पर्यटन बर्ष २०२० को प्रवद्र्धन गर्दै साइकल यात्रामा निस्केका खोटाङ्ग मजुवागढीका कर्ण श्रेष्ठले ७३ वटा जिल्ला पुगेका छन् । बाँकेका आएका उनी शुक्रबार कपिलवस्तु पुगेका छन् । २०७५ साल चैत्र ३ गतेबाट श्रेष्ठले साइकलमा देश भ्रमणको लक्ष्य राखेर निस्केको जानकारी दिएका छन् ।
श्रेष्ठले चैत्र यता दैनिक ४० किलोमिटर साइकल चलाउने गर्दछन् । खासगरी उनी प्रत्येक जिल्लाका सदरमुकाम पुग्ने गरेका हुन् । भ्रष्टाचार मुक्त समाजको निर्माण गरौं, धार्मिक एवं पर्यटन प्रवद्र्धन गरौं भन्ने नारा बोकेर हिडेका साइकल यात्री श्रेष्ठले नेपालगन्जका सञ्चारकर्मीसँग भेटेर विकास र सुशासनका पक्षमा कलम चलाउन आग्रह गरेका थिए ।
श्रेष्ठ जिल्ला जिल्लाका राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, प्रशासन कार्यालयका प्रमुख, सञ्चारकर्मी, व्यवसायीसँग भेट्ने गरेका छन् । त्यसक्रममा उनले प्राकृतिक स्रोतको उपयोगका योजना बनाउन आग्रह गर्ने गरेको जानकारी दिए । ‘कृषिको औद्योगिकरण, पर्यटकीय स्थलको प्रवद्र्धन गर्नुपर्छ भन्ने सन्देश दिइरहेको छ’, साइकल यात्री श्रेष्ठले भने ।