नेपालगन्ज – सहकारी वित्तीय विकास संस्था नेपालगन्जमा भएको करोडौं अपचलन प्रकरण बाहिर आएको चार महिना भैसकेको छ । तर, बचतकर्ताको निक्षेप फिर्ता विषय सुनिश्चित हुनुको झनै अन्योलता तर्फ अघि बढेको छ । सहकारीलाई समस्याग्रस्त घोषणा र विशेष साधारणसभाबाट बचत फिर्ता गर्न रकम अभाव हुन थालेपछि सहकारी सञ्चालक समितिले २०७५ मंसीरमा अपचलनको सुईंको पाएको थियो । अपचलनको एकिनका लागि संस्थाले महाप्रबन्धक गोपाल भण्डारीको संयोजकत्वमा समिति गठन गर्यो । उक्त समितिले निर्धारित मितिमा काम नसकेपछि म्याद थप गरियो । र, चैत्रमा समितिले प्रतिवेदन दियो । भण्डारीको प्रतिवेदन पछि सहकारीमा करोडौं अपचलन भएको खुलासा भएको थियो । जुन समाचारलाई दैनिक नेपालगन्जले निरन्तर खोजमूलक रुपमा प्रकाशन गरिरहेको छ ।
भण्डारीको प्रतिवेदन पछि सहकारीको विभिन्न जिम्मेवारीमा रहेका कर्मचारीले अपचलन स्वीकार गरेका थिए । वैशाख १६ गते बैंकका प्रबन्धक अरुण कुमार पाठकले २१ करोड ९४ लाख ३६ हजार १ सय ४२, गंगाधर सुवेदीले २ करोड ८९ लाख ४७ हजार ९ सय १५, खजुरा शाखा प्रबन्धक सुर्य बहादुर विकले ६२ लाख ८७ हजार ५२, बैजापुरका शाखा प्रबन्धक लिला प्रसाद वलीले ३८ लाख ७७ हजार ७ सय ७८ रुपैयाँ अपचलन गरेको स्वीकार गर्दै उक्त रकम फिर्ता गर्ने लिखित सहमति गरेका थिए ।
अपचलन स्वीकारेका कर्मचारीले रकम फिर्ताको कागज त गरे तर, प्रतिबद्धता अनुसार रकम फिर्ता गरेनन् । रकम फिर्ता गर्ने सहमति गरेका पाठक लगायतका कर्मचारी जेठ ५ गते सम्पर्कविहीन भए । त्यसपछि अध्यक्ष चौधरीले जेठ ९ गतेसम्म सहकारी सञ्चालन गरे । तर, सहकारीमा भुक्तानीको समस्या भएपछि जेठ १० गतेबाट सहकारीको कारोबार बन्द भयो ।
कर्मचारीले रकम फिर्ता नगरेपछि सहकारी आर्थिक संकटमा पर्यो । बचत फिर्ता गर्न नसक्ने अवस्था आएपछि सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीले जेठ १० गते कर्मचारीहरुलाई रकम फिर्ता पत्र काटेर त्यसको बोधार्थ जिल्ला प्रहरी कार्यालय बाँकेलाई दिए । त्यसअघि जेठ २ गते नै सञ्चालक समितिले राजिनामा दिए । ११ सदस्यीय सञ्चालक समितिमा २ जनाको यसअघि निधन भैसकेको थियो भने ७ जनाले सामूहिक राजिनामा दिएका थिए ।
अध्यक्ष चौधरीले जेठ १३ गते अध्यक्ष चौधरीले जेठ १४ गतेबाट सहकारी सञ्चालन गर्ने र बचत सुरक्षित रहेको भन्दै अपिल जारी गरे । अपचलनको संकटमा परेको सहकारीमा अपचलनको वास्तविकता बाहिर ल्याउन जिल्ला सहकारी संघका नवराज उपाध्यायको संयोजकत्वमा अर्को समिति गठन गरियो । जेठ १६ गतेदेखि अध्ययन सुरु गरेको समितिले जेठ २६ गते छानविन गरी प्रतिवेदन बुझायो । उपाध्यायले बुझाएको प्रतिवेदन आन्तरिक छानविनले त्यसअघि देखाएको भन्दा १२ करोड बढी अपचलन भएको देखायो । ५२ करोड कुल पूँजी रहेको सहकारीमा ३८ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदनमा समेटिएको छ ।
आन्तरिक प्रतिवेदन तयार गर्ने महाप्रबन्धक गोपाल भण्डारी समेत दोस्रो प्रतिवेदनमा दोषी देखिए । बचततर्फ १६ करोड २९ लाख ८ हजार रूपैयाँ र कर्जातर्फ २१ करोड ४३ लाख ८५ हजार रूपैयाँ अपचलन भएको प्रतिवेदनमा उल्लेख छ । बचततर्पmको अपचलनको दायित्व गंगाधर सुवेदी र कर्जातर्फको अपचलन अरुणकुमार पाठकलाई दोषी देखाएको छ । यद्यपि, अपचलनको आरोप लागेका कर्मचारीले अन्यले पनि उक्त रकम लिएको बताए पनि प्रमाण भने देखाउन सकेका थिएनन् । खजुरा शाखाका सुर्य विकले ६६ लाख ४४ हजार ७ सय २८ अपचलन गरेकोमा उपाध्यायको प्रतिवेदनमा दुई पटक गरी रकम फिर्ता गरेकाले ३५ लाख ७५ हजार ७ सय २८ रुपैयाँ असुल गर्नुपर्ने देखाएको छ ।
त्यसअघि जेठ २१ गते सबैभन्दा बढी अपचलनको आरोप लागेका अरुण पाठक जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक भए । उनले त्यतिबेला अपचलनको स्वीकार्दै गर्दै जिम्मेवार अरुपनि रहेको दाबी गरेका थिए । पत्रकार सम्मेलन लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई प्रशासन परिसरबाट नै नियन्त्रणमा लिएको थियो । अन्यलाई पनि प्रहरीले नियन्त्रणमा लियो ।
सहकारीका अध्यक्ष चौधरीले कानुनी कारवाही भन्दा अपचलन गर्नेबाट रकम असुली गर्ने र बचतकर्तालाई फिर्ता गर्ने तर्फ प्रयास सुरु गरेका थिए । जेठ २३ गते अपचलन स्वीकार गर्ने कर्मचारीहरुले ऋण तिर्नका लागि समय माग्दै विशेष साधारणसभा बोलाई अनुमोदनका लागि अध्यक्षलाई पत्र लेखे । बैंकिङ्ग प्रबन्धक पाठक, सहायक प्रबन्धक सुवेदी, प्रमुख प्रबन्धक भण्डारीले सहकारीका नाममा लेखेको पत्रमा श्रीसम्पत्तिबाट तिर्ने जसका लागि ५ बर्षको समय विशेष साधारणसभाबाट अनुमोदन गर्नका लागि आग्रह गरेका थिए ।
प्रहरी नियन्त्रणमा रहेका अपचलन गर्ने कर्मचारीहरुले केही रकम फिर्ता पनि गरेका छन् । यद्यपि, त्यो रकम भने न्यून रहेको छ । सहकारीले कर्मचारीहरुले दिएको रकमबाट ३ करोड बढी रकम फिर्ता समेत दिएको थियो ।
सहकारीले सहकारी पुनः सञ्चालनमा ल्याउने, अपचलन गर्ने कर्मचारीको जायजेथाबाट असुली गर्ने, निक्षेप फिर्ताका लागि समय माग्ने, नयाँ खाता खोल्ने प्रस्ताव लग्दै असार २१ गते विशेष साधारणसभा बोलायो । तर, गणपुरक संख्या नपुगेपछि उक्त निर्णय पारित भने हुन सकेन ।
गणपुरक संख्या नपुगेपछि असार २८ गते पुनः दोस्रो पटक विशेष साधारणसभा बोलाइएको थियो । उक्त साधारणसभाले अपचलन एकिनका लागि तेस्रो समिति सर्वदेव ओझाको नेतृत्वमा बनायो । सभाले अपचलन गर्ने प्रबन्ध भण्डारी, सहायक सुवेदी, कर्जा प्रमुख पाठकबाट असुली गर्ने निर्णय गर्यो । ६ महिनासम्म बचत फिर्ता नगर्ने, पाठक, भण्डारी र सुवेदीबाट धितो सुरक्षण लिई हिरासतमा रहेका कर्मचारीहरुलाई मुक्त गराउने निर्णय पनि गरिएको थियो ।
एकातिर सहकारी पुनः सञ्चालन गर्ने तयारी हुँदै थियो भने अर्को तर्फ त्यसलाई समस्याग्रस्त घोषणाका लागि पहल पनि भैरहेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको विभागबाट समस्याग्रस्त घोषणा भएसँगै सहकारीको सम्पत्ति मूल्यांकन, व्यवस्थापन तथा दायित्व भुक्तानीको जिम्मा समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले लिन्छ । सहकारी समस्याग्रस्त घोषणाका लागि २५ जना सदस्यले निवेदन समेत दिएका थिए । प्रदेश सरकारमा कानुन नबनेकाले प्रदेशका सरकारले संघ अन्तर्गतको विभागलाई सिफारिस गरेको बताइन्छ ।
समस्याग्रस्त घोषणाका लागि प्रयास भैरहेका बेला जिल्ला प्रहरी कार्यालय बाँकेले साउन ३० मा जिल्ला अदालतमा पूर्वप्रमुख प्रबन्धक अरुणकुमार पाठकलाई प्रमुख अभियुक्त बनाएर सहकारीका वर्तमान र निवर्तमान गरी दुई वटा सञ्चालक समिति, लेखा समिति र कर्मचारीसहित ३५ जनाविरुद्ध सहकारी रकम अपचलन (हिनामिना) मा मुद्दा दायर गरेको थियो । कर्मचारीहरुले अपचलन स्वीकारी सकेको अवस्थामा निवर्तमान सञ्चालन समितिलाई समेत छानविनको दायरामा ल्याएपनि अधिकांस ‘फरार’ छन् । ‘प्रहरीका तत्कालिन अनुसन्धान अधिकृतले त्यसमा सरकारी धारणा आउनै लाग्दा मुद्दा दर्ता गरेर रकमी खेल सुरु गरे,’ सहकारीका निवर्तमान अध्यक्ष अमर खड्काले दैनिक नेपालगन्ज सँग भने, ‘सबैलाई नियतबश अनुसन्धानको दायरामा लपेटेर अपचलन स्वीकार गरिसकेका कर्मचारीहरुबाट मोलमोलाई गरिएको छ ।’
सहकारीका सञ्चालकहरु गत बर्षको साउनसम्म राष्ट्र बैंकको अनुगमन, आन्तरिक र बाह्य परीक्षणबाट प्राप्त रिपोर्टका आधारमा अपचलनको शंका आफुहरुमा नउब्जिएको बताउँछन् । ‘सबै हिसाबकिताब ठिक देखिएको थियो शंका गर्ने ठाउँ नै थिएन’, सञ्चालक समितिका सदस्य भन्छन्, ‘एक्कासी सबै बिग्रेपछि मात्रै हामीले जानकारी पायौं, अहिले मुद्दा झेल्नुपर्ने अवस्था छ ।’