विज्ञले बुझाए प्रतिवेदन

नेपालगन्ज – जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारी अपचलन प्रकरणको अनुसन्धान भैरहेको जानकारी दिएको छ । ‘विशेषज्ञको टोलीले कागजात परीक्षण गरी प्रारम्भिक रिपोर्ट दिएको छ’, बाँके प्रहरी प्रवक्ता, शिव सिंहले शनिवार साँझ दैनिक नेपालगन्जसँग भने, ‘भोलि आइतबार विशेषज्ञ, सरकारी वकील र प्रहरी बसेर थप छलफल गर्नेछौं ।’

सम्बद्ध स्रोतका अनुसार, यसअघि जिल्ला सहकारी संघले गठन गरेको छानविन समितिलाई जिल्ला प्रहरी कार्यालयले विज्ञ टोलीका रुपमा कागजातको परीक्षणका लागि जिम्मा दिएको थियो । जिल्ला प्रहरी कार्यालयमैं टोलीले निकै समय लगाएर गरेको परीक्षणपछि शुक्रवार प्रतिवेदन बुझाएको हो । ‘प्रतिवेदनका आधारमा बिल्कुलै निर्दोष देखिएकाहरुलाई मुद्दा चलाउनु नपर्ने वा दोषी देखिएकाहरुलाई कानुनको दायरामा ल्याउने निर्णय लिन प्रहरीलाई आधार तयार भएको छ,’ सहकारी सम्बद्ध भन्छन्, ‘यसअघि प्रहरीले विभिन्न चलखेलमा जबर्जस्ती पक्राउ पुर्जी जारी गरेर मच्चाएको आतंकलाई अब अहिलेको अनुसन्धानले चिर्न सक्छ ।’

अनुसन्धाननै नगरि पक्राउ पुर्जी जारी गरेर चलखेल गरेको भन्दै प्रहरीका अधिकारीनै यसअघि विवादमा आएका थिए । ‘अब परीक्षणबाट दोषी देखिएकाहरुलाई पक्राउ पुर्जी जारी गर्न सकिन्थ्यो,’ अनुसन्धानलाई नजिकबाट नियालीरहेका जानकार भन्छन्, ‘विभिन्न आर्थिक तथा राजनीतिक अभिष्ट पुरा गर्न ३५÷३५ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेर आतंक मञ्चाउने काम भयो ।’ पक्राउ पुर्जी जारी उनीहरुमध्ये अधिकाँशलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । ‘जब पक्राउनै गर्नु छैन भने, पुर्जी किन जारी गर्नु ?,’ अनाहकमा आफ्नो नाम मुछिएको भन्दै जानकारी लिन जिल्ला प्रहरी कार्यालय पुगेका प्रतिष्ठित व्यक्तिलाई थुनामा राखिएको जानकारी दिंदै सम्बद्ध परिवारका सदस्य भन्छन्, ‘जसले अपचलन गरेको छु भनेर यत्तिका दिनसम्म जिम्मा लिए, पैसा बुझाए, बुझाउने कागज गर्दै सम्पत्ति रोक्का गराए, अहिले आएर उनैलाई जोगाउन खेल भयो ।’

आर्थिक तथा राजनीतिक प्रभावमा परेको भन्दै सहकारी विवादमा अनुसन्धान अधिकारीनै फेरिएपछि सहकारी विज्ञहरुको टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेमा परीक्षण थालेका हुन् । ‘अनुसन्धान प्रक्रिया लामो भएकाले कहिलेसम्म चल्छ भन्न सकिन्न,’ नयाँ अनुसन्धान अधिकारीका रुपमा प्रहरी प्रधान कार्यालयले पठाएका प्रहरी नायब उपरीक्षक सिंहले भने ।

प्रतिक्रिया

प्रतिक्रिया