बागेश्वरीमा नेपालगन्जका सपना

व्यक्तिका नाममा गरिएको मन्दिरको सम्पत्ति फिर्ता ल्याउन माग
बागेश्वरी विकास कोष पहल गर्न सुझाव

नेपालगन्ज – प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा नेपालगन्जको समृद्धिको सपना देखिएको छ । संघीयतापछि यहाँको आर्थिक अवस्था खस्कंदै गएको अवस्थामा बागेश्वरी मन्दिरको विकास गरे त्यसले नेपालगन्जकै आर्थिक अवस्थामा सकारात्मक प्रभाव पार्ने विश्वास शनिबार बागेश्वरी मन्दिरको बृहत्तर हित र विकासका लागि सुझाव संकलनका लागि बागेश्वरी गुठी व्यवस्थापन समिति नेपालगन्ज आयोजना गरेको कार्यक्रमका सहभागीहरुले व्यक्त गरेका हुन् ।

संघीयतापछि नेपालगन्ज व्यापार, व्यवसायमा नकारात्मक असर परेको छ । त्यो असरलाई भरपाई कसरी गर्ने भन्ने बहस नेपालगन्जको व्यवसायिक क्षेत्रमा हुने गरेको छ । प्रदेशको अस्थायी राजधानी बुटवल कायम भएपछि तत्कालीन मध्यपश्चिम अन्तर्गत रहेका कार्यालयहरु नेपालगन्ज छाड्दै गएका छन् । कतिपय कार्यालयहरु टुक्रिएका छन् । यसले यहाँको व्यापार, व्यवसायमा नकारात्मक प्रभाव परेको छ । ‘बागेश्वरीको बृहत्तर विकास गर्ने हो भने धार्मिक पर्यटन मार्फत नेपालगन्जलाई आर्थिक रुपमा उठाउन सकिनेछ’, कार्यक्रममा व्यवसायी पशुपति दयाल मिश्रले भने । उनले काठमाडौंलाई पशुपति, जनकपुरलाई जानकी मन्दिरले चिनाए जस्तै प्रवद्र्धन गर्न सके बागेश्वरी मन्दिरले नेपालगन्जलाई चिनाउन सक्ने बताएका थिए ।
कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले बागेश्वरी मन्दिरको विकासका लागि बागेश्वरी विकास कोषका लागि प्रयास गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा स्वागत गर्दै बागेश्वरी गुठी व्यवस्थापन समितिका उपाध्यक्ष विजय कुमार गुप्ताले बागेश्वरी मन्दिरका नाममा रहेको ८४ विगाह जग्गा व्यक्तिका नाममा गएको पाइएकाले त्यो कानुन सम्मत रहे नरहेको अनुसन्धानको विषय भएको बताएका थिए ।
बागेश्वरी मन्दिरबारे शोध गरेका डा. राजकुमार सुवेदीले बागेश्वरीको गुरुयोजनाका बारेमा व्यापक छलफल गरिनुपर्ने धारणा राखेका थिए । उनले बागेश्वरी मन्दिरलाई विकास कोष बनाउनका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए । डा. सुवेदीले भूमि विधेयकका कारण व्यक्तिका नाममा गएको बागेश्वरी मन्दिरको सम्पत्ति फिर्ता ल्याउन समस्या हुने तर्फ ध्यानाकर्षण गराएका थिए ।

गुठीका सचिव गोपाल प्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बागेश्वरीको बृहत्तर विकासमार्फत नेपालगन्जलाई समृद्ध बनाउन सम्भावना औंल्याए । उनले त्यसका लागि मन्दिरलाई विकास कोष तर्फ अग्रसर बनाउन सबैको जोड हुनुपर्ने धारणा राखेका थिए ।
प्राज्ञ सनत रेग्मीले नेपालगन्जले आफ्नो सरोकारका विषयमा चासो नदिंदा पछाडि परिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । बागेश्वरीको बृहत्तर विकास नहुनुमा यहाँको नागरिक समाज, राजनीतिक दल, स्थानीयबासी सबै जिम्मेवार रहेको रेग्मीको भनाइ थियो । ‘सार्वजनिक सम्पत्ति लथालिङ्ग छ, संरक्षणका लागि कसैले चासो दिएनन्, त्यसैले बागेश्वरीको जग्गा अहिले व्यक्तिका नाममा पुगेको हो’, प्राज्ञ रेग्मीले भने, ‘सम्पत्ति खोजबिनलाई प्राथमिकतामा राखिनु पर्दछ ।’

