सभापति कोइराला घाइते प्रकरणलाई तन्काउँदै काँग्रेस , संसदमैं ‘हंगामा’

नेपालगन्ज – बाँकेको सितापुरमा प्रहरी कमजोरीका कारण भएको घटनालाई लिएर आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘उच्चस्तरीय’ छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ दलका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत बीच उक्त छलफल भएको हो ।

‘खासगरि बाँके घटनामा केन्द्रित रहेको भेटमा नागरिकता विधेयक लगायतका विधेयकहरू लगायतमा छलफल भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरुसँग भने ।

बाँके सभापति किरण कोइरालाको हात भाँचिएको घटनालाई लिएर नेकपा कार्यकर्ताको आक्रमणबाट भाँचिएको भन्दै कांग्रेसले आइतवार संसदमा हंगामा ग¥यो । दोषीमाथि कारबाहीको माग राखेर आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरूद्ध गरेका काँग्रेस सांसदहरुले ‘सरकार कार्यकर्ता बचाउने खेलमा लागेको’ टिप्पणी गर्दै संसद चल्नै नदिने चेतावनी दिए । कोइरालालाई आक्रमण गर्न संलग्न सबैलाई कारबाहीको प्रक्रिया सुरू नगरेसम्म सदन चल्न नदिने काँग्रेसको अडानपछि प्रधानमन्त्री ओलीले उच्चस्तरीय छलफल डाकेका हुन् । ‘बाँके घटनाका दोषीलाई तत्काल कारबाही सुरू गर्न र सहमतिअनुसार नै विधेयक अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको’ प्रवक्ता शर्माको भनाइ छ ।

आइतबारनै बाँके घटनाबारे गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभामा दुई पटकसम्म जवाफ दिए पनि काँग्रेसले चित्त बुझाएन । गृहमन्त्री थापाले दोषीमाथि कडा कारबाही गर्न सरकारका तर्फबाट निर्देशन दिइसकेको र तीन जना पक्राउ परेको जानकारी सदनमा गराएका थिए । ‘यो राजनीतिक घटना होइन,’ गृहमन्त्री थापाले पटक–पटक संसदमा भने ।

जिल्ला सभापति कोइराला घाइते भएको घटनालाई काँग्रेसले योजनाबद्ध ढंगबाट राजनीतिक मुद्धा बनाउँदै अगाडी बढेको हो । ‘ सामान्य घटनालाई राजनीतिकरण नगरौं, यसले राजनीतिक अन्तरविरोध बढ्छ, द्वन्द्व निम्तिन्छ,’ गृहमन्त्री थापाले संसदमा बाँकेको सितापुर घटनाबारे भने ।

काँग्रेसमा कलह

कांग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरीले पदबाट राजीनामा दिएका छन् । सीतापुर घटनालाई लिएर कांग्रेसले गरेको व्यवहार प्रति छुब्ध स्थानीय काँग्रेस कार्यकर्तासँगको छलफलपछि सोही क्षेत्रका नेता मल्लको राजीनामा आएको हो ।

घटनाका प्रत्यक्षदर्शी मल्ल राजनीतिकरणका पक्षमा थिएनन् । ‘यसरी तन्काउँदै जाने हो भने चुट्ने निश्चित छ,’ सोही घटनालाई लिएर बाँके काँग्रेसमा आन्तरिक कलह देखिएको दावी गर्दै मल्ल निकट एक अगुवा कार्यकर्ताले भने, ‘राजीनामा एउटा संकेतमात्र हो ।’ मल्लले पारिवारिक कारण देखाउँदै दिएको राजीनामा बारे दैनिक नेपालगन्जसँग भने, ‘अहिलेलाई केही नबोलौं ।’

प्रतिक्रिया

प्रतिक्रिया