औपचारिक कार्यक्रमदेखि फलफुल वितरण, रक्तदान र अन्तरक्रिया गरी संविधान दिवस मनाइएको हो ।
नेपालगन्ज – संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा देशभर खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । शुक्रबार भव्यताका साथ संविधान दिवस मनाइएको छ । बाँकेका आठ वटै स्थानीय तहमा दिवसका अवसरमा औपचारिक कार्यक्रमहरु आयोजना गरिएको छन् ।
सशस्त्र सङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल असोज ३ गते मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो । विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्काे युगको प्रारम्भ भएको दिन पनि हो ।
संविधान दिवसलाई यसपटक पृथक बनाउने उद्देश्यअनुरुप संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित मुलुकभरका कार्यक्रम झण्डामय बन्न पुगेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमात्रै होइन, हरेक सरकारी कार्यालय, संस्थान, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सर्वसाधारण हातहातमा झण्डा बोकी झण्डा अङ्कित टिसर्ट लगाएर दिवसमा सरिक भए । यसपटक सरकारले कार्यविधि परिवर्तन गरेर घरघरमा समेत झण्डा राख्न पाउने व्यवस्था गरेपछि यसको रौनक थप बढेको छ । सरकाले यसपटक ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने नारा तय गरेको थियो ।
दिवसको अवसरमा जिल्ला समन्वय समितिको नेतृत्वमा नेपालगन्ज रंगशालामा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा झण्डा बोकेर सरकारी कर्मचारी तथा सङ्घसंस्थाका प्रतिनिधि, सर्वसाधारणको सहभागिता रहेको थियो । त्यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेबाट र्याली समेत निकालिएको थियो । भेरी अस्पतालका विरामीहरुलाई दिवसको सन्दर्भ पारेर फलफुल वितरण गरिएको थियो ।
बाँकेको खजुरा गाउँपालिकामा पनि संविधान दिवस भव्यताका साथ मनाइएको छ । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा खजुरा गाउँपालिकामा विभिन्न प्रतियोगिता, दिप प्रज्वलन, सरसफाई लगायतका कार्यक्रमहरु आयोजना गरिएको हो ।
दिवसको अवसरमा शुक्रवार खजुराको धनौलीबाट सुरु भएको ¥याली, खजुरा बजार एक नम्बर बजार हुँदै गाउँपालिकामा पुगेर सभामा परिणत भएको थियो । संविधान दिवस सभालाई सम्बोधन गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका न्यायाधीश विमल सुवेदीले संविधानले दिएको अधिकार कार्यान्वयन अबको चुनौती रहेको बताए । उनले संविधानले चाहेभन्दा धेरै अधिकार नेपाली जनतालाई दिएको भन्दै अधिकार प्रयोग र कार्यान्वयन राज्यकोे चुनौतीको रुपमा अगाडि आएको उल्लेख गरे ।
संविधानले दिएको अधिकार सुनिश्चित हुनेमा विश्वास व्यक्त गर्दै न्यायाधीश सुवेदीले आर्थिक पाटो सबल बनाउनु राज्यको लागि अर्को चुनौती रहेको बताए । उनले संविधानले मौलिक हक लगायत राज्य संयन्त्र हेर्दा स्थानीय तहसम्म शासनको अधिकार दिएको बताए ।
खजुरा गाउँपालिका कार्यवाहक अध्यक्ष एकमाया विकको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, स्थानीयबासीको सहभागिता रहेको थियो ।
कोहलपुर नगरपालिकामा दिवसको अवसरमा र्याली र कोणसभा गरिएको छ । सभालाई सम्बोधन गर्दै नगर प्रमुख लुट बहादुर रावतले संविधान कार्यान्वयनका लागि एकजुट हुनुपर्ने धारणा राखेका थिए ।
बाँकेको जानकी गाउँपालिकामा पनि दिवसको अवसरमा प्रभातफेरि निकालिएको थियो । वडा नं. ४ खजुराखुद्र्धको नहरचोकदेखि सुरु भएको प्रभातफेरीमा सहभागीले हातमा झण्डा लिएर उत्साहका साथ कृषि तालिम केन्द्रसम्म पुगेका थिए । प्रभातफेरीलाई कृषि तालिम केन्द्रमा पु¥याएर संविधानका विषयमा परिसंवाद कार्यक्रममा परिणत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिएका छन् ।
परिसंवाद कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य अशोक रोकायले नेपालको संविधान नेपाली जनभावना सुहाउँदो रहेको बताएका थिए । ‘यो संविधान नेपाली जनताको राजनीतिक दस्तावेज हो’, उनले भने, ‘जनताभन्दा माथि र जनता भन्दा ठूलो कुनै पनि शासन प्रणालीको शासक हुन सक्दैन ।’
गाउँपालिका अध्यक्ष रामनिवाय यादवको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ४ का अध्यक्ष विश्रामकुमार बर्मा, वडा नं. ५ का अध्यक्ष रमेश बर्मा, वडा नं. ६ का अध्यक्ष सुरेश यादव, कार्यपालिका सदस्य धर्मा थापा, राजकुमार धोवी, टीकाराम नेपाली, गाउँपालिका स्वास्थ्य शाखा संयोजक दलबहादुर राना लगायतले बोलेका थिए ।
संविधान दिवसको अवसरमा नेपालगन्ज स्थित स्प्रिङ डेल एकेडेमीले विभिन्न प्रतियोगिताहरुको आयोजना गरेको छ । विद्यालयले हाजिरिजवाफ, वक्तृत्वकला, श्रुतिलेखन, पठनबोध, चित्रकला तथा कविता र गीत गायन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरेको हो ।
वक्तृत्वकला प्रतियोगितामा निश्चल भट्ट, अंकित शाह र सगुन मल्ल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । हाजिरिजवाफ प्रतियोगितामा कक्षा १० का खेमराज थापा, दर्शन पौडेल, नन्दराम यादव, सपना बर्माको समूह प्रथम, कक्षा ९ का सिरिस बुढाथोकी, हेमन्त शाही, आर्यन पण्डित, पुजा कार्कीको समूह द्वितीइ र कक्षा ६ का शुशान्त शर्मा, आदित्य श्रीवास्तव, दिपेन्द्र थापा, दृष्टि लम्सालको समूह तेस्रो भएका थिए ।
श्रुति लेखन प्रतियोगितामा निरिक्षा न्यौपाने, अनुजा घिमिरे, निवेदिता न्यौपाने क्रमशः प्रथम, द्वितीय र तृतीय भएको विद्यालयका प्राचार्य शरद रावलले जानकारी दिएका छन् । पठनबोध प्रतियोगितामा गोपिका धिताल प्रथम, कृपस देवकोटा द्वितीय र आरुषि गैरे तृतीय भए । चित्रकलामा आर्यन वली प्रथम, एन्जिला कर्ण र अन्च केसी तृतीय भए भने गायन तथा कविनामा स्मृति विष्ट, सलिना शाह र सकिरा रासकोटी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।
संविधान दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समिति नेपालगन्जले रक्तदान कार्यक्रमको आयोजना गर्यो । “रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान” सद्गुरुदेव श्री सतपालजी महाराजको ६९ औं पावन जन्मोत्सव तथा बिश्व शान्ति दिवसको समेत सन्दर्भ पारेर बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य अजीत कुमार शर्माले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान मानवीय कार्य भएको बताएका थिए । कार्यक्रममा रेडक्रस बाँकेका मन्त्री अजीज अहमद सिद्दीकी लगायत सहभागी थिए ।
कार्यक्रममा राप्ती भेरी प्रभारी महत्मा नन्दनी बाईजी, भरत बर्सौला, मंगल जिएम, सनम सिंह, सुजन सिटौला, गोपाल रेग्मी, बिजय पाठक, सुजन नेपाल, मन बहादुर खडका, सौरभ चौधरी, शंकर पौडेल, भूपेन्द्र के.सी., टोपेन्द्र थापा, प्रकाश जोशी, सबित गहतराज, नेज नारायण कडेल, बिमल चन्द्र, बिरेन्द्र गहतराज, ऋषिराज देवकोटा, प्रचार शाही, रचना श्रेष्ठ, प्रदीप बस्नेत, सर्वेश जंग शाह, संगीता शाह, विकास काउचामगर, तिलक गहामगर, मनोज तिवारी, ईश्वरी बस्नेत, उज्वल मैनाली, मोहन बस्नेत, राजेन्द्र पोखरेल, विबेक शाही, हेमन्त ओली, ब्यापकराज शाही, अर्जुनदान के.सी., सन्दिप के.सी., राम प्रसाद पौडेल, प्रशान्त राउले, रोशन महतरा, इन्द्र ढकाल, सरोज खत्रीले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेहरुमा नारायण ओली, प्रकाश बिक, विबेक कुमार खडका, अनुप थापा, पवन जायसवाल, बिवेक थापा, तरुण बज्राचार्य, दिपक थापा, कपिल ओली, सागर सिंह, गोपाल ओली, लव रावत, चेतन बहादुर डाँगी, पदम बहादुर रोकाया, मीनराज शाही, रबिन्द्र केसी, सन्दिप थापा, अनु केसी, सन्तोष शाह, अशोक राई, प्रशान्त कर्ण, निमराज अधिकारी, भवानी बुढा, सुरेश थारु, निश्चल शाह, नारायण मल्ल, भुवन ढकाल, सञ्जय कुमार शाही रहेका छन् ।
रक्तदाताहरुलाई राप्ती भेरी प्रभारी महत्मा नन्दनी बाईजीले प्रमाण–पत्र प्रदान गरेकी थिइन् । प्राविधिकमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित क्षेत्रीय रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, गुञ्जा कनौजिया, सुनिता कुमई, बिरेन्द्र योगी र केशर सिंह डाँगीले सहयोग गरेका थिए ।
यसैबीच, संबिधान दिवसको अवसरमा नेपालगन्जका नागरिक अगुवाहरुले संबिधानमा भएको अधिकारका कुरा गर्दा सर्वप्रथम आफ्नो कर्तब्यको पालना गर्नु पर्नेमा शुक्रबार आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । उनीहरुले जुनसुकै अधिकार माग्दा पहिला आफ्नो कर्तव्यको ख्याल गर्नुपर्ने भन्दै संबिधानको धारा १ र ४८ नागरिकको कर्तव्यमा समेत त्यसको व्यवस्था गरेकाले कार्यन्वयनमा जोड दिएका थिए ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले शुक्रबार आयोजना गरेको संबिधान कार्यन्वयनमा नागरिकको कर्तव्यका बारेमा छलफल गरिएको हो । नेपालगन्जमा सार्वजनिक सरोकारका थुप्रै सवालहरु रहेकाले त्यस विषयमा नागरिक समाजको भुमिकालाई प्रभावकारी बनाउनुपर्ने अगुवाहरुले बताएका थिए । अहिले लोकतन्त्रमा दबाब, आन्दोलन, शसक्त आवाज, र विरोध नगरेसम्म कुनै पनि काम नहुने भएकाले सो कार्यको कार्यन्वयनका लागि नागरिक समुह बलियो हुनुपर्ने कार्यक्रममा औल्याइएको थियो ।
संबिधानको चर्चा गरिरहंदा पुर्ब शिक्षक बलराम यादवले विगतका संबिधानलाई हेर्दा यो संबिधानमा सबै कुरा समेटिए पनि संबिधानलाई कार्यन्वयन गर्ने पक्षको कमजोरीले समस्या देखिएको बताउनुभयो । उहाँले अहिले मुलुकमा स्थानीय वडादेखि केन्द्रीयस्तरसम्म भ्रष्टाचार मौलाउदै गएको भन्दै निर्वाचित जनप्रतिनिधीहरुको नियतमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।
अधिबक्ता दिपकबहादुर सिंहले विगत र बर्तमान संबिधानमा भएका व्यवस्था र कार्यन्वयन पक्षका बारेमा आफ्नो विचार राख्नुभयो । केन्द्रका अध्यक्ष विश्वजित तिवारीले जिल्लाका रहेका सार्वजनिक सवालको अवस्था उठान तथा कानूनी प्रावधान र पहलको विषयमा बोल्नुभएको थियो ।
केन्द्रका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले सहजीकरण गरेको कार्यक्रममा नागरिक अगुवा विष्णुलाल कुमाल, गिरीराज शर्मा भटराई, जनकराम भण्डारी, अभय गुप्ता, बलबहादुर चन्द, रविन्द्र ज्ञवाली, कोहिनूर मल्ल, विरेन्द्रकुमार बैश्य, रामचन्द्र पण्डित, विजयरत्न श्रेष्ठ, लक्ष्मी तिवारी, सन्तोषी सिंह लगायतले आ आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
छलफल पश्चात नेपालगन्जका सडकमा सरकासफाई गरिएपछि जम्मा हुने प्लाष्टिकजन्य फोहोरलाई जलाउदा प्रदुषणले हुने खतराबाट हुने जोखिम न्युनीकरणका लागि व्यवस्थापनको पहल गर्ने र बजारका विभिन्न सार्वजनिक स्थान तथा खुद्रा पसलहरुमा मदिराजन्य सामाग्री विक्री वितरणको कार्यलाई नियन्त्रण तथा सम्वन्धित निकायमा अनुमती लिई राजश्व तिर्ने कार्यलाई उत्प्रेरणा प्रदान गर्ने निर्णय गरिएको छ ।