नेपालगन्ज – आज बिहानै देखि परेको भारी बर्षाका कारण नेपालगन्जका विभिन्न स्थान जलमग्न भएको छ । नेपालगन्जको पासाङलाह्मु मार्ग , सेतु बिक चोक , बागेश्वरी हलरोड , धम्बोझी , घरबारी टोल , बागेश्वरी रोड, न्यु रोड , रानितलाउ लगायतका स्थान जलमग्न बनेका छन् ।
उता खजुराको पेढाली नाला बढेर साँझ ६ बजे देखि आवतजावत समेत रोकिएको खजुरा ३ का बिबेक मल्लले जनाएका छन् भने खजुरा गाउँपालिका वडा नम्बर दुई सि गाउँमा पर्ने किरण नालाको बाटो माथी पानी बग्न थाले पछि करिब ३-४ बजे देखि सि गाउँ हुँदै ए गाउँ, एल गाउँ तथा बर्दिया जाने बाटोमा आवतजावत बन्द भएको नरेन्द्र ददेलले जानकारी दिएका छन् ।
मौसमकै कारण नेपालगन्ज विमानस्थल समय पहिलेनै बन्द भएको छ । मौसम नखुल्दा काठमाडौबाट नेपालगन्ज आइपुग्नुपर्ने बुद्ध एयरको लाष्ट फ्लाइट धनगढी डाइभर्ट गरिएको, बुद्ध एयरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहले दैनिक नेपालगन्जलाई जानकारी दिए । दिनभरि भने नेपालगन्जमा पानी पारे पनि आकाश खुल्लै थियो ।
उता बर्दिया जिल्लाको अवस्था पनि उस्तै छ । सामाजिक संजालमा डुबानबाट परेको असर र जलमग्न रहेको तस्वीर बिहानै देखि देखिदै आएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले लगातार परेको बर्षाका कारण डुबान भैरहने स्थानहरुमा सतर्क रहन आव्हान समेत गरेको छ ।
मौसम तथा पूर्वानुमान शाखाले आफ्नो वेबसाईट मार्फत दिएको जानकारी अनुसार बुधबार सबैभन्दा बढी बर्षा ७६.७ मिलिमिटर पानी नेपालगन्जमा पर्ने संभावना रहेको जनाएको छ