नेपालगन्ज – बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले जिम्मेवारी लिए यताको सम्पूर्ण प्रगति विवरण आज शनिबार सार्वजनिक गर्ने भएको छ । लामो समयदेखि व्याप्त विवाद, बहसका बीच गुठीले गरिरहेको कार्य प्रगति विवरण र अवस्थाबारे सम्पूर्ण रुपमा जानकारी गराउन लागिएको हो ।
‘हालसम्म समितिले गरेका काम, कारवाही र गतिविधि सँगै अबका योजनाहरु बारे सम्पूर्ण विवरण सार्वजनिक गर्न लागेका छौं’, गुठीका सचिव गोपाल प्रसाद अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘बागेश्वरीबारे भैरहेका सम्पूर्ण चर्चा, परिचर्चा बारे गुठीको धारणा सार्वजनिक गरिनेछ ।’
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाको अध्यक्षतामा गुठी व्यवस्थापन समिति गठन भएपछि मन्दिर सुधारका तमाम कामहरु भएको सचिव अधिकारीले जानकारी दिए ।
खासगरी बागेश्वरी मन्दिर परिसरमा सडक बिस्तारका क्रममा भौतिक पूर्वाधार हटाइएपछि नयाँ निर्माण नगरी खुला रुपमा मन्दिर क्षेत्रको बिस्तार माग हुँदै आएको छ । उक्त विषयमा परेको उजुरीमाथि सुनुवाई गर्दै पुरातत्व विभागले गुठीलाई काम गर्न सक्ने अधिकार दिएपछि लगायतका विषयमा सरोकारवालाहरु बीच गुठीले आफ्ना धारणाहरु राख्न आज शनिबार कार्यक्रम आयोजना गरेको हो ।
यसअघि गुठिका सचिव अधिकारीको संयोजकत्वमा अध्ययनका लागि कानुनी सल्लाहकार लोक बहादुर शाह र ओम प्रकाश आजाद सदस्य रहेको समिति गठन भएको थियो । समितिले २०५७ साल यताका प्रयास, उपलब्धी, भेटिएका सम्पत्ति विवरण र आगामी कार्ययोजनाबारे प्रतिवेदन तयार पारेको र सोही प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ ।











