नेपालगन्ज – गर्भमा रहेको बच्चा तथा शिशुको स्वास्थ्य लागि भेरी अस्पताल नेपालगन्जमा आधुनिक उपकरणहरुको प्रयोग गरिने भएको छ । गोल्डेन कम्युनिटी लगायत विभिन्न संस्थाहरुको सहयोगमा भेरी अस्पताललाई बच्चाको स्वास्थ्य परीक्षणमा प्रयोग हुने नियोबिट र मायो नामक उपकरण उपलब्ध गराइने भएको छ । संस्थाले अस्पतालको प्रसुति वार्डमा कार्यरत नर्स तथा चिकित्सकलाई समेत उक्त उपकरणको प्रयोगबारे प्रशिक्षण दिएको छ ।
नेपालमा भैरहेको शिशु मृत्युदरलाई न्यून गर्ने उद्देश्यले उपकरणको प्रयोगमा ल्याउन थालेको सोमबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सिर्जना शर्माले जानकारी दिएकी थिइन् ।
नेपालमा हरेक वर्ष ११ हजार शिशु १ महिना नपुग्दै मर्ने गरेको तथ्यांक छ । करिब ११ हजार नवजात शिशु जन्मदै मृत अवस्थामा हुन्छन् । नेपाल स्वास्थ्य तथा जनसंख्या सर्वेक्षणको तथ्यांक अनुसार नवजात शिशु मृत्युदर २१ प्रति हजार रहेको छ । ‘२०३५ सम्ममा नवजात शिशु मृत्युदर २१ प्रति हजारबाट ११ प्रतिहजार र मृत जन्मदर १३ प्रति हजारमा झार्ने सरकारको लक्ष्यलाई सघाउने उद्देश्यले शिशुको परीक्षणका लागि उपकरणको प्रयोग सुरु गर्न लागिएको हो’, अस्पतालकी नर्सिङ्ग अफिसर इश्वरी केसीले भनिन् ।
एक तथ्यांकले भेरी अस्पतालमा प्रति हजार शिशुमा २४ जना अस्पतालबाट बिदा नहुँदै मर्ने गरेको देखाएको छ । ‘उपकरण प्रयोग पछि शिशुको स्वास्थ्य परीक्षण सहज हुनेछ, यसले मृत्युदरलाई घटाउने विश्वास छ’, पत्रकार सम्मेलनको अध्यक्षता गरेका अस्पतालका मेसु रुपानन्द अधिकारीले भने ।
शिशु मृत्यु दर घटाउनको लागि सुसार कार्यक्रम सञ्चालन गर्न लागिएको हो । उक्त कार्यक्रम देशका ८ जिल्लाका ८ वटा सरकारी अस्पतालहरुमा सञ्चालन गरिने कार्यक्रम प्रबन्धक रेजिना गुरुङ्गले बताइन् । कोशी अस्पताल, जनकपुर अञ्चल अस्पताल भरतपुर अस्पताल, लुम्विनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती अञ्चल अस्पताल र डडेलधुरा अस्पतालमा ‘सुसार’ कार्यक्रम लागु हुने छ । गुरुङ्गले उक्त कार्यक्रम अन्तर्गत अस्पतालमा हुने प्रस्तुतिको अवस्था हेरेर उपकरणहरु उपलब्ध गराउने जानकारी दिइन् । ‘उपकरण बिग्रेमा बनाउने, कार्यक्रमलाई निरन्तरता दिने जिम्मेवारी संस्थाको नै हुनेछ’, उनले भनिन् ।
पत्रकार सम्मेलनमा शिशु तथा मातृ मृत्युका कारणहरु बारे जानकारी दिंदै डा. कल्पना थापाले गर्भवती अवस्थादेखि शिशु नर्हुंकदासम्म उनीहरुको खानापान, सरसफाईमा तथा स्वास्थ्यमा ध्यान पुर्याउनु पर्ने बताएकी थिइन् । कम उमेरका आमाहरुले जन्माएको शिशुहरुको मृत्युदर वढ्दै गएको बताउँदै कम समयको कम तौलको बच्चा हुने कम उमेरका आमाहरुले बच्चा जन्माउँदा रगतहरु बढी बग्दा शिशु र आमाको ज्यान जोखिममा हुने गरेको डा. थापाले बताइन् ।
भेरी अस्पतालले २८ दिनभित्रको शिशुको सम्पूर्ण उपचार निःशुल्क गर्दै आएको अस्पतालले जानकारी दिएको छ ।