घरबारीटोलका सुन्दर शाक्यले मन्दिर परिसरबाट नै महिलाहरुका सिक्रि लुटिएको भन्दै सुरक्षामा व्यवस्था सुदृढ बढाउन व्यवस्थापन समिति सँग आग्रह गरेका थिए । उनले बेलाबखत मन्दिर प्रवेशमा घुइँचोका कारण समस्या हुने भएकाले महिला, ज्येष्ठ नागरिक र पुरुषका लागि छुट्टाछुट्टै प्रवेशद्वार बनाउन सुझाव दिएका थिए ।
हनुमानगढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुनिल भट्टराईले बागेश्वरी मन्दिर परिसरलाई फराकिलो बनाउनु पर्ने धारणा राखेका थिए । मन्दिर परिसरमा संरचना निर्माण गर्दा मन्दिर क्षेत्र अव्यवस्थित नहोस् भन्नेमा व्यवस्थापन समितिले ध्यान पुर्याउनु पर्ने सुझाव भट्टराईले दिएका थिए ।

प्रदेशसभा सदस्य नमूना केसीले बागेश्वरी मन्दिर विकास कोष निर्माणका लागि सबैको सामूहिक पहल आवश्यक रहेको बताइन् । उनले संयुक्त प्रयास गरे बागेश्वरी विकास कोष स्थापना सम्भव रहेको औंल्याएकी थिइन् ।

प्रदेशसभा सदस्य तथा नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले व्यक्तिका नाममा गएको मन्दिरको जग्गा कुनै पनि हालतमा फिर्ता ल्याइनु पर्ने बताएका थिए । ‘कसले मन्दिरको सम्पत्ति बेच्यो त्यो खोजीको विषय हो, दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्छ’, उनले भने । अध्यक्ष खरेलले मन्दिरको आय–व्याय निरन्तर रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउन व्यवस्थापन समितिलाई सुझाव दिएका थिए । प्रदेशसभा सदस्य खरेलले सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि प्रदेश सरकारले कस्तो विधेयक बनाउने भन्ने विषयमा छलफल गरिरहेको जानकारी दिएका थिए ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले मन्दिरमा दर्शनका लागि तोकिएका विविध शुल्क हटाइन आग्रह गरेका थिए । व्यवसायी मिना ढकालले मन्दिर क्षेत्रलाई शान्त र सुन्दर बनाउने तर्फ व्यवस्थापन समितिको ध्यान जानु पर्ने बताएकी थिइन् ।

गुठी व्यवस्थापन समितिका केन्द्रीय अध्यक्ष मिनराज चौधरीले बागेश्वरी मन्दिरको प्रचारप्रसारमा ध्यान दिन सुझाव दिएका थिए । उनले प्रविधिको युग रहेकाले सामाजिक सञ्जाल तथा वेभ साइट बनाएर त्यसका सम्पूर्ण जानकारी राख्नु उचित हुने बताए । उनले राजनीतिक दबाबका कारण सरकारी जग्गा संरक्षणमा समस्या पर्ने गरेको समेत बताएका थिए । ‘कार्यविधि बनाएर मन्दिर व्यवस्थापनको काम गर्नुस्’, उनले भने ।

नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले आफ्ना कुरा भन्ने र अरुका कुरा नसुन्ने प्रवृत्तिले नेपालगन्ज पछि परेको बताएका थिए । उनले मन्दिर सबैका भएकाले सबैले यसको विकास र प्रवद्र्धनका लागि चासो राख्ने, आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । नगर प्रमुख डा. राणाले कानुन बागेश्वरी मन्दिर क्षेत्रबाट मदिरा कारोबार रोक्नका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । ‘रोजगारीसँग जोडिएका विषय भएकाले तत्काल त्यो सम्भव हुँदैन तर कति व्यवसायी छन् एकीन गरी व्यवस्थापनका लागि समय दिइनेछ’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया