टीएस ठकुरी
सात बर्ष अघि रतन (टण्डन)दाइ नेपाली खेलकुदको प्रतिष्ठित पुरस्कार पल्सर स्पोर्ट्स ‘बिशेष सम्मान’ बाट पुरस्कृत भए । त्यतिबेला निकै भावुक बनेका उनले मन्तव्यमा भनेका थिए –‘मेरो ४० बर्षे खेलकुद जीवनमा पाएको सम्भवतः यो नै ठुलो सम्मान हो । यसलाई मैले नागरिक सम्मानका रुपमा लिएको छु । किनकी पत्रकारहरु समाजका मार्गनिर्देशक हुन्, आवाज विहीनका आवाज हुन् । पत्रकारले लेखेका समाचार आम जनताका भावना हुन् । यसर्थ खेल पत्रकारहरुको सम्मानलाई मैले आम नेपाली जनताबाट प्राप्त सम्मानका रुपमा लिएको छु ।’
राजधानी काठमाडौ कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको भव्य अडोटोरियम हलमा खचाखच भरिएका खेलप्रेमीहरुमाझ उक्त सम्मान पाइरहँदा रतन दाइका आँखामा आँशु टिल्पिलाएका थिए, खुशीका आँशु । उनले मन्तव्यका क्रममा पटक पटक गृहनगर नेपालगन्जलाई सम्झिए । गृह जिल्ला बाँकेको नाम पटक पटक लिए ।
उक्त सम्मान नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गरेको थियो । प्रथम दक्षिण एशियाली भारोत्तोलन च्याम्पियनसीप आयोजनाको टिम लिडर हुनुका नाताले मञ्चले उनलाई उक्त बर्षका लागि यो पुरस्कारको हकदार ठान्यो । जुन प्रतियोगिता नेपालगन्जमा भएको थियो । तसर्थ त्यतिबेला उनले खेलकुदमा पाएको सम्मानको श्रेय परिवारलाई दिंदै समस्त जिल्लावासीलाई सम्झिएका थिए । ‘परिवारपछि यो सम्मानको भागेदार बाँके जिल्ला निवासी सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीलाई जान्छ, जानुपर्छ । उहाँहरुकै साथ र सहयोगले मलाई खेलकुदमा लाग्न प्रेरित गरिरह्यो, सदैव उर्जा भरिरह्यो ।’ उनले भनेका थिए–‘ अनि, नेपालका सम्पुर्ण राष्टिय तथा अन्तर्राष्टिय खेलाडीहरु, प्रशिक्षक, रेफ्री तथा खेलकर्मीहरुलाई पनि यसको श्रेय बाँड्न चाहन्छु ।’
गीताको श्लोक भन्छ –‘कर्म गर फलको आशा नगर ।’ वास्तवमा फलको आशा नगरेर पनि कर्म गरिरह्यो भने अन्ततः मिठो फल पाइदो रहेछ । रतन दाइलाई त्यतिबेला त्यस्तै महसुस भएको हुनुपर्छ । रतन दाइको खास पृष्ठभुमि उद्योग र व्यापार हो । उनको बुवा कृष्णगोपाल टण्डन यहाँको नामुद व्यापारी थिए । साथै शिक्षाप्रेमी र समाजसेवीको पहिचान पनि स्थापित गरेका थिए । लामो समय टण्डन परिवार नेपालगन्जको उद्योग र व्यापारको पर्याय हो ।
उद्योग व्यापारमा लगानी गरेपछि प्रतिफल अवश्य पाउनुपर्छ । व्यापारको सिद्धान्त पनि यही नै हो । तर रतन दाइले व्यापारलाई खेलकुद र सामाजिक कार्यसँग कहिल्यै दाँजेनन् । उनको बिशेषता नै यही हो ।
रतन टण्डनको ओलम्पिक आरोहणले नेपालगन्जले पर्याप्त लाभ उठाउन सक्छ । उनको छवि अन्तर्राष्ट्रिय समुदायमाझ उज्यालिएको छ । यतिबेला उनी दोस्रोपटक नेपाल ओलम्पिक कमिटीको कोषाध्यक्षमा निर्विरोध भएका हुन् । उनी सबैका रुचाइएका पात्र पनि हुन् । यो निर्विरोध भएबाट पुष्टि हुन्छ । महानगरउन्मूख नेपालगन्जले उनको देशविदेशसम्मको सम्पर्क र सम्बन्धको भरमग्दुर फाइदा लेओस् ।
‘सामाजिक स्वार्थका लागि काम गर्ने क्रममा भने प्रतिफल आफ्ना लागि हैन, समाजकै लागि हुनुपर्छ भन्ने मेरो मान्यता सधैं रहिरह्यो ।’ उनी भन्छन्–‘खेलकुदमा मेरो प्रत्यक्ष, अप्रत्यक्ष संलग्नताले समाजलाई के कति लाभ पुग्यो ? यो त कालान्तरमा इतिहासले मुल्यांकन गर्ने नै छ ।’
मैले कतै पढेको छु –‘जुन समाज गुणग्राही हुँदैन, उक्त समाजले प्रगति उन्नति गर्न सक्दैन ।’ नेपालगन्ज गुणग्राही छ कि छैन । यो पनि प्रतिक्षाको घडी बनेको छ । रतन टण्डन एउटा प्रतीक हुन् । यो ठाउँका लागि काम गर्ने जोकोहीको मुल्यांकन जरुरी छ ।
फेरि पनि नेपालगन्जका परिचय रतन दाइकै कुरा । नेपाली खेलकुद वृत्तमा नेपालगन्ज भन्नेबित्तिकै सम्झिइने एउटा नाम हो रतन टण्डन । टण्डन परिवारमा जन्मिएर पनि खेलकुदमा समर्पित भएकै कारण उनको नाम पृथक बनेको हुनुपर्छ । उनी नेपाल ओलम्पिक कमिटीको हालै भएको निर्वाचनमा निर्विरोध भएका छन् ।
नेपाल ओलम्पिक कमिटी २७ वटा खेलसंघहरुको साझा संस्था हो । देशभित्र ओलम्पिक अभियानको अगुवाई गर्ने संस्था हो । नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको सुनिश्चितता गराउने आधिकारिक निकाय हो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य राष्ट्र हुनुका नाताले नेपाल ओलम्पिक कमिटी उसको आधिकारिक प्रतिनिधि हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सञ्जाल बिश्वभर कति बलियो छ भनेर आँक्न पनि सकिन्न ।
बिभिन्न राजनीतिक आग्रह र पुर्वाग्रहबाट टाढिएका राष्ट्रलाई ओलम्पिकले जोडिदिन्छ । कसैको हस्तक्षेप स्वीकार्न नसक्ने हैसियत स्थापित गरेको छ । कुनै पनि राष्ट्रको सरकारले सम्बन्धित देशको ओलम्पिक कमिटीमा गरेको हस्तक्षेप आइओसीले मान्दैन । तसर्थ यो आफैंमा बलियो र स्वायत्त संस्था हो । यस्तो संस्थाको कोषाध्यक्ष जस्तो महत्वपुर्ण पदीय जिम्मेवारीमा नेपालगन्जका रतन दाइ निर्विरोध भएका छन् ।
रतन दाइको ओलम्पिक आरोहणले नेपालगन्जले पर्याप्त लाभ उठाउन सक्छ । उनको छवि अन्तर्राष्ट्रिय समुदायमाझ उज्यालिएको छ । यतिबेला उनी दोस्रोपटक नेपाल ओलम्पिक कमिटीको कोषाध्यक्षमा निर्विरोध भएका हुन् । उनी सबैका रुचाइएका पात्र पनि हुन् । यो निर्विरोध भएबाट पुष्टि हुन्छ । उनी नेपाल भारोत्तोलन संघको अध्यक्षका हैसियतमा नेपाल ओलम्पिक कमिटी पुगेका हुन् । उनको पहिचान अहिले अन्तर्राष्ट्रिय एरिनामा समेत लोभलाग्दो भइसकेको छ । एशियाली भारोत्तोलन महासंघ(एडब्ल्युएफ)का अध्यक्ष युुसुफको अल्लानका सल्लाहकार हुन् । साथै एशियाली ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अल कमिसनमा नेपालबाट एक मात्र प्रतिनिधि हुन् ।
खेलकुदमा लागिसकेपछि उनले जीवनमा धेरै प्राप्त गरेको, तर केही नगुमाएको अनुभुति गरेका छन् । स्वस्थ जीवन जिउने कला खेलकुदले नै सिकाएको उनी बताउँछन् । मेहनत, अनुशासन, लगनशीलता जीवनका अभिन्न अंग हुन् भन्ने पनि उनले खेलकुदबाटै सिके । यसको कार्यान्वयनले उनलाई उद्योग र व्यापार व्यावसायमा समेत सफल बनायो । स्वाभिमानी नेपाली नागरिक भई आत्मसम्मानका साथ बाँच्न पनि यही खेलकुद क्षेत्रले सिकाएको उनी बेलाबेला भन्ने गर्छन् । ‘बरु, बिभिन्न जात, धर्म, भाषा, भेषभुषाका कारण विक्षिप्त समाजलाई एकताको सुत्रमा बाँध्ने प्रभावकारी माध्यम खेलकुद नै अगाडि देखिंदा यस क्षेत्रमा समयमैं लागिएछ भन्ने लागेको छ ।’ उनी सुनाउँछन् । नेपालगन्ज जातीय, धार्मिक र साम्प्रदायिक विविधता भएको नेपालको पुरानोमध्येको सहर हो । यो रतन दाइले राम्रोसँग बुझेका छन् । त्यसैले उनी यहाँ खेलकुद अभियानको जेहाद चाहन्छन् । खेलकुद नै सामाजिक एकताको प्रभावकारी माध्यम हो भन्ने उनले राम्रोसँग बुझेका छन् । त्यसैले त उनी सबैका रतन दाइ बने । बीस बर्ष अघि बृहत चौथो राष्ट्रिय खेलकुदको भारी बोक्न तयार भए ।
२०५५ सालमा भएको चौथो राष्ट्रिय खेलकुदले नै नेपालगन्जलाई खेलाडी मैत्री सहरका रुपमा चिनाएको हो । त्यसले उनलाई नेपाल ओलम्पिक कमिटीको यात्रामा डेब्यु गराएको थियो । उनी साठीको दशकमा नेपाल ओलम्पिक कमिटीमा सदस्य थिए । नेपाली खेलकुदको राजनीतिक खिचातानीले बिरक्तिएका रतन दाइ केही समय चुपचाप बसे । धेरैले खेलकुदमा सक्रिय हुन आग्रह गरे । रतन दाइ हलचल गरेनन् । भारोत्तोलनमा नेतृत्वको खडेरी थियो सायद । जुन विरासत नेपालगन्जसँग थियो । उनले यो प्रस्ताव स्वीकार गरे । अब फेरि उनको सक्रियता बढ्यो ।
नेपाल भारोत्तोलन संघको नेतृत्व लिनेबित्तिकै नेपालगन्जमा पहिलो बर्ष राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना गराए । दोस्रो बर्ष त प्रथम दक्षिण एशियाली भारोत्तोलन च्याम्पियनसीपको आँट गरे । जुन सफलतापुर्वक सम्पन्न भयो । यसले उनलाई दक्षिण एशियाली राष्ट्रहरुमाझ चिनायो । दक्षिण एशियाली भारोत्तोलन महासंघमा उपाध्यक्षको जिम्मेवारी पनि दिलायो । राष्ट्रिय एरिनामा पनि छवि उँचो बनायो । र, नेपाल ओलम्पिक कमिटीको ढोका उनका लागि पुनः खुल्यो । उनी जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटीमा कोषाध्यक्षको जिम्मेवारी पाए । यसैबीच उनले नेपाली खेलाडीलाई बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पुराए । खेलाडी, प्रशिक्षक, अफिसियलको मन जित्दै अघि बढे ।
अन्तर्राष्ट्रिय समुदायले पत्याएका कारण नेपाललाई एशियाली युथ च्याम्पियनसीप आयोजनाको अवसर मिल्यो । जुन गत बर्ष काठमाडौंमा भव्यतापुर्वक सम्पन्न भयो । झण्डै तीन दर्जन राष्ट्रका खेलाडी सम्मिलित यो प्रतियोगिता नेपालगन्जमा गराउन चाहन्थे रतन दाइ । तर यो स्तरको प्रतियोगिता आयोजनाका लागि आवश्यक मापदण्ड नपुग्ने भएपछि काठमाडौंमै गर्न उनी बाध्य भएका थिए । यो प्रतियोगिताको सफलतापछि उनको परिचय थप चुलिएको छ अन्तर्राष्ट्रिय समुदायमाझ । उनको बोली बिक्ने भइसकेको छ । भारोत्तोलनको पावरहाउस एशिया हो । तसर्थ एशियाली राष्ट्रहरुमाझ सम्बन्ध बिस्तारले देशले फाइदा लिनसक्छ, गृहनगरले झन् थप फाइदा उठाउन सक्छ । यसका लागि स्थानीय सरकारसँग प्रस्ट मिसन र भिजन आवश्यक हुनुपर्छ, योजना हुनुपर्छ ।
प्रथम दक्षिण एशियाली भारोत्तोलन च्याम्पियनसीपको आयोजनाले व्यक्तिगत रुपमा रतन दाइले पदीय जिम्मेवारीबाहेक अरु त के मिल्यो होला र ? यद्यपी नेपालगन्जले भने धेरै आधारहरु पायो, दक्षिण एशियाभर पुरानो सहरको सन्देश प्रवाह गर्न सफल भयो । सर्वप्रथम त ठुला प्रतियोगिता आयोजना गर्न नेपालगन्ज सक्षम छ भन्ने प्रमाणित गरिदियो, दोस्रो नेपालगन्ज शान्त छ, सभ्य छ र संस्कारयुक्त छ भन्ने सन्देश प्रवाह गर्न सफल भयो । यसअघि २०५५ सालमा बृहत चौथो राष्ट्रिय खेलकुदको ठुलो भारी बोकेर उनले भरोसायोग्य व्यक्तित्वको परिचय स्थापित गराइसकेका थिए । र, नेपालगन्जलाई देशव्यापी रुपमा चिनाएका थिए । यसबीच उनले नेपाली ब्याडमिन्टन इतिहासमा बिर्सन नसक्ने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता नेपालगन्ज कभर्डहलमा गराइसकेका थिए । राष्ट्रिय स्तरका दर्जनौं प्रतियोगिता उनको नेतृत्वमा भए । नेपालगन्जमा प्रथम दक्षिण एशियाली भारोत्तोलन च्याम्पियनसीप सफलतापुर्वक सम्पन्न भएपछि अन्तर्राष्ट्रिय समुदायमाझ उनको छवि उँचो भयो । बिश्वासयोग्य बन्दै गयो । त्यसले गर्दा एशियन युथ च्याम्पियनसीपको अवसर नेपालले पायो । यो नेपाली खेलकुदकै ठुलो प्रतियोगिता थियो । रतन दाइ यो प्रतियोगिता पनि नेपालगन्जमै गर्न चाहन्थे । तर, तत्कालीन समयमा नेपालगन्जमा यस प्रतियोगिताको लागि आवश्यक मापदण्ड पुरा नहुने भएपछि काठमाडौंमा आयोजना गर्न बाध्य भए । आयोजनाका पक्षमा कहीं कतै औला ठड्याउने ठाउँ दिएनन् । यसले गर्दा देशभित्र र बाहिर उनको प्रतिष्ठा चुलिंदै गयो । एकातिर उनी नेपाल ओलम्पिक कमिटीमा सबैका प्रिय बन्दै गए । उता एशियाली भारोत्तोलन महासंघ(एडब्ल्युएफ)मा पनि उनका लागि ढोका खुल्यो । उनी अहिले एडब्ल्युएफ अध्यक्ष युसुफ अल्मानाका सल्लाहकार हुन् । एशियन ओलम्पिक कमिटी स्पोर्ट्स फर अल कमिसनमा नेपालबाट एकमात्र सदस्य हुन् ।
रतन टण्डन र राष्ट्रिय खेलकुदबीच अन्तरसम्बन्ध छ । चौथो राष्ट्रिय खेलकुद सफल आयोजनाको श्रेय उनै टण्डनलाई जान्छ । उनको एकल प्रयासमा लामो समय अवरुद्ध राष्ट्रिय खेलकुदले निरन्तरता पाएको थियो । वीरगञ्जमा २०४२ सालमा तेस्रो राष्ट्रिय खेलकुद भएपछि चौथो संस्करण हुन देशले १३ बर्ष पर्खनुपरेको थियो । तत्कालीन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रतन टण्डन थिए । उनले सम्पुर्ण खेलाडी तथा अफिसियलको आवास तथा भोजनको व्यवस्थापन नीजि लगानीमा गर्ने प्रतिवद्धता जनाएपछि राखेप बोर्ड चौथो बृहत राष्ट्रिय खेलकुद नेपालगन्जलाई आयोजना गर्न दिन राजी भएको थियो । उनले त्यतिबेला करिब ४५ लाख व्यक्तिगत लगानी गरे । टण्डन राइस मिल परिसरमा ओलम्पिक भिलेजको झझल्को दिने गरी सामुहिक भोजनको व्यवस्था मिलाइएको थियो । राष्ट्रिय खेलकुदको इतिहासमा चौथो संस्करण सफल र ऐतिहासिक मानिन्छ । आवास तथा भोजनमा उत्कृष्ट व्यवस्थापनकै कारण चैत महिनाको मौसमलाई कसैले पर्वाह गरेनन्, नेपालगन्जले खेलमैत्री सहरको परिचय स्थापित गर्न सफल भयो ।
राखेपले विनियोजन गरेको बजेटले बृहत खेलकुद आयोजना गर्न जुटेको भए सम्पन्न हुने त परैको कुरा, खान र बस्न नपाएर खेलाडीबीच नै विवाद हुने सम्भावना थियो ।
रतन आफ्नो समयका ब्याडमिन्टनका राम्रा खेलाडी हुन् । उनी केही अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पनि खेले । ब्याडमिन्टनप्रति लगावकै कारण २०४१ सालमा आफनै खर्चमा महेन्द्र मेमोरियल अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता नेपालगन्जमा आयोजना गरेर देखाए । सिंगापुर, हङकङ, चीन, रसिया, भारत, श्रीलंका, इन्डोनेसिया, बंगलादेश, नेपाल लगायत दश देशले भाग लिएको प्रतियोगिता भव्य रूपमा सम्पन्न भयो । उनले यसअघि पनि ब्याडमिन्टनलाई कसरी विकास गर्न सकिन्छ भनेर वि.सं २०३९ सालमा केजी (कृष्णगोपाल) टण्डन प्राइज मनि ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेका थिए । कतैबाट आर्थिक सहयोग नलिई सुरु गरेको उक्त प्रतियोगिता ६ वर्षसम्म जारी रह्यो ।
केही वर्ष अघिसम्म निकै प्रख्यात रहेको भारोत्तोलन खेल पछिल्ला दिनमा ओझेलमा पर्दै गएको ठानेपछि आफनै खर्चमा नेपालगन्जमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता गराए, लगत्तै दक्षिण एशियाली भारोत्तोलन च्याम्पियनसीप पनि गराए । यी दुवै नीजि लगानीमा गरिएका थिए । यसले उनलाई नेपाल भारोत्तोलन संघको नेतृत्व दिलायो । साथै दक्षिण एशियाली भारोत्तोलन महासंघमा उपाध्यक्षको जिम्मेवारीमा पुरायो । उनकै नेतृत्वमा गत बर्ष भारोत्तोलनको एशियाली च्याम्पियनसीप पनि भयो काठमाडौंमा । यसको भरथेग पनि उनले नै गरे । करिब करोड हाराहारी खर्च गरे । एशियन च्याम्पियनसीपको सफलतापछि नेपाली भारोत्तोलनलाई हेर्ने दृष्टिकोण बदलियो । अन्तर्राष्ट्रिय समुदायमा नेपालले बिश्वास आर्जन गर्न सफल भयो । यो सब देखेर खेलको उपलब्धि र सफलताभन्दा पनि व्यक्तिगत स्वार्थ पुरा गर्न खोज्नेहरु अत्तालिएका छन् । उनीहरु औंला ठड्याउन खोजेपछि रतनको मन कुँडिएको छ । ‘मैले कतैबाट ल्याएर खर्च गरेको भए पारदर्शीतामा शंका गर्नु स्वभाविक हो, मैले त अपुग रकम आफैं हालेको छु ।’ उनी भन्छन्–‘त्यति ठुलो प्रतियोगिता आयोजना गर्दा खर्चको अनुपात सबैलाई थाहा हुनुपर्ने हो, आयस्रोत छर्लङ्घ छ ।’
उद्योगपति टण्डनले खेलकुदको विकासका लागि निजी खर्चमा आयोजना गरेका प्रतियोगिताको सूची दर्जनौ छन् । आफन्तले खेलकुदमा गरेको एकोहोरो लगानी र प्रतिफलका बारेमा जवाफ दिन उनलाई कठिन नै हुन्छ । त्यतिबेला उनको जवाफ हुन्छ– ‘शान्ति र सदभावको सेतु खेलकुद हो, खेलकुदमा मेरो रुची छ ।’ नेपालगन्जको परिवेशमा खेलकुद अपरिहार्य रहेको उनको बुझाइ छ ।
आर्थिक सम्पन्नताको कुरा गर्ने हो भने समाजमा उनीभन्दा धनी थुप्रै व्यक्ति छन् । धन र मन दुवै भएका व्यक्तिका रुपमा उनी दर्ज भएका छन् । ‘धन थुपारेर राखेको छैन ।’ उनी भन्छन्, ‘खेलकुदमा चासो भएको व्यक्ति नै अग्रसर हुनुपर्छ भन्ने भावना आउँछ ।
नेपालगन्जको नारायण माविमा हाइस्कुल अध्ययन पुरा गरेका उनले भारतको नैनीतालस्थित विरला कलेजमा इन्टरमिडियट र लखनउमा स्नातक अध्ययन गरे । उनी त्यतिबेला अब्बल दर्जाका खेलाडीमा गनिन्थे । उनको कप्तानीमा विरला कलेज ब्याडमिन्टन प्रतियोगितामा उत्तराञ्चल प्रदेशमा उत्कृष्ट भएको उनी सुनाउँछन् ।
देशमा प्रजातन्त्र आउनु अघि निरन्तर दुई दशक राखेपमा थिए । केही समय राखेपबाट हटाइए । फेरि मनोनित भए । जुन व्यवस्था र सरकार रहेपनि उनले सधैँ विशुद्ध खेलकुदमा लगानी गरेको बताए । खेलकुदमा निरन्तर लागेका कारण उनी नेपाल ओलम्पिक कमिटीको कोषाध्यक्षको जिम्मेवारीमा दोस्रो पटक चुनिएका छन् । उनको कार्यकाल सफल बनोस, गृहनगर नेपालगन्जले उनको देशविदेशसम्मको सम्पर्क र सम्बन्धको भरमग्दुर फाइदा लेओस् । अहिले यति नै । सबैको जय होस ।