोक नेपालगन्जमा दुर्गा मूर्ति स्थापनाको लागि मूर्ति लिन रुपैडिया पुगेका राजु र उनका साथीहरुले पनि करिब ५० हजार हालेर तीन वटा मूर्ति लिएर आएका छन् । नेपालगन्जमा मूर्ति नपाएकै कारण रुपैडिया पुगेको जिकिर गर्दै राजुले भने, ‘बाँकेमा अधिकांस मूर्ति भारतबाट नै आउने गरेका छन् ।’ सिमावर्ती बजार रुपैडियाबाट मूर्ति लिएर आउने सबैको एउटै दुःखेसो छ, नेपालगन्जमा मूर्ति पाइँदैन । ‘नेपालगन्जमै मूर्ति पाउन सके नेपाली रुपैयाँ अर्को देशमा बुझाउनु पर्थैन, ढुवानीका क्रममा हुने झन्झट पनि व्यहोर्नु पथ्र्येन’, भारतबाट दुर्गा मूर्ति ल्याउनेहरु भन्छन् ।

घरायसी खाद्यान्न, नुन तेल देखि लत्ताकपडा समेत खरिदारिको लागि सिमावर्ती भारतीय बजार रुपैडियामा निर्भरता रहेको नेपालगन्ज र आसपासका क्षेत्र दशैको दुर्गा मूर्तिमा समेत भारतीय निर्भरता रहेको देखिन्छ । शनिबार मात्रै करिब दुई सय जति दुर्गा मूर्ति भित्रिएका छन् । वडा दशैंको घटस्थापनाको दिन आइतबार करिब तीन सय बढी दुर्गा मूर्ति बोकेका ट्याक्टर तथा ट्रक भित्रिएको सिमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले बताएका छन् । नेपालगन्ज, राँझा, खजुरा, कोहलपुर तथा आसपासका गाउँहरुका लागि सो मूर्तिहरु भित्रिएको हो । घटनास्थापनादेखि चोकचोकमा दुर्गामूर्ति स्थापना गरी नवदुर्गा अवधीभर पुजाआजा गर्ने गरिन्छ । बाँकेका बजार तथा ग्रामीण क्षेत्रका चोकचोक र टोलटोलमा दुर्गा मूर्ति स्थापना गर्ने परम्परा छ । हाल यो क्रम बढ्दै गएको र नेपालगन्जमा मूर्ति बनाउने कलाकारको कमीको कारण अझै सिमावर्ती बजार रुपैडियाकै भर पर्नु परेको हो ।

नेपालगन्जमै मूर्ति बनाउँदै आएका नेपालगन्ज त्रिवेणीमोडमा अंकित मिश्रले यस बर्षको दशैका लागि आफ्ना सहयोगी लिएर १८ वटा मूर्तिको सेट तयार गरेको जानकारी दिए । जसलाई उनले १५ हजार भन्दा माथिमा बेचेका छन् । उनी घटस्थापनाको दिनसम्म पनि मूर्ति बनाउदै गर्दा भेटिएका थिए । एउटा मूर्तिको सेट बनाउन १० देखि १५ दिनसम्म लाग्ने बताउने अंकितले नेपालगन्जमा मूर्ति बनाउने कलाकार नभएकै कारण नेपालगन्जमा चाहिने भन्दा धेरै न्यून मात्र तयार हुने भएकाले रुपैडियाको भर पर्नु परेको बताए ।

मूर्ति बनाउन र राख्न ठूलो स्थानको आवश्यकता पर्ने र समय पनि बढी लाग्ने भएका कारण नेपालगन्जमा बनेको मूर्तिले माग धान्न नसक्ने अंकितका बुवा राज कुमार मिश्रा बताउँछन् । ‘यहाँ ठाउँ नै छैन । मूर्ति बनाउन ठूलो ठाउँ चाहिन्छ अनि मात्रै धेरै मूर्ति तयार गर्न सकिन्छ । ठूलो ठाउँ पाउन सके सहयोगी राखेर भएपनि धेरै मूर्ति बनाउन सकिन्थ्यो । मुर्ती अर्डर गर्न आउने कयौंलाई हामीले फर्काउनु पर्यो,’ उनले भने ।

नेपालगन्जमा चार र कोहलपुर र राँझामा एक÷एक जनाले मात्रै यो बर्ष मूर्ति बनाएको मिश्राले बताए । एक जनाले सरदर १५ वटा जति मात्रै मूर्ति तयार गरेको बताउने मिश्राले नेपालगन्जमा मूर्ति बनाउनको लागि स्थानको जोहो हुन सके भारतको भरोसा गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया