राजस्व छलिको अपराध भएकाले गोदाम÷पसलमा छापा मार्न सकिने भन्सार प्रमुखको चेतावनी
कारोबारनै प्रभावित हुनेगरि बढ्दो तस्करी रोक्न व्यवसायीहरुले राजस्व निकायको ध्यान नगएको गुनासो गरेका छन् ।
नेपालगन्ज – खुला सिमाना र भन्सार उदासिनताको फाइदा उठाउँदै पेय पदार्थको खुलेआम तस्करी भइरहेको खुलासा भएको छ । केही वर्षदेखि घरायशी प्रयोजनमा ल्याइने गरेको कोकाकोला, फ्यान्टा, ड्यु, स्प्राइट जस्ता पेय पदार्थहरुको यो वर्ष व्यापक तस्करी भइरहेको हो ।
‘व्यापारमै भारी गिरावट आएको छ,’ बजारमा तस्करीको माल विक्री बढेपछि पेय पदार्थका स्थानीय डिलर भन्छन्, ‘यसले हाम्रो व्यापार घाटामात्र होइन राज्यको लाखौं राजस्व नोक्सानी भइरहेको छ ।’ शिशाका बोटल बाहेक सबैजसो स्वादका भारतीय पेय बजारमा छ्याप्छ्याप्ती पाइने गरेको छ । ‘हेर्दा सबै उस्तै लाग्ने, ध्यान दिएर पिउँदामात्र स्वादले भेउ पाउन सकिन्छ,’ उपभोक्ता भन्छन्, ‘पसलले नेपाली उत्पादनको मुल्यमा भारतीय गुणस्तरहीन पेय खुलेआम बेचिरहेका छन् ।’
सिमावर्ती भारतीय बजार रुपैडियामा दुई लिटरको कोकाकोला, फ्यान्टा, स्प्राइटलाई १२० रुपैयाँमा पर्छ भने सवा दुई लिटरको ड्युलाई पनि १२० रुपैयाँ पर्ने गरेको छ । ४५० एमएलको प्लाष्टिक बोटल कोकाकोला, स्प्राइट र फ्यान्टालाई भने ५८ रुपैयाँ पर्ने गर्दछ । मुल्यकै कारण भारतीय पेयले नेपाली बजारमा तस्करीको अवस्था सिर्जना भएको हो । ‘प्रतिबोटल २५÷२६ रुपिया कर तिरेको नेपाली गुणस्तरिय पेप्सी, फ्यान्टा, ड्यु वा स्लाइस र तस्करीबाट आएको सामानको मुल्य समान हुनै सक्दैन,’ आशुतोष ट्रेड एण्ड सप्लायर्सका सञ्चालक मधुसुदन दाहालले दैनिक नेपालगन्जसँग भने, ‘राजस्व छलिको यति ठुलो सवालमा राज्यका निकायहरु किन मौन बसेका होलान् ?’ पेप्सीका सेल्स म्यानेजर विकास शर्माले मुलुकका अन्य भन्सारमा यसखाले समस्या रहेपनि अहिले समाधान भइसकेको बताए । ‘नेपालगन्जमा भन्सार कडाइ नहुँदा ठुलो समस्या भएको छ,’ शर्माले दैनिक नेपालगन्जसँग भने ।
२५ वर्षदेखि नेपालगन्जमा कोकाकोलाको डिलर सञ्चालन गरिरहेका शिव एण्ड कम्पनिका सञ्चालक गणेश भण्डारी कारोबारनै प्रभावित हुने गरि तस्करीको सामानले बजार पाएको भन्दै तनावको अवस्था सुनाए । ‘अहिलेसम्म यति धेरै तस्करीले बजार जमाएको थिएन,’ भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘प्लाष्टिक बोटलका कोक, स्प्राइट खुलेआम आइरहँदा सम्बन्धि निकायले नियन्त्रणमा गम्भीर भइदिनु प¥यो ।’
रुपैडियाका एक स्थानीय व्यापारीका अनुसार, उनले दैनिक ठूलो बोटल (२ लिटरको ) कम्तिमा १५० थान बेच्ने गरेका छन् । अन्य व्यापारीले अझ बढी बिक्री गर्ने जानकारी दिंदै ती व्यापारीले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रो त व्यवसाय नै सानो छ, त्यसैले थोरै मात्रामा मात्र बिक्री छ ।’ कहिले काँही एउटैले पटक पटक गरेर सयबढी कोकाकोला लैजाने गरेको उनले बताए । ड्यु, कोक फ्यान्टामात्रै होइन, जुस, फ्रुटि, माजा लगायतका पेयको पनि विना भन्सार ओसारपसार बढेको छ ।
दैनिक नेपालगन्ज संवाददाता पुग्दा सिमावर्ती बजार रुपैडिहामा दुई÷ दुई थान कोकाकोला, फ्यान्टा र स्प्राइटका बोटल मिलाउँदै गर्दा भेटिएका नेपालगन्जका एक ब्यापारीले सस्तो पर्ने भएकाले यतैबाट लिएर जाने गरेको बताए । ’नेपालगन्जमा यसको मूल्य १८० पर्छ भने अब यहाँ १२० मा पाइन्छ । यसै पनि हामी अन्य केही सामाग्रीहरु लिन आएकै हुन्छौं त्यही मौकामा २÷४ बोटल कोकाकोला पनि लैजाने गरेका छौं,’ उनले हरेक दिन अन्य सामानसँगै कोक, फ्यान्टा रुपैडिहाबाटे लगिने गरिएको खुलाए । भन्सार तथा प्रहरीलाई कहिलेकाँकी तिनै कोकका बोटल ‘उपहार’ दिने गरेका ती व्यापारीले पनि स्वादमा नेपाली कोकनै उत्तम रहेको बताए । ‘ड्यु भने भारतीय माग बढेको छ,’ उनले दैनिक नेपालगन्जसँग भने, ‘भन्सार तिरेर लैजानु प¥यो भने त रुपैडिहाबाट लैजानुको अर्थनै हुँदैन ।’ स्वाद र गुणस्तरमै फरक रहेकाले नेपाली उत्पादननै उपभोक्ताको रोजाइमा रहनेभएपनि व्यापारीले नाफाका लोभमा उपभोक्तालाई भारतीय उत्पादनमा बानी पारिरहेको बताउँछन् ।
‘सानातिना घरायसी सामाग्री देखि लत्ताकपडा र तरकारीमा समेत सिमावर्ती बजार रुपैडिया पुग्ने आम नेपालगन्जीया हामी पेय पदार्थको लागि समेत रुपैडियामै पुग्ने बानीको बिकास भैसकेको छ,’ भन्सारमा २ बोटल ड्यु र ५ बोटल माजा लिएर आइरहेका धम्बोझीका युवाले भने । नेपालगन्ज घरबारी टोलकी एक गृहणी पनि काम विशेषले रुपैडिहाबाट फर्किने बेला दुई बोटल पेय पदार्थ बोकेर फर्किएकी भेटिइन् । काम ’मेरो कुनै व्यवसाय छैन । दुई बोटल कोक लगेर बिक्री गर्ने मेरो मनसाय होइन,’ उनले भनिन्, ‘यहाँ आएको बेलामा घरमंै प्रयोग गर्नको लागी लिएर जाँदैछु ।’ नेपालगन्जमैं पनि भारतीय उत्पादन महँगो खानु परेपछि रुपैडिहा आएको बेला आफैले किनेर लग्ने गरेको उनको तर्क थियो ।
नेपालगन्ज भन्सार कार्यालयले व्यक्तिगत प्रयोजन बाहेकलाई पेय पदार्थ विना भन्सार छुट नदिइने बताएको छ । ‘त्यसरी छलछाम गरेर लगिएको रहेछ भने गोदाम र पसलमा छापा मार्न सकिन्छ,’ नेपालगन्ज भन्सार प्रमुख शान्तिराम निरौलाले दैनिक नेपालगन्जसँग भने, ‘सुचना दिएर व्यापारीहरुले सहयोग गर्नुप¥यो ।’ साइकल÷मोटरसाइकलमा २÷४ बोटल घरायशी प्रयोगका लागि भन्दै दिनमा कयौं पटक ओहोरदाहोर गर्नेलाई १०÷२० रुपिया घुसमै छाडिने गरेको प्रत्यक्षदर्शीको बताउँछन् । ‘भन्सार नगरेर लगिएको बस्तु जुनसुकै बेला छापा मार्न सकिन्छ,’ भन्सार प्रमुख निरौलाले त्यसका लागि आफुले ध्यान दिने बताए ।