बाँकेमा ४० जनामा डेंगुको संक्रमण, भेरी अस्पतालमा अझै ६ जना उपचारमा

(भेरी अस्पताल नेपालगन्जमा डेंगुको बिरामीको उपचार गरिंदै । संक्रमण फैलन नदिन उनीहरुलाई झुल लगाएर राखिएको छ । तस्विर ः दैनिक नेपालगन्ज)

नेपालगन्ज – बाँकेमा डेंगु संक्रमितको संख्या ४० पुगेको छ । बाँके सहित विभिन्न जिल्लाका उपचारमा आएकाहरुमा डेंगु देखिएको छ । बाँकेका अस्पतालमा ४० डेंगु संक्रमित फेला परेपनि ती मध्ये ४ जना मात्रै बाँकेका हुन् ।

भेरी अस्पताल नेपालगन्ज, शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा डेंगु संक्रमितको उपचार भैरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलर्सन दुर्गा गौतमले बताइन् ।
भेरी अस्पताल नेपालगन्जमा १७ जना डेंगुका बिरामी फेला परेका थिए । जसमध्ये ६ जना अहिले पनि उपचारमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुपानन्द अधिकारीले जानकारी दिएका छन् । बाँकेका सरकारी र निजी गरेर विभिन्न अस्पतालमा डेंगुका रोगी उपचारका लागि आउने क्रममा वढेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेकाले दिएको जानकारी अनुसार, बाँके बर्दिया, कैलाली, रुकुम दाङ र सुर्खेेतबाट डेंगुका बिरामी नेपालगन्ज र कोलपुरका अस्पतालमा उपचारका लागि आइरहेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पातल कोहलपुरमा १३, नेपालगन्जमा ५ जना डेंगुका बिरामीको उपचार भइरहेको गौतमले बताइन् । बर्दियाका दुई, कैलालीका तीन, रुकुमका एक, दाङ्गका एक र सुर्खेतका दुई गरी १३ जना अस्पतालमा उपचारका क्रममा छन् ।

भेरी अस्पतालका मेसु अधिकारी उपचारका लागि कुनै पनि समस्या नभएको बताएका छन् । उनले अस्पतालले उपचारको काम मात्र गर्ने भएकाले स्थानीय तहहरुले त्यसविरुद्ध जनचेतना जगाउने, नियन्त्रणका लागि अन्य उपायहरु अवलम्वन गर्नुपर्ने धारणा राखे ।

भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले अस्पतालमा फेला परेका डेंगु बिरामीमा कडा संक्रमण नभएको जानकारी दिदै उपचारका लागि आएका अधिकांश बिरामी बुटवल, नारायणघाट, पोखरजस्ता डेगु फैलिएको ठाउँ भम्रण गरेर आएकाहरु रहेको बताए । बाँकेका ८ स्थानीय तह मध्ये जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया