भेरी अस्पताल नेपालगन्जमा दुई महिनामै तीन सय सर्पदंशका बिरामी उपचारका लागि आएका छन् ।
मन भण्डारी
सर्पदंशका कारण बाँकेमा प्रत्येक बर्ष अकालमा ज्यान जाने गरेको छ । चालु आ.व.को दुई महिनामा मात्रै भेरी अस्पताल नेपालगन्जमा आइसियुमा उपचाररत् ६ जनाले ज्यान गुमाइसकेका छन् । बिरामीको अवस्था जटिल भैसकेपछि अस्पताल पुग्दा ज्यान जाने गरेको हो । जटिल अवस्थाका बिरामीको उपचार आइसियुमा राखेर हुने गरेको छ । त्यसबाहेक इमरेन्जसीमा भर्ना गरी सर्पदंशका विरामीहरुको उपचार गरिन्छ । दुई महिनाको अवधीमा इमरजेन्सी वार्डमा पनि १० जना सर्पदशंका बिरामीको मृत्यु भएको अनुमान छ ।
सर्पदशंका विरामी तत्काल उपचारका लागि अस्पताल नपुग्दा पनि सर्पदंशका बिरामीको ज्यान जाने गरेको भेरी अस्पतालका डा. पारस पाण्डे बताउँछन् । ‘नाजुक अवस्थामा अस्पतालमा आइपुग्ने बिरामीलाई ज्यान जोगाउन गाह्रो हुन्छ’, डा. पाण्डेले भने । उनले दैनिक १० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिए ।
बाँकेमा भेरी अस्पताल नेपालगन्ज र राप्ती सोनारी गाउँपालिका वडा नं. ८ को सम्शेरगन्जमा सर्पदंशको उपचार सेवा सञ्चालनमा रहेछ । यो वर्षको साउन र भदौ महिनामा मात्रै भेरी अस्पतालमा ३ सय बढी सर्पदंशका बिरामी आएको अस्पतालको तथ्यांक छ । जसमध्ये १ सय सर्पदंशका जटिल बिरामीलाई बिषको औषधी चढाउनु परेको भेरी अस्पतालले जानकारी दिएको छ ।
सर्पदंशको समस्या र यसबाट हुने मृत्युुदर घटाउन लागि सचेतनामूलक कार्यक्रमहरु आयोजना नहुँदा सर्पदंशका बिरामीले ज्यान गुमाउने गरेका हुन् । सर्पले टोकेपछि तत्काल अस्पताल पुर्याउन नसक्दा बिरामीको ज्यान जोखिममा परेको डा. पाण्डे बताउँछन् । सर्पले टोकेका बिरामीहरु समयमै उपचारको लागि स्वास्थ्य संस्थामा नजाने र उपचार केन्द्रमा पर्याप्त मात्रामा औषधि र उपकरण नभएको कारण बिषालु सर्पको टोकाईबाट मृत्युको जोखिम बढेको चिकित्सकहरु बताउँछन् ।
सर्पदंशका बिरामीहरुमध्ये धेरै बिरामीहरु विष नभएका सर्पको टोकाइका आउने गरेको र इमरजेन्सीबाटै जाने गरेको भेरी अस्पतालमा सर्पदंसको उपचार गर्दै आएका डा. पाण्डेले बताए । जटिल अवस्थाका बिरामी मात्रै आफुकहाँ आउने गरेको बताउँदै जानकारी दिंदै डा. पाण्डेले भने, ‘१० प्रतिशत कुन सर्पले टोकेको हो भनेर छुट्याउन नसकिने बिरामी आउने गरेका छन्’, उनलेभने ।
मुटुले काम गर्न छाडेका सर्पदंशका बिरामीलाई आयुसयिुमा राखेर उपचार गर्ने क्रममा ६ जनाको मृत्यु भएको पाण्डेले बताए । मृत्यु भएकामध्ये २ जना कैलाली, १ जना कन्चनपुर र ३ जना बाँकेका हुन् । कोहलपुर मेडिकल कजेल र नेपालगन्ज मेडिकल कलेजबाट रिफर भएर आउँदा नै मुटु बन्द भएर आएको कारण बचाउन नसकिएको डा. पाण्डेको भनाइ छ ।
भेरी अस्पतालमा पर्याप्त मात्रामा औषधी, आवश्यक उपकरण, अक्सिजन र प्राप्त जनशक्ति नहुँदा प्रभावकारी उपचार सेवा प्रवाह हुन सकेको छैन । बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानी, नेपालगन्जको घरबारीटोल र राझा एयरपोर्टबाट सर्पको टोकाईबाट बढी मात्रामा बिरामी आउने गरेको पाइन्छ । बाँके संगै बर्दिया, कैलाली, सल्यान, जाजरकोट लगायतका जिल्लाहरुबाट समेत सर्पदंशका बिरामीहरु भेरी अस्पतालमा उपचारका लागि आउने गरेको पाइन्छ ।
भेरी अस्पतालसंगै राप्ती सोनारी गाउँपालिकाको समशेरगन्जमा रहेको सर्पदंश उपचार केन्द्रमा समेत सर्पदंशका बिरामीहरुको चाप देखिन्छ । यो वर्ष मात्रै समशेरगन्ज सर्पदंश उपचार केन्द्रमा ७८ जना भन्दा बढी सर्पदंशका बिरामीले उपचार सेवा लिएको केन्द्रका ब्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती सोनारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष खुम बहादुर वस्नेतले जानकारी दिए । सर्पदंशको उपचार गर्न आएकामध्ये सबै जना सञ्चो भएर गएको बताउँदै वस्नेतले भने, ‘सर्पले टोकेपछि उपचारको लागि स्वास्थ्य संस्थामा नगइ झारफुकमा लागेपछि राप्ती सानोरी गाउँपालिका वडा नं. २ टिकुलीपुरको एक जना बच्चाको मृत्यु भयो ।’
नेपालगन्ज वडा नं. ४ की प्रेमा रोकाले सर्पले टोकेका बिरामीहरु उपचारको लागि स्वास्थ्य संस्थामा जाँदा एक ठाउँबाट अर्को अस्पतालमा रिफर गर्दै बिरामीको ज्यान जाने गरेको बताएन् । सर्पदंशको उपचार सबै अस्पतालहरुमा नहुने गरेको भन्दै रोकाले भनिन्, ‘नेपालगन्जको भेरी अस्पतालमा उपचार सेवा छ तर एकै पटकमा २ जना भन्दा बढी बिरामी आएको खण्डमा औषधी तथा उपकरणको अभावको कारण उपचार पाउन गाह्रो हुने गरेको छ ।’
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अंगद बहादुर शाहीले सर्पदंशको समस्या समाधानका लागि सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई यो विषयमा तालिम नहुँदा र औषधीको पर्याप्त सप्लाईमा सरकारको ध्यान जान नसक्नु समस्या भएको बताए । यो विषयको औषधि खरिदको लागि अन्तराष्ट्रिय स्तरको टेण्डर गर्नुपर्ने प्रावधान भएकाले पनि औषधी सप्लाइमा समस्या भएको शाहीको भनाइ थियो ।
नेपालगन्ज उमहानगरपालिका स्वास्थ शाखाका सहसंयोजक हरीहर तिवारीले सर्पदंशको विषयमा सचेतनामुलक कार्यक्रमहरु संचालन हुन नसक्दा र सर्पले टोकेपछि ब्यक्तिको मृत्यु हुन्छ भन्ने मानवीय बुझाइ भएकाले पनि सर्पको टोकाइबाट मान्छेको मृत्यु हुने गरेको बताए । सर्पदंशको बढ्दो बिगबिगीलाई कम गर्न स्थानीय सरकारको ध्यान जान जरुरी छ ।