सडकमैं किन आयो काँग्रेस ?


आफुविरुद्ध आक्रमणले असुरक्षा उत्पन्न भएको भन्दै काँग्रेस सडकमा आएपनि बाँके प्रहरीले भने अवस्था सामान्य भएको भन्दै जिल्लामा कसैले असुरक्षित महसुस हुनुपर्ने अवस्था नरहेको बताएको छ ।

एउटा सामान्य घटनामा प्रहरीले व्यवस्थापन गर्न नसक्दा बाँके काँग्रेस र स्थानीय प्रशासन बीच दरार उत्पन्न भएको छ । प्रहरीकै उपस्थितिमा युवाहरुको भिडले काँग्रेसको एउटा कार्यक्रममा विहीवार अपरान्ह हस्तक्षेप गर्दा जिल्ला पार्टी सभापति किरण कोइरालाको हातनै भाँच्चिएपछि दरार देखिएको हो । शुक्रवार विहानै देखि काँग्रेसका कार्यकर्ताहरुले नेपालगन्जको विपी चोकमा प्रदर्शन गरिरहेका छन् ।


काँग्रेस कार्यकर्ताहरुको नेपालगन्जको विपी चोकमा प्रदर्शन


खजुरा गाउँपालिका – ३ सितापुरमा विहीवार आयोजित राष्ट्रिय जागरण अभियानमा स्थानीय युवाहरुको भिडले काँग्रेस कार्यक्रममै हस्तक्षेप गरेका हुन् । हस्तक्षेपकारीहरुलाई काँग्रेसले सत्तारुढ नेकपाका कार्यकर्ता भनेको छ । नेकपाले हस्तक्षेपमा आफ्ना कार्यकर्ता संलग्न भएको स्वीकार गरेको छैन ।
तरुण नेता असलम भाट विरुद्ध काँग्रेसका स्थानीय कार्यकर्ता भुवनसिंह थापाले दिएको उजुरी उपर प्रहरीले कारबाही गर्न भएको ढिलाइ बढ्दै जाँदा आक्रोशित स्थानीय युवाहरु काँग्रेसको कार्यक्रममैं पुगेका हुन् । प्रत्यक्षदर्शीका अनुसार, थापाको एउटा उजुरीमा प्रहरीले खोजी गरिरहेका व्यक्ति तरुण दल खजुराका सचिव भाटलाई पक्राउ गर्न कार्यक्रमस्थलमा पुगेको थियो । काँग्रेस नेता, पूर्व साँसद बादशाह कुर्मीको अनुरोधमा प्रहरीले कार्यक्रमपछि मात्र समात्ने योजना थाह नपाएका ती युवाहरु कार्यक्रममैं पुगेर हस्तक्षेप गर्दा तनावको अवस्था उत्पन्न भएको हो । दुई सिपाही लिएर राधापुर प्रहरी चौकीबाट सितापुर पुगेका असइलाई बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बीर बहादुर ओलीलनै कार्यक्रम सकिएपछि भाटलाई पक्रन निर्देशन दिएका थिए । थापालाई उजुरी दिन नेकपाका कार्यकर्ताले दबाब दिएको दावी काँग्रेसको छ ।
राधापुरबाट भाटलाई पक्रन गएको प्रहरी दुई घण्टा सम्म पनि नफकिएपछि परिस्थति प्रहरीको हातमा रहेन । झण्डै एक दर्जन आक्रोशित युवाहरु प्रहरी संरक्षणमैं भाटलाई पक्राउ गर्न नचाहेको आशंका गर्दै जागरण कार्यक्रम चलिरहेको सितापुरस्थित रेडक्रस सभाहलमा प्रवेश गरेपछि तीन जना प्रहरी तमासे बने । ‘प्रहरीले रोक्ने प्रयाससम्म गरेन,’ हस्तक्षेपका बेला मन्तव्य दिइरहेका अभियानका केन्द्रीय प्रीतनिधि विद्या प्रसाद खनालले पत्रकार सम्मेलनमा भने, ‘हामीलाई लाग्छ राज्यसंयन्त्रको उपयोग गरेर सत्तारुढ नेकपालेनै हाम्रो अभियान विथोल्न गरेको आक्रमण हो ।’ भाँचिएको हातमा प्लाष्टर गरेको अवस्थामा पत्रकार सम्मेलनमा पुगेकी सभापति कोइरालाको ठम्याइपनि ‘अभियान विरुद्ध सरकारले चालेको कदम हो’ सितापुर घटना ।
दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत कांग्रेसले बिहीबार खजुरा गाउँपालिका–२ सितापुरमा कार्यक्रम गरिरहेका बेला हलभित्रै प्रवेश गरी नेकपाका कार्यकर्ताले आक्रमण गरेको आरोप सभापति कोइरालाले लगाइन् । आक्रमणबाट कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको बायाँ हात भाँचिएको छ । ‘उनीहरुलाई सम्झाउँदा उल्टै आक्रमण गरे,’ कोइराला भन्छिन् ‘त्यहाँ रहेका हाम्रा कार्यकर्ता असुरक्षा छन् भन्ने महसुस गरेका छौं, त्यहाँको अवस्था राम्रो छैन, हाम्रा कार्यकर्ता त्रसित छन् ।’


आफ्नो कार्यक्रम बिथोल्न लागेको संकेत पाएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गर्दा पनि बेवास्ता भएको आरोप कांग्रेसको छ । ‘प्रहरी र प्रशासनले पटक्कै रेस्पोन्स गरेन,’ सभापति कोइराला र पूर्व साँसद कुर्मीको एउटै स्वर थियो, ‘नेकपाका कार्यकर्ताले आक्रमण गरिरहँदा कार्यक्रम स्थलमा रहेका प्रहरी मुकदर्शक बनेर बसे, हामीले जानकारी दिएको डेढघण्टापछि मात्र थप प्रहरी शक्ति पुग्यो ।’
पत्रकारहरुबीच कांग्रेस क्षेत्र नम्बर ३ का सभापति नक्की खाँले घटनाको खुलासा गरे । स्थानीय तहमा भएको भ्रष्टाचारको कुरा गर्दा सुनियोजित रुपमा कार्यक्रममाथि आक्रमण गरिएको खाँको दावी थियो । ‘मलाई बाहिर भेटेको भए ज्यानै लिन्थे,’ पत्रकार सम्मेलनमा भेटिएका भाटले दैनिक नेपालगन्जसँग भने, ‘अनियमितताको विरोध गर्दा ममाथि आक्रमणको योजना बनाइयो ।’ उनले आफुमाथिको आक्रमण रोक्न खोज्दा सभापति कोइराला माथिनै आक्रमण भएको बताए । क्षेत्रीय सभापति खाँले पनि भ्रष्टाचारको विरोध गर्दा भाटमाथि थ्रेट भएको दावी गरे ।
नेपाली कांग्रेस बाँकेले एक विज्ञप्ती जारी गरी आक्रमणमा संलग्न दोषी उपर कारबाही नभए पार्टीले कडा भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । जिल्ला सभापति कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा मुलुकको प्रतिपक्षी दलको राष्ट्रिय कार्यक्रमलाई बिथोल्ने, बद्नियतका साथ सरकारको आडमा सुनियोजित रुपमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आक्रमण गर्ने ‘अपराधिक चरित्र’ का उल्लेखित व्यक्तिलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न तथा नेता र कार्यकर्ताको जिउधनको रक्षा गर्न सरकारसँग माग गरिएको छ । विज्ञप्तिमैं काँग्रेसले नेकपाका युवा नेता समेत रहेका खजुरा– १ का वडाध्यक्ष सुमन मल्लको योजनामा घटना गराइएको आरोप लगाएको छ । वडाध्यक्ष मल्ल मौन छन् । त्यसविरुद्ध तरुण दल बाँकेले आन्दोलनको चेतावनीनै दिएको छ ।
बाँके प्रहरी प्रमुख ओलीले कहिंकतै कोहीपनि जिल्लामा असुरक्षित अवस्थामा नरहेको बताए । ‘भाट विरुद्ध पहिलेपनि साइबर क्राइम लगायतका ३/४ वटा मुद्दा छन्,’ पटक–पटक काँग्रेस नेताहरुले जिम्मा लिंदै गल्ती नदोहो¥याउने वचन दिंदै छुटेका भाटलाई संरक्षण दिंदा दुर्घटना भएको भन्दै प्रहरी उपरीक्षक ओलीले भने, ‘कानुनी उपचारमा सहयोग पु¥याए कतै कुनै समस्या पर्दैन ।’ घटनाबारे नजिकबाट अनुसन्धान भइरहेको जानकारी दिंदै प्रहरी उपरीक्षक ओलीले नियतबस कसैले कोइरालामाथि आक्रमण गरेका भए कारबाहीका लागि प्रहरी पछाडी नपर्ने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया