बाँकेको पञ्च बर्षीय राजश्व र खर्च : ५९ अर्ब राजश्व, ६५ अर्ब खर्च

देबेन्द्र राज पौडेल

नेपालगन्ज – पछिल्लो बर्षको तथ्यांकले बाँकेमा हुने राजश्व संकलन भन्दा बढी बजेट सरकारले जिल्लाको पूँजीगत र चालु खर्चका लागि पठाउने गरेको देखिएको छ । जिल्लाको संघीय तथा प्रदेश कार्यालयबाट संकलन हुने राजश्व र प्रदेश तथा संघीय कार्यालयबाट बाँकेका लागि प्राप्त बजेटको विश्लेषण गर्दा पछिल्लो ६ बर्षमा राजश्व संकलन भन्दा ५ अर्ब बढी खर्च भएको पाइन्छ । आ.व. ०७०/०७१ मा ५ अर्ब २७ करोड राजश्व संकलन भएको बर्ष बाँकेमा झण्डै साढे ६ अर्ब खर्च भएको थियो ।

बाँकेमा संकलन हुने राजश्व भने ६ बर्षमा तीन गुणाले बढेको छ । प्राप्त हुने बजेटको अनुपात पनि सोही अनुसार रहेको देखिन्छ । कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जको तथ्यांक अनुसार, आ.व. ०७०/०७१ मा ५ अर्ब २७ करोड राजश्व संकलन हुने बाँकेमा आ.व. ०७५/०७६ सम्म आइपुग्दा झण्डै १७ करोड पुगेको छ । उक्त अवधीमा साढे ६ अर्ब खर्च रहेको थियो भने आ.व. ०७५/०७६ सम्म आइपुग्दा करिब १७ अर्ब खर्च भएको कोलेनिको तथ्यांकले देखाएको छ ।

नेपालगन्ज भन्सार र गतबर्षसम्म मध्य र सुदूरपश्चिमका १० जिल्लाबाट संकलन नेपालगन्जमै हुँदा पनि जिल्लामा हुने राजश्व संकलन यहाँको खर्च थेग्न सकेको देखिंदैन । यद्यपि, गत आ.व. २०७५/०७६ मा भने बाँकेका संघीय कार्यालयबाट संकलित राजश्वले खर्चलाई थेगेको छ । त्यसको कारण भनेको संघ र प्रदेशबाट बाँकेका लागि प्राप्त कुल बजेट खर्च नहुनु पनि हो । गत आ.व.मा संघ र प्रदेशले छुट्याएको चालु र पूँजीगत बजेट २ अर्ब बढी खर्च नभई फर्किएको थियो ।


कोलेनि अनुसार, गत आ.व. २०७५/०७६ मा जिल्लामा १६ अर्ब ३० करोड बढी खर्च भएको थियो । सोही आ.व.मा राजश्व संकलन भने १६ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ भएको थियो । जसले गर्दा जिल्लाको खर्च धानेर पनि ५० करोड बढी बचत भएको थियो । जिल्लाका लागि प्राप्त बजेट शत प्रतिशत खर्च भएको भए राजश्व संकलन भन्दा डेढ करोड बढी खर्च हुने थियो । संघीय कार्यालय अन्तर्गत १६ अर्ब ३७ करोड र प्रदेश कार्यालय अन्तर्गत ४७ करोड बढी राजश्व संकलन भएको कोलेनिका नेपालगन्जको तथ्यांक छ ।

गत आ.व.मा नेपालगन्ज भन्सार कार्यालयले १२ अर्ब ३३ करोड, आन्तरिक राजश्व कार्यालय नेपालगन्जले ३ अर्ब ५८ करोड रुपैयाँ राजश्व संकलन गर्न सफल भएका थिए । यी दुई कार्यालयका कारण पनि बाँकेमा राजश्व संकलन बढी देखिएको हो । यद्यपि, आन्तरिक राजश्व र भन्सार दुवैले असुल गर्ने राजश्व बाँकेको मात्रै भने होइन ।


कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जको तथ्यांक अनुसार, आ.व. ०७०/०७१ मा ५ अर्ब २७ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । उक्त आ.व.मा साढे ६ अर्ब रुपैयाँ बजेट बाँकेमा खर्च भएको थियो । चालु तर्फको खर्चका लागि ३ अर्ब ९२ करोड र पूँजीगत तर्फ २ अर्ब ३५ करोड बजेट खर्च भएको हो ।

आ.व. ०७१/०७२ मा साढे ५ अर्ब राजश्व संकलन भएको थियो भने खर्च साढे ६ अर्ब भन्दा बढी भएको थियो । आ.व. ०७२/०७३ मा ७ अर्ब ७१ करोड राजश्व संकलन र ८ अर्ब बढी खर्च भएको थियो । आ.व. ०७३/०७४ मा १० अर्ब १७ करोड राजश्व संकलन भएकोमा झण्डै १३ अर्ब बाँकेमा खर्च भएको थियो । आ.व. ०७४/०७५ मा १३ अर्ब ८९ करोड राजश्व संकलन भएको जिल्लामा १६ अर्ब बढी खर्च भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया