मनाइयो विश्व प्राथमिक उपचार दिवस

नेपालगन्ज – वञ्चित समुह र प्राथमिक उपचार भन्ने नाराका साथ बाँके जिल्लामा प्राथमिक उपचार दिवस मनाइएको छ । हरेक वर्ष सेप्टम्बरको दोश्रो शनिवारका दिन विश्वभरी यो दिवस मनाइने गरिएको हो ।

रेडक्रसका केन्द्रीय सदस्य अजीतकुमार शर्मा र बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले उद्घाटन गरेको दिवसमा विभिन्न कार्यक्रम गरिएका छन् । केन्द्रीय सदस्य शर्माले घाइते वा विरामीलाई तत्काल घटना स्थलमा नै प्राथमिक उपचार सेवा पुर्याउन सके अकालमा हुने मृत्यु दरमा कमी हुने विश्वास व्यक्त गरे । उनले हरेक घरमा प्राथमिक उपचारक हुनु जरुरी रहेको बताए । रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले आप्mनै जीवन सुरक्षाका लागि प्राथमिक उपचारको ज्ञान सीप हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा प्राथमिक उपचारको सैद्धान्तिक ज्ञान, महत्व, उद्देश्य, र सीपको प्रर्दशन गरिएको थियो । सो क्रममा रक्तश्राव रोक्ने विधि, सर्पको टोकाईको प्राथमिक उपचार, गला लाग्नु, मर्काइ र घाइतेलाई ओसार पसार गर्ने विधिको बारेमा अभ्यास गरिएको थियो । प्राथमिक उपचार प्रशिक्षकहरु निरञ्जना मल्ल, सरिता सिंह, प्रहलाद विश्वकर्मा र गौरीलाल बुढाथोकीले कार्यक्रमको सहजीकरण गरे ।

जुरेस भेरी इग्लिस मि.हाईस्कुलका प्रधानाध्यापक नरेन्द्र श्रेष्ठ, रेडक्रसका बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगी लगायतले बोलेको कार्यक्रममा उपशाखा क्षेत्रमा रहेका ९ वटा विद्यालयका शिक्षक र विद्यार्थी, शाखा, उपशाखा पदाधिकारी सहभागी थिए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजना र वेलासपुर उपशाखाको समन्वयमा जुरेस भेरी इंग्लिस मिडियम हाइस्कुलको व्यवस्थापनमा उक्त दिवस मनाइएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया