आज काउन्सिलको स्वर्णजयन्ती
नेपालगन्ज – प्रेस काउन्सिल नेपालले आज सोमबार स्वर्णजयन्ती मनाउँदै छ । काउन्सिलले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष पत्रकारिता क्षेत्रका विभिन्न विधाका व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्दैआएको छ । यस बर्षपनि आफ्नो ५० औँ वार्षिकोत्सवको अवसरमा विभिन्न पुरस्कारहरु प्रदान गर्ने निर्णय काउन्सिलले गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
प्रेस काउन्सिलले यस बर्ष नेपालगन्जबाट प्रकाशित दैनिक नेपालगन्ज राष्ट्रिय दैनिक पत्रिकालाई प्रेस काउन्सिल आचारसंहिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रेस काउन्सिलले आइतबार जारी गरेको विज्ञप्तिमा ५० हजार पुरस्कार राशीको उक्त पुरस्कार दैनिक नेपालगन्जलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
काउन्सिलले १ लाख ५१ हजार राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार गोविन्दबहादुर थापा, .१ लाख ५ हजार राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार डा. सुरेश आचार्य, २० हजार पुरस्कार राशीको प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मो. हसन मियाँ, २० हजार पुरस्कार राशीको प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार अन्तर्बोध सा.त्रै.का सम्पादक÷प्रकाशक होमशंकर बास्तोलालाई प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै, २० हजार राशीको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार ९ जनालाई, १५ हजार पुरस्कार राशीको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १० जनालाई, प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार सविता बानियाँ र हर्कबहादुर श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार, २०७६ ः विपुल पाण्डेलाई प्रदान गर्ने निर्णय काउन्सिलले गरेको हो ।
काउन्सिलले आज सोमबार एक औपचारिक कार्यक्रम बीच राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा स्वर्ण जयन्ती मनाउँदैछ ।