भोटको वचन भुलेपछि…

नेपालगन्ज – धम्बोझी सङ्गममार्गकी चन्द्रकला उप्रेतीले १२ वर्ष भयो हरेक वर्ष वर्खामा ६ महिना आफ्नो घर छोडेर विस्थापित हुनुपर्छ । २०६४ सालको वर्खाबाट पहिलो झर पानीमै उनको एक तले पक्की घर डुब्न थालेको हो । १२ वर्षअघिको वर्खामा सुतेको खाटका लुगा नै भिजेपछि विउँझेर मध्यरातमा विस्थापित भएको घटना आजै हो जस्तो लाग्छ । त्यसपछिका हरेक वर्खामा उनी बेघर हुँदै आएकी छिन् ।

द्वन्द्वकालमा पति सेनाबाट बेपत्ता पारिएपछि तीन नाबालक छोराछोरीलाई एक्लै संघर्ष गरेर हुर्काएकी उनले त्यो घर बेच्न पनि सकिनन् । स्थानीय सरकार बनेपछि पनि उनको अवस्था त्यस्तै छ । उनी भन्छिन्, “२ वर्षदेखि वडाले एक ट्रली माटो वा ग्राबेल खसाएको छैन । उपमहानगरपालिका गुहार्दा सबै जिम्मा वडा कार्यालयको भनेर टारिन्छ । वडाअध्यक्ष प्रमोद रिजालसँग भन्यो बजेट छैन भन्छन् । अब त आश पनि लाग्न छोड्यो ।”

चन्द्रकलामात्र होइन यस टोलका २० घरधुरीले यो समस्या भोग्न थालेको २० वर्षभन्दा बढी भयो । टोलको उत्तरी निकास रिक्सा छिर्नसमेत नसकिने छ । टोलबासीले आफ्नै पहल पटकपटक गरेर बनाएको खजुरारोड निस्कने कच्ची मूलबाटो हरेक वर्खामा कार्तिकसम्म जलमग्न रहन्छ । खजुरा रोडमा रहेको पुरानो निकास बन्द भएको र ३ वर्षअघि नेपालगन्ज नगरपालिकाले उपभोक्ता समितिमार्फत् बनाएको नालीको संरचना व्यवस्थित नभएकोले दुई वर्षदेखि यो टोल झनै डुवानमा पर्दै आएको छ । उपभोक्ता समिति र नगरपालिकाले अनियमितता गरेको भन्दै सोही समितिका सदस्य पदम भण्डारीले उप महानगरपालिकामा १ वर्षअघि दिएको लिखित उजुरीको हालसम्म पनि सुनुवाइ नभएको उनी बताउँछन् । “कम्तिमा १० पटक उपमहानगरपालिकाको कार्यालय धाएँ हुँला । तर फाइल हराएको र भेटिनेबित्तिकै खबर गर्छु भन्ने उपमेयरको जवाफ पाइन्छ । अब त न्याय पाउने आश पनि मरिसक्यो” उनले दैनिक नेपालगन्जसँग भने ।
हरेक चुनावमा भोट माग्न आउने उम्मेदवारलाई एकमात्र यही बाटोको एजेन्डा राख्ने गरेको टोलबासीहरु बताउँछन् । उनीहरुका अनुसार, गत प्रदेश सभाको निर्वाचनमा नगर प्रमुख डा. धवलशमशेर राणा र उपप्रमुख उमा थापामगरले २० घरका प्रतिनिधिहरुको बैठकमा सबैसामु टोललाई डुब्न नदिने प्रतिबद्धता जनाएर गाई र रुखका लागि भोट मागेका थिए । यसै टोलमा रहेको सोही वर्ष स्थापित मेरो टुकी प्रज्ञालय, पूर्व प्राथमिक विद्यालयको उद्घाटन समारोहमा बोल्दै मेयर राणाले सोही आश्वासन दोहोर्याएकोले आफू हौसिएर लगानी बढाएकोमा संचालिका कल्पना खड्का चिन्ता व्यक्त गर्छिन् । “उहाँहरुले आश्वासन नदिएको भए विद्यालयजस्तो संवेदनशील कुरा हामी यस ठाउँमा स्थापना गर्ने नै थिएनौं । सानो पूँजी र ऋण जोहो गरी स्थापना गरेको विद्यालय र बालबालिकाको अधिकारमाथि खेलवाड भएको छ ।” उनले भनिन्,“टोल नै डुवानमा परेपछि अब हामी कहाँ जाने ?”
धम्बोझी एडिबीले प्रहरी गुल्मदेखि वाटरपार्क तथा खजुरारोड नबनाउँदासम्म २ वर्षअघिसम्म पनि यो मार्ग सबैभन्दा चल्तीको र छोटो मार्ग रहेको यहाँका वासिन्दाको भनाइ छ । उपप्रमुख धम्बोझी बासिन्दा भएर सबै समस्या देख्दादेख्दै पनि २ वर्षसम्म वडा वा नगरस्तरको योजनामा यो बाटो नपरेकोमा टोलबासी पुरनसिंह कुँवर अचम्म पर्छन् । उनी भन्छन्,“दुई वर्षदेखि हामी हरेक वर्ष डुबिरहेका छौंं । यस वर्ष असार नलाग्दै बिग्रेको बाटोमा अलिअलि ग्राभेल हालिदिन पटकपटक आग्रह गर्दासमेत वडा कार्यालयले नसुनेको सङ्गममार्गका वासिन्दाको भनाइ छ ।

बुधवारको अविरल वर्षाले अहिलेसम्म डुवानमा नपरेका घरहरुसमेत डुबेका छन् । १० बजेदेखि खजुरा रोडको जाम भएको नाली खोल्न उप महानगरपालिकासँग एक्साभेटर पठाइदिन बारम्बार आग्रह गर्दासमेत सुनुवाइ नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । उपप्रमुख थापा तथा वडाअध्यक्ष रिजालले मौखिक रुपमा यो बाटो एडिबी प्रोजेक्ट अन्तरगत परेकोले वर्षालगत्तै बन्ने आश्वासन दिएकाले कुर्नुको विकल्प नरहेको स्थानीयवासी समेत रहेका साहित्यकार भोजराज शर्मा बताउँछन् । “यसपछि पनि धोका भयो भने के नै भन्न सकिन्छ र ?”
खजुरारोडको धम्बोझी चोक जोडिने नालीलाई गहिरो र फराकिलो बनाएमा समस्या धेरैहदसम्म समाधान हुने स्थानीयको शर्माको भनाइ छ । बुधवारको डुबानले आक्रोशित स्थानीयवासीहरु आन्दोलनमा जानुको विकल्प नभएको भन्दै दैनिक नेपालगन्जसँग भने, के त्यसपछिमात्र सुनुवाई हुने हो ?

भिडियो :

नेपालगन्ज : भिडियोमा हिजोको भारी बर्षा पछिको अवस्था

Posted by Nepalgunj News on Wednesday, September 18, 2019

प्रतिक्रिया

प्रतिक्रिया