अपराध नियन्त्रण गर्ने प्रतिबद्धता

नेपाल–भारतका सुरक्षा अधिकारीहरुको बैठक

नेपालगन्ज – शनिबार भारतको बहराइचमा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा आ–आफ्नो क्षेत्रमा सीमामा हुने आपराधिक घटना नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको छ । एसएसबी मुख्यालय बहराइज जिल्लाको अगैयामा भएको बैठकमा नेपाल–भारतका सुरक्षा अधिकारीहरुले सीमामा हुने अपराधिक घटना नियन्त्रणका लागि आपसी सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बर्दियाका प्रजिअ राम बहादुर कुरुवाङ, दाङ्गका प्रजिअ गोविन्द रिजाल, बाँकेका प्रहरी प्रमुख वीर बहादुर ओली, भारतीय सुरक्षा अधिकारीहरु देविपाटन मण्डल, महेन्द्र कुमार, जिल्ला अधिकारी शम्भु कुमार लगायतको सहभागिता रहेको थियो ।

बैठकमा पछिल्लो बैठकमा उठेका विषयहरुमा चर्चा पनि गरिएको थियो । सन् २०१९ मा हुने उपनिर्वाचनमा पनि सहयोगका अपेक्षा राख्दै भारतीय सुरक्षा अधिकारीहरुले निर्वाचनमा नेपाली सुरक्षा अधिकारीहरुले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । उनीहरुले खुला सीमा रहेका कारण सीमामा रहेको वन क्षेत्रमा अवाञ्छित गतिविधि हुने गरेकाले निगरानी बढाउनु पर्ने धारणा राखेका थिए ।

बैठकमा खुला सीमाना भएकाले आपराधिक गतिविधि हुनसक्ने सीमामा रहेको वन क्षेत्रमा संयुक्त गस्तीको आवश्यकता औंल्याइएको थियो । बैठकमा सीमा क्षेत्रमा खटिने सुरक्षा अधिकारीहरुसँग समस्या बारे जानकारी लिएर त्यसको समाधानका लागि आगामी बैठकमा चर्चा गर्न प्रस्ताव समेत गरिएको थियो ।

बैठकमा भारतीय अधिकारी शम्भु कुमारले प्रत्येक तीन महिनामा सीमावर्ती जनपद प्रहरी र दुई महिनामा त्यसमाथिका प्रहरी अधिकारीहरु बीच समन्वय बैठक गर्न प्रस्ताव गरेका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र बर्दियाका प्रजिअ कुरुवाङ लगायत नेपाली अधिकारीहरुले भारतको उपनिर्वाचनमा सीमा सुरक्षामा सघाउने प्रतिबद्धता जनाएका थिए ।

बैठकमा दुई देशमा हुने लागुऔषधको कारोबार, अवैध हतियार ओसारपोसार, पशु तथा मानव तस्करी लगायतका अपाराधिक घटना नियन्त्रणका बारेमा समेत चर्चा गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया