जिल्लामा पर्वं लक्षित सुरक्षा सतर्कता

पर्वका बेला जनता सुरक्षित हुने गरी प्रहरी परिचालन गरेका छौं

नेपालगन्ज
जिल्ला प्रहरी कार्यालय बाँकेले पर्वलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाएका छन् । पर्वका बेला हुनसक्ने अवाञ्छित गतिविधिलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख, प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिएका छन् ।

जिल्लामा आसन्न दशैंलाई लक्षित गर्दै आफ्ना सबै सुरक्षा अंगहरुलाई सतर्क बनेका छन् । त्यसक्रममा बाँके प्रहरीले सुरक्षा परिचालनलाई रणनीतिक ढंगले उच्च बनाएको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक वलीले बताए । ट्राफिक प्रहरी र जनपद प्रहरीले पर्वका लागि विशेष सुरक्षा योजना बनाएर बाँकेमा परिचालित भएका छन् । ‘मापसे लगायतका चेकजाँचलाई कडाईका लागि लागु गरिएको छ’, उनले भने ।
‘प्रहरी सुरक्षा योजना बनाएर सोही अनुसार परिचालन भैरहेको छ’, प्रहरी उपरीक्षक वलीले भने दैनिक नेपालगन्जसँग भने, ‘गस्ती, पेट्रोलिङदेखि नागरिक सहायता कक्ष स्थापना गरेर जनतालाई सेवा दिइरहेका छौं ।’ तीन दिन अघि भारतसँगको सीमानाका जमुनाहमा नागरिक सहायता कक्ष स्थापना गरेको नेपाल प्रहरीले नेपालगन्ज बसपार्क, खजुरा र कोहलपुरमा अर्काे यात्रु सहायता कक्ष स्थापनाको तयारी गर्दैछ । ‘नेपालगन्ज बसपार्क व्यवस्थित रुपमा सञ्चालनमा आउँदैछ, त्यहाँ यात्रुको सुरक्षा र सहजताका लागि हेल्प डेस्क राख्न स्थलगत अनुगमन गरेको छु’, प्रहरी उपरीक्षक वलीले भने ।

सशस्त्र प्रहरीदेखि ट्राफिक प्रहरीसम्मले पनि नागरिकको सहजताका लागि त्यसखालका यूनिटहरु परिचालन गरेको जनाएका छन् । ‘राजमार्ग गस्तीलाई पनि प्राथमिकतामा राखिएको छ’, जिल्ला प्रहरीका अनुसार, ‘कुनै पनि किसिमबाट नागरिकलाई असुरक्षा उत्पन्न हुने गतिविधिलाई हामी निरुत्साहित गर्दै अगाडि बढिरहेका छौं ।’

बसपार्कमा स्थापना गर्ने यात्रु सहायता कक्षले नागरिकका समस्या बुझ्ने र ठगी रोक्नमा सहजीकरण गर्नेछ । ‘त्यसबाहेक साधा पोशाकमा पनि प्रहरी परिचालन गरिएको छ’, सार्वजनिक सवारीसाधनमा ठगी रोक्न नियमित जाँच भैरहेको जानकारी दिंदै प्रहरी उपरीक्षक वलीले भने, ‘कोहलपुरमा पनि यात्रु सहायता कक्ष स्थापना गरिंदैछ ।’

गैरकानुनी काम गर्नेलाई कानुनी दायरामा ल्याउनेदेखि आवश्यकता अनुसार, यातायात कर्मचारी तथा सञ्चालकहरुसँग समन्वय गरी यात्रुका चापका आधारमा थप गाडी समेतको व्यवस्था गरिने प्रहरी प्रमुख वलीले जानकारी दिए । ‘उद्योगी व्यवसायीहरुसँग पर्वका बेला सेवा सजह बनाउन शुक्रबार छलफल गर्दैछु’, उनले भने ।

समग्र सुरक्षा व्यवस्थामा नियमित गस्ती र चेकजाँच पनि बढाइएको छ । ‘भारतीय प्रहरी, एसएसबी र त्यहाँका यातायात कर्मचारी समेतसँग कुराकानी गरी कुनैपनि नेपाली यात्रुले ठगिनु नपरोस् भन्ने कुरामा सतर्कता अपनाइएको छ’, प्रहरी उपरीक्षक वलीले भने, ‘हालै भएको नेपाल, भारतका सुरक्षा अधिकारीहरुको बैठकमा पनि भारतका विभिन्न ठाउँबाट आउने यात्रु नठगिउन् भन्नेमा सचेत रहन आग्रह गरेको छु ।’
चेकजाँचका नाममा भारत तिर होस् वा नेपालतिर यात्रुलाई अनावश्यक सताउने काम रोक्न पहल गरिएको छ । ‘नेपाल तर्फ त्यस्तो खालको कुनै समस्या हुनेछैन’, प्रहरी उपरीक्षक वलीले भने, ‘भारततर्फ पनि नहोस् भन्नका लागि निरन्तर समन्वय गरिएको छ ।’ नेपालतर्फ कुनै त्यसखालको हरकत भएको पाइए प्रहरीले कसैलाई बाँकी नछाड्ने वलीले बताए । ‘भारतबाट आउने यात्रु नेपाली भूमिमा नठगिउन् भनेर निरन्तर निगरानी गरिरहेको छौं’, उनले भने, ‘त्यसको निगरानीका लागि पर्याप्त प्रहरी परिचालन गरेका छौं ।’

बाँके प्रहरीले सहर केन्द्रित मात्र नभई गाउँ र दुरदराजका बस्तीमा समेत गतिविधि तिव्र पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । खासगरी राप्तीपारी र सीमावर्ती बस्तीहरुलाई सुरक्षा निगरानी अझ बढी चुस्त बनाइएको प्रहरीको भनाइ छ ।

पर्वका बेला हुने जुवातासका विरुद्धमा पनि प्रहरीले निगरानी बढाएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए । ‘पर्वका बेला जुवातास खेल्ने क्रम बढ्छ, त्यसविरुद्ध प्रहरी टिम परिचालित गरेको छु’, उनले भने । चोरी, डकैतीका घटना नियन्त्रणका लागि प्रहरीले गस्ती बढाएको उनले बताए । ‘रात्रीकालिन प्रहरी गस्ती बढाइएको छ’, प्रहरी उपरीक्षक वलीले भने, ‘साइकल र मोटरसाइकलमा समेत गस्ती गर्ने व्यवस्था मिलाएको छु ।’ तीन दिनदेखि प्रहरीले रातीमा विनाकारण हिड्नेहरुमाथि निगारानी गरिरहेको उनले बताए । ‘शंकास्पद रुपमा राती हिड्नेहरु प्रहरी निगरानीमा छन्, उनीहरुलाई नियन्त्रणमा लिने र बुझ्ने काम पनि भैरहेको छ’, प्रहरी उपरीक्षक वलीले भने ।

सूचना पाएको १० मिनेट भित्रै प्रहरी घटनास्थल पुगोस् भन्ने उद्देश्यले प्रहरी परिचालन गरिएको जानकारी दिंदै उपरीक्षक वलीले भने, ‘कोही विपद्मा परे प्रहरी कन्ट्रोलसँगै सिधै मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।’ उनले पर्वका बेला प्रहरी झन् चनाखो भएर खटिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया