विश्व बैंकले रोज्यो नेपालगन्ज

नेपालगन्ज – स्थानीय सरकारको वित्तीय सुशासन सम्बन्धि एउटा ‘पाइलट प्रोजेक्ट’ मा नेपालगन्ज उपमहानगरपालिका छनोटमा परेको छ । विश्व बैंकले नेपालको स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापनको अध्ययनका लागि मुलुकमैं पहिलो नमुनाका रुपमा नेपालगन्जलाई छनोट गरेको हो ।

नगर प्रमुख डा. धवलशम्शेर राणाका अनुसार, पाइलट प्रोजेक्टका रुपमा विश्व बैङ्कका नेपाल स्थित कार्यालयका वित्त व्यवस्थापक फ्राङ्क वेसेटको नेतृत्वमा ७ सदस्यीय विशेषज्ञसहितको टोलीले सोमबारदेखि अध्ययन सुरु गरेको छ । ‘विश्व बैंकको पाइलट प्रोजेक्टका लागि नेपालगन्ज छनोटमा पर्नु गौरवको कुरा हो,’ नगर प्रमुख डा. राणाले भने ।

त्यसबीच, विश्व वैङ्कको विशेषज्ञ टोलीले नेपालगन्जमा सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व, यसभित्रका राम्रा पक्ष र कमजोर पक्षको मुल्याङ्कन गर्नेछ छ । पहिलो चरणमा चारदिनसम्म नेपालगन्जमा रहेर वित्तीय व्यवस्थापनका बारेमा जानकारी लिने टोलीले करिब दुई महिनाभित्र प्रारम्भिक मस्यौदा तयार गरि सार्वजनिक गरिने टोली प्रमुख वेसेटले जानकारी दिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले विश्व बैंकको पहिलो रोजाइमा नेपालगन्ज परेको सन्देश जाने कुरा महत्वपूर्ण भएको बताए । ‘भोलि हुने मुल्याङ्कनका आधारमा विश्व बैंक वा अन्य दाता निकायहरुले नेपालगन्जलाई लगानीको क्षेत्रका रुपमा छनोट गर्ने सम्भावना बढ्छ,’ विशेषज्ञ टोलीले गरेको अध्ययनमा सुशासनका सूचकमा खरो उत्रन सके दीर्घकालीन रुपमा राम्रो सन्देश जाने जानकारी दिंदै प्याकुरेलले दैनिक नेपालगन्जसँग भने, ‘यो सुखद खबर हो ।’

विश्व बैंकको अध्ययन टोलीले मुल्याङ्कनका क्रममा वजेटको समग्र पक्ष, सम्पत्ति र दायित्वको व्यवस्थापन, श्रोत परिचालन, लेखा परीक्षण लगायतका विषयमा अध्ययन गर्नेछ । मुल्याङ्कनका लागि ३१ वटा सूचक र ९४ वटा उपसूचक राखिएको टोलीले जनाएको छ ।
विश्व बैङ्कले गर्ने मुल्याङ्कन आगामी दिनमा आफ्ना लागि मात्रै नभएर अन्य दातृ निकायसँग सहकार्यका लागि उपयोगी हुने टोलीकै पनि भनाइ छ । आर्थिक अनुशासन, श्रोतको व्यवस्थापन सेवा प्रवाहमा अध्ययन केन्द्रीत हुने बताइएको छ ।

सोमवार विश्व बैंकको टोलीलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख लगायतले स्वागत गरेका थिए । त्यसलगत्तै काम सुरु गरेको टोलीले नै जनप्रतिनिधि र कर्मचारीयसँग अन्तरक्रिया गरि कार्यक्रमको बारेमा जानकारी गराएको उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले जानकारी दिए ।
यसअघिनै एसियाली विकास बैंकले नेपालगन्जमा अबौं लगानी गरेको छ । सफलतापूर्वक लगानीका पक्षमा काम गरिरहेको एडिबीका कतिपय काम मुलुकका अन्य सहर भन्दा नेपालगन्ज सफल मानिएको छ । ‘नगर प्रमुखको सार्वजनिक व्यक्तित्व र प्रस्तुति पनि अर्काे महत्वपूर्ण कारण हो,’ बिश्व बैंकले नेपालगन्ज रोज्नुको तर्क गर्दै एक विज्ञले भने ।

प्रतिक्रिया

प्रतिक्रिया