५ देशका ५० जना कृषि बैज्ञानिक नेपालगन्जमा

गर्मी र खडेरीमा पनि राम्रो उत्पादन हुने मकैको जातको अनुसन्धान गर्दै

कृष्ण अधिकारी / नेपालगन्ज

अत्याधिक गर्मी र खडेरीमा पनि राम्रो उत्पादन हुन सक्ने मकैको जातको अध्ययन अनुसन्धानका बिषयमा छलफल गर्न दक्षिण एशियाका ५ देशका ५० जना भन्दा बढी बैज्ञानिकहरु नेपालगन्जमा भेला भएका छन ।

सिमिटको सहयोगमा आयोजना गरिएको दुई दिने बार्षिक समिक्षा एवं योजना बैठकमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटान कृषि बैज्ञानिकहरु सहभागी भएका हुन् ।

जलवायु परिवर्तनका कारण तापक्रममा भइरहेको बृद्धि र लामो समयसम्म खडेरी पर्ने क्रम बढ्दै गए पछि पछिल्ल्ला दिनहरुमा मकैमा रोग किराको प्रकोप संगै बोट सुक्ने जस्ता समस्या बढ्दै गए पछि बैज्ञानिकहरुले उपयुक्त जातको छनोट गर्नका लागि अध्ययन तथा अनुसन्धान गर्दै आएका छन ।

अध्ययन तथा अनुसन्धानका क्रममा प्राप्त गरेका उपलब्धी र चुनौतीहरुका बारेमा वैज्ञानिकहरु बीच छलफल र अन्तरक्रिया गरेर आगामी बर्षका लागि योजनाहरु निर्माण गरिने राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख वरिष्ठ कृषि वैज्ञानिक केशव बाबु कोइरालाले बताए ।

सन २०१३ देखि ५ देशका कृषि बैज्ञानिकहरुले आ–आफ्ना देशका अनुसन्धान फर्महरुमा ३९ डिग्री सेल्सियस भन्दा बढी तापक्रममा रोग किराको प्रकोप कम हुने बोट नसुक्ने र दाना राम्रो संग लाग्न सक्ने मकैका जातहरुको पहिचान गर्नका लागि अध्ययन अनुसन्धान गरि रहेका छन् । अध्ययनबाट निस्केका बिउ र प्रबिधिको प्रयोग गरेर मकैको उत्पादन बृद्धिका लागि पहल गरिने बरिष्ठ बैज्ञानिक कोइरालाले बताए ।

नेपाल कृषि अनुसन्धान परिषदका कृषि बैज्ञानिकहरुले पाँच बर्षसम्मको अध्ययन अनुसान्धान पछि नेपालका लागि रामपुर ८ र रामपुर १० जातको हाइब्रिड मकै सिफारिस गरेका छन् । पछिल्ला बर्षहरुका ब्रोइलर कुखुराको दानाका लागि मकैको माग अत्याधिक बढ्दै गएको छ । दानाका लागि नेपालमा उत्पादन भएको मकैले नपुगेका कारण बिदेशबाट ठुलो परिमाणमा मकै आयात हुँदै आएको छ । नेपालमा भारत, अर्जेन्टिना, ब्राजिल र अमेरिकाबाट बर्षेनी करिब ११ अर्ब रुपैया बराबरको मकै आयात हुने गरेको छ ।

नेपालको कुल दैनिक खान योग्य खाद्यान्नको करिब २६ प्रतिशत हिस्सा ओगटेको छ । नेपालको कुल ग्राहस्त उत्पादनमा मकैको योगदान करिब ९ प्रतिशत छ । नेपालमा करिब ९ लाख ३० हजार हेक्टरमा मकै खेती हुँदै आएको छ । उन्नत बिउ, प्रबिधि र दक्ष जनशक्ति नहुँदा नेपालमा मकैको उत्पादन भने निक्कै न्यून हुने गरेको । हाल प्रति हेक्टर साढे २ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ ।

मकैमा काब्रोहाइडेड, प्रोटिन, खनिज पदार्थ लगायत मानव स्वास्थ्यलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरु पाइन्छ । आफ्नै खेतबारीमा सहजै उत्पादन हुने भए पनि भात नै खाने बानीका कारण मकैका परिकारहरुको प्रतिको रुचि भने घट्दै गएको छ । मकै नेपालको मुख्य बाली भए पनि पछिल्ला बर्षहरुमा मकै मुख्यतया कुखुराको दानामा प्रयोग हुदै आएको छ ।

उच्च पहाडदेखि तराईमा सहजै उत्पादन हुने मकै समेत नेपालले बिदेशबाट आयात गरिरहेको छ । कृषि योग्य उर्बर जमिन, पुस्तौदेखि मकै खेती गर्दै आएको अनुभव भएकाले नेपालमा मकैको उत्पादन बृद्धि गर्न सकिने प्रशस्त सम्भावना भएको मकै सुपर जोन लमहीका कृषि बिकास अधिकृत पिताम्बर बस्नेतले बताए ।

मकैको उत्पादन बृद्धिका लागि सुपर जोनले मकै खेतीमा उन्नत बिउका साथै यान्त्रिकरणमा बिशेष जोड दिदै आएको छ । मकै खेतीका लागि खेतबारी जोत्ने, मकै छर्ने, मकै भाँच्ने र मकै छोडाउने काममा आधुनिक मेसिनरी उपकरणहरुको प्रयोग बढाउनका लागि मकै जोनले कृषि सहकारी र कृषक समुहहरु संग मिलेर काम गरि रहेको बस्नेतले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया