सम्भावनाको खोजी गरिंदै :नेपालगन्ज–दिल्ली र नेपालगन्जदेखि विभिन्न आन्तरिक उडानको सुनिश्चितताका लागि दबाब बढाइने
नेपालगन्ज – संघीयता कार्यान्वयन सँगै नेपालगन्जलाई पछाडि पार्न खोजिएको भन्दै यहाँका व्यवसायीहरु सम्भावनाको खोजीका लागि निरन्तर प्रयासरत् छन् । शुक्रबार देशभर चौथो संविधान दिवस मनाइरहँदा यहाँका अगुवा व्यवसायीहरुले भने नेपालगन्जको व्यवसायिक भविष्यको खोजीमा छलफलमा व्यस्त रहे ।
‘व्यवस्था परिवर्तनका हरेक ठूला आन्दोलनबाट नेपालगन्जले धक्का खाँदै आएको छ’, छलफलमा सहभागीहरुले नेपालगन्जलाई विकासको निरन्तर गतिमा अगाडि बढाउन सम्भाव्यता खोजीका लागि भैरहेको प्रयासमा भने । होटल व्यवसायी संघ बाँके नेपालगन्जको संयोजनमा यहाँका तारे होटल, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, नाटाका प्रतिनिधिहरुसँग छलफल गरेको हो । ‘छलफलले धेरै महत्वपूर्ण दिशानिर्देश गरेको छ’, संघका अध्यक्ष भीमलाल कंडेलले बैठकपछि दैनिक नेपालगन्जसँग भने, ‘यसलाई निरन्तर फलोअप गरिरहनेछौं ।’
खासगरी संघीयता कार्यान्वयनसँगै सरकारी तथा गैर सरकारी कार्यालयहरु प्रदेशका मुकामहरु सरेपछि नेपालगन्जमा व्यवसायिक प्रभाव नकारात्मक परेको भन्दै होटल व्यवसायी संघ जुर्मुराएको हो ।
‘यसको ठूलो प्रभाव नेपालगन्जको व्यापार क्षेत्रमा पनि परेको छ’, दशैंका बेला कारोबार सन्नाटा रहेको औंल्याउँदै नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने, ‘यो अवस्था धेरै समय रहिरहनु हुँदैन ।’
सिद्धार्थ गु्रप अफ हस्पिटालिटीका निर्देशक कृष्ण भण्डारी, केशव न्यौपाने, होटल सोल्टीका महाप्रबन्धक इन्द्र खड्का लगायतका व्यवसायीहरुले होटल तथा पर्यटन क्षेत्रका लागि नेपालगन्जमा अर्बौ लगानी भित्रिएको जानकारी दिंदै त्यसको सुरक्षाका लागि राज्यको ध्यान पुग्नुपर्ने औंल्याए । ‘त्यसका लागि नेपालगन्ज–दिल्ली उडान पर्यटकीय दृष्टिले महत्वपूर्ण उपलब्धी हुनेछ’, उद्योगपति पशुपति दयाल मिश्रले छलफलमा भने, ‘यसबारे पर्यटन मन्त्रीसँग गहिरो छलफल भएको छ ।’
नेपालगन्ज विमानस्थलको स्तरोन्नती गरी आवश्यक पूर्वाधारका लागि हालैमात्र पर्यटनमन्त्री योगश भट्टराईसँग छलफल गरेर फर्किएका नेकपा नेता रत्न खत्री, राजनीतिकर्मी समेत रहेका उद्योगपति मिश्र लगायतले बैठकमा मन्त्रालयले नेपालगन्जका लागि अघि सारेका प्राथमिकताबारे जानकारी गराएका थिए । ‘मन्त्री नेपालगन्जको विकास प्रति नकारात्मक हुनुहुन्न’, नेकपा नेता खत्रीले निरन्तर पहलकदमीको खाँचो औंल्याउँदै भने, ‘दशैं अगाडि नै नेपालगन्ज विमानस्थलबाट गर्न सकिने आन्तरिक तथा बाह्य उडानको सम्भाव्यता अध्ययन छलफलका लागि मन्त्री स्वयं आइपुग्ने जानकारी पाएका छौं ।’
अध्ययन टोली आउनु अघि नेपालगन्ज–पोखरा, नेपालगन्ज–भैरहवा र नेपालगन्ज–रारा नियमित उडानका लागि यात्रुको सम्भाव्यता अध्ययन गर्ने निर्णय छलफलबाट गरिएको छ । त्यसका लागि तयारी समिति गठन गरिएको छ । होटल व्यवसायी संघ बाँके नेपालगन्जको संयोजकत्वमा होटल सिद्धार्थ, होटल सोल्टी, सेन्टर प्लाजा, सदस्य रहने तयारी समितिमा पत्रकार टिएस ठकुरी, कृष्ण चौधरी, नाटाका अध्यक्ष श्रीराम सिग्देल सम्मिलित छन् । ‘समितिले एकसाता भित्र दिल्ली, पोखरा, भैरहवा र रारा उडान मागको दाबीका लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ’, संघका महासचिव रंग बहादुर खड्काले भने ।
बैठकमा होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्ले, नाटा बाँकेका महासचिव झविन्द्र शर्मा, पत्रकार टिएस ठकुरी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बागेश्वरी गुठीका सदस्य नारद पुरी लगायतले विभिन्न धारणा राखेका थिए ।