काठमाडौं – नेपालगन्जबाट प्रकाशित दैनिक नेपालगन्जलाई प्रेस काउन्सिल नेपालले ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ बाट सम्मानित गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारीले दैनिक नेपालगन्जलाई उक्त सम्मान प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारीबाट दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेले ५० हजार राशी सहितको उक्त सम्मान ग्रहण गरेका थिए ।
कार्यक्रममा प्रेस काउन्सिलले यस वर्षको ‘गोपालदास पत्रकारिता पुरस्कार’बाट वरिष्ठ पत्रकार गोविन्दबहादुर थापालाई प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई रु एक लाख ५१ हजार नगदसहित पत्रकार थापालाई सम्मान गरेकी थिइन् ।
यस्तै ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’बाट पत्रकार एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्य सम्मानित भएका छन् । पुरस्कारको राशि रु एक लाख पाँच हजार रहेको छ ।
‘भाषागत पत्रकारिता पुरस्कार’बाट मोहम्मद हसन मियाँ, सुनसरी सम्मानित भए । पुरस्कारको राशि रु २० हजार रहेको छ । यस्तै ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारकारिता पुरस्कार’बाट अन्तरबोध साहित्यिक त्रैमासिक पुरस्कृत भएको छ । पुरस्कारको राशि रु २० हजार रहेको छ ।
यस्तै ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’बाट राससकर्मी सीतारामप्रसाद बर्मासहित नौ जना पत्रकार रहेका छन् । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । राससकर्मी बर्मा धादिङलाई कर्मथलो बनाएर विगत लामो समयदेखि राससमा सेवा गर्दै आएका थिए । सो पुरस्कारबाट सम्मानित हुनेमा नेपालभूषण न्यौपाने, शिवबहादुर कार्की, यज्ञप्रसाद शर्मा, हरि जोशी, बालकृष्ण प्रसाद, शङ्कर कार्की, विष्णुप्रसाद शर्मा र विश्वमणि सुवेदी छन् ।
यस्तै ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’बाट १० जना पत्रकार सम्मानित भए । पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ । सो पुरस्कारबाट सम्मानित हुनेमा मीना तिवारी घिमिरे, अजयदीप शर्मा, अमर खड्का, करुण अर्याल, विधान श्रेष्ठ, निलीफा सुब्बा, मन्जिमा ढकाल, सोमबहादुर थापा र रिङ्कु मिश्र छन् ।
त्यस्तै काउन्सिलले प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कारबाट सविता बानियाँ र हर्कबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । त्यस्तै प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कारबाट विपुल पाण्डे पुरस्कृत हुनुभएको छ । पुरस्कारको राशि रु १० हजार रहेको छ । पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलगायतको उपस्थिति थियो ।