सितापुर काँग्रेस प्रकरण , प्रहरी दोषीको खोजीमैं

नेपालगन्ज – सबैको अडकल यतिबेला यहि छ, नेपाली काँग्रेसले सडकदेखि सदन सम्म चर्काइरहेको सितापुर प्रकरण कहाँ पुग्ला ? सत्तारुढ नेकपाका कार्यकर्ताको आक्रमण भन्दै सडकदेखि संसदसम्म हंगामा भएपछि प्रतिवादका स्वरहरु निकालिएका छन् ।

विहीवार यता हरेक दिनजसो नेपालगन्जका सडकमा काँग्रेस सम्बद्ध कार्यकर्ताहरु सडकम प्रदर्शन गरिरहेका छन् । बुधवार पानीले नेपालगन्जमा प्रदर्शन रोकिएपनि संसदमा रोकिएन । कानुनमन्त्रीले जवाफ दिंदै काँग्रेसले मागेजस्तै कारबाही अगाडी बढाइएको बताए ।

नेपाली कांग्रेसको जिल्ला सभापति किरण कोइराला जागरण कार्यक्रमका क्रममा घाइते भएपनि अर्काेदिननै आक्रमण गर्नेविरुद्ध परिवारका तर्फबाट सुधांशु कोइरालाले किटानी जाहेरी दिएका थिए ।
बाँकेको खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्ल विरुद्ध प्रमाण नपुग्ने भन्दै उजुरी दर्ता गर्न नमानेको प्रहरीले संसद अवरुद्ध हुुने अवस्थासम्मको दबाव बनेपछि उनीसहित १० जनाविरुद्ध किटानी जाहेरीलाई दर्ता गरिदिएको प्रहरी स्रोत भन्छ । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग गरेको काँग्रेसको आरोप छ । जबकी मल्लबाहेकका कतिपयलाई अराजकता प्रदर्शन गरेकालेसार्वजनिक लगाएर नसियत दिनेमा नेकपाका नेता सहमत थिए, तर वडाध्यक्षविरुद्धनै लक्षित भएपछि नेकपा बाँके कारबाहीमा सहमत छैन ।

प्रहरी भने यो सबै दबाब र प्रभाव भन्दा नियमित कानुनी कारबाहीको चरण रहेको बताउँछ । बाँकेका प्रहरी प्रवक्ता डीएसपी शिवकुमार सिंहले वडाअध्यक्ष मल्लविरुद्ध पनि जाहेरी परेको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, हामी त निरन्तर आफ्नो काम गरिरहेका छौं, तैपनि खोइ किन यो सबै सडकदेखि सदन सम्म प्रदर्शन ? । ‘ उहाँहरुले दिएको जाहेरी अनुसारनै हामी अनुसन्धानमै छौं’ डीएसपी सिंहले तीन जनालाई समातिएको र अरुको खोजी भइरहेको जानकारी दिंदै भने ।

प्रहरीका अनुसार, खजुरा गाउँपालिका १ का रोशन सिंह ठकुरी, लोकबहादुर शाही र निर्मल सिंह खत्रीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ । खुला सिमाना भएकाले आरोपीहरु भारततर्फ गएको हुनसक्ने तर्क गर्दै डीएसपी सिंहले भने, चिसापानी देखि सितापुरसम्म हाम्रो टोलीले छापा मारिरहेको छ । उनले एउटा विशेष टोलीनै त्यसका लागि परिचालित भएको दावी गरे ।

केन्द्रीय राजनीतिमैं टाउको दुखाई बनिरहेको सितापुर घटनामा संलग्नहरुलाई कारबाहीका लागि गृहमन्त्रालयलेनै निरन्तर बाँके प्रहरीलाई घटनाका दोषी पहिचान र कारबाहीका लागि निर्देशन दिएको बताइएको छ । गत विहीवार सितापुरस्थित रेडक्रस भवनमा जागरण कार्यक्रम गरिरहेको बेला स्थानीय काँग्रेस युवा असलम भाटलाई समात्न भन्दै कार्यक्रमस्थल प्रवेश गर्दा भएको विवादमा काँग्रेस सभापति किरण कोइराला घाइते भएपछि घटना पेचिलो बनेको हो । आफ्नो कार्यक्रम विथोल्न नेकपाका कार्यकर्ताले आक्रमण गरेको दावी गर्दै घटनापछि काँग्रेस सडकदेखि सदनमा आन्दोलित भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